20 Nov, 2017 | ४ मंसिर २०७४ | सोमवार


Bizpati Reporter

Follow us on

'कर्मचारी,सरकारी संयन्त्र र संचालकहरुबाट डुबाइएको हो,साझा डुबेको होइन'-डोलिन्द्रप्रसाद शर्मा

Posted on:April 03, 2017

१०५ बर्ष लामो इतिहास बोकेको, राणाकालमा जन्मिएर पंचायतकालले हुर्काएको र प्रजातन्त्रले संरक्षण गरेको साझा प्रकाशनले कयौं सयौ‌ंं लेखक/साहित्यकार जन्मायो तर आफु भने धन्नै लिलामीको अवस्थाबाट फर्किएको अवस्थामा छ। या भनौ सिद्दियो भनेर अन्त्यष्टि गर्न लागिएको साझा प्रकाशन अहिले अप्रेशन थियटरमा छ। 

राज्यले ठुलो मात्रामा आर्थिक, नैतिक समर्थन र साथ दिंदा पनि साझा कसरि लिलामीको अवस्थामा आइपुग्यो ? साझाको यस्तो दुरावस्था कसरि भयो, यसको मुख्य जिम्मेवार को हो ? के सधै साझा यसरि नै चल्ने हो या अब साझा प्रकाशनले राज्य र नेपाली नागरिकले गर्व महसुस गर्ने गरि काम गर्छ ? प्रस्तुत छ यी र यस्तै बिषयबारे बिजपाटी डटकमद्वारा साझा प्रकाशनका सञ्चालक समितिका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासंग गरिएको कुराकानीको सम्पादित अंश: 

तपाइँको यो दोस्रो कार्यकाल हो, अघिल्लो २ बर्षको कार्यकालमा गर्व गर्न र भन्न लायकका के काम भए ?
म महाप्रबन्धक भएर साझा प्रकाशनमा आउँदा यहाँको प्रांगण सम्पूर्ण रुपमा बन्द थियो। ८ बर्ष देखि साधारणसभा हुन सकेको थिएँन। ११ बर्षदेखि लेखापरिक्षण हुन सकेको थिएन, सबै मेसिन खै लाग्ने अवस्थामा थिए। यहाँका गोदामका पुस्तकहरुमा धमिरा लागेको अवस्था थियो। लगभग १० प्रतिशत पुस्तक धमिराले खाईसकेको थियो। 

३० महिना देखि तलब पाउनु भएको थिएन। जिन्दगिभरको महत्वपुर्ण समय दियो तर खालि हात जानु पर्ने अवस्थाले कर्मचारीमा निराशा थियो। लेखकहरु साझा प्रकाशन बन्द भयो भनेर निजि प्रकाशनको ढोका ढकढकाउन्दै थिए। निजि प्रकाशनहरु साझा डुब्यो, सिद्दियो भन्दै हल्ला फैलाएर सरकारी आत्मासंग जोडिएर साझाका सबै काम निजि प्रकाशनमा लैजाने अवस्था थियो।

तर मलाई बिश्वास थियो कि साझा डुबेको होइन डुबाइएको हो, सिद्दिएको होइन, सिद्द्याइएको हो। 

साझा उठ्छ, तर डुबाउनेहरुलाई जहाँबाट जस्तो सुकै गोताखोर ल्याएरपनि यिनीहरुलाई छोड्नेवाला छैन भनेर साझा बचाउन अभियान संचालन गरे। यस अभियान पश्चात नयाँ पुस्ताका सरष्टादेखि पुराना पुस्ताका मधाब घिमिरेसम्मका लाई घच्घच्याउने काम गर्यौं। 

सबैलाई एकै मालामा बुनी साझा प्रकाशन माला बनाएर यसमा आबद्द भएर अगाडी बढ्यौं। वर्तमान तथा पुर्व प्रधानमन्त्रीहरु लगायतका वरिष्ट नेताहरुलाई भेटेर साझा प्रकाशन बारे बुझायौ र सबैलाई साझा बचाउ अभियानका अभियन्ता बनेर लाग्ने प्रण गर्न लगायौं। उहाँहरुको यहि प्रणले साझा प्रकाशनलाई नयाँ जीवन दिने हिम्मत मिल्यो।   

"साझाका कर्मचारी साथीहरु, यहाँको व्यवस्थापनमा आएका संचालकहरुबाट साझा प्रकाशनलाई दयनीय अवस्थामा पुर्याइएको हो, साझा डुबेको होइन डुबाइएको हो, सिद्दिएको होइन, सिद्द्याइएको हो। "   

तपाई आएपछी साझा प्रकाशनमा भएका देखिने प्रगति के हुन  ?
१ बर्षदेखि बन्द भएको प्रेस संचालनमा आएका छन। एक रुपैयाँ नभएको बेला १३ करोडको कारोबार हुने अवस्थामा आयो। १ महिना देखि ३० महिनासम्म तलब खान नपाएका कर्मचारीहरुले तलब पनि पाउनु भयो। २८८ मध्य अहिले आवश्यक प्रविधि मैत्री नभएका, सिप नभएका १७२ जना २० प्रतिशत पैसा लिएर स्वच्छिक अवकासमा घर जानु भयो।

११ बर्ष देखि सार्वजनिक नभएको लेखा परिक्षण ०६९-७० को पूर्ण भयो। छिटोमा फागुन र ढिलोमा बैशाख अन्तिमसम्म साझा प्रकाशनलाई यो अवस्थामा पुर्याउनेहरुको नाम चोक चोकमा सार्वजनिक गर्ने अभियान अघि बढेको छ। 

साझा प्रकाशन सिद्दियो भनेर हल्ला मच्चाउदै निजीलाई दिइएको थियो। ति सबै कृति साझा प्रकाशनमा फिर्ता ल्याइयो। यहाँका कर्मचारीहरुलाई पूर्ण क्षमतामा काममा संचालनमा ल्याइएको छ। 

३० करोड रुपैयाँ सरकारबाट ल्याउन सफल भयौं।  १ पटक १ काम साझा प्रकाशनलाई भनेर विभिन्न निकायमा पत्राचार गर्यौं। 

१ पटक १ काम साझा प्रकाशन, उत्पादन मैत्री वातावरण, भ्रष्टाचार रहित संस्था, हामि सबैको प्रतिबद्दता भनेर मैले ५५०० पत्रमा हस्ताक्षर गरिसकेको छु।   

माननीय विकास कोषबाट कम्तिमा २ लाखको पुस्तक खरिद गर्न सबै माननीयलाई पत्राचार गरेका छौ। यो अभियान शिक्षामन्त्रि धनीराम पौडेलबाट सुरु भएको छ भने ३० भन्दा बढी माननीयले यसमा प्रतिबद्दता जनाएका छन्। गोदाममा थन्काएर राखिएका पुस्तकहरुलाई देशका कुना कन्तारामा पुर्याउने अभियान तिब्र रुपमा अगाडी बढाएका छौं। 

राज्यले बजेट पनि दिन्छ, नियमको आड लिएर अन्य निकायलाई प्रकाशन र उत्पादनका लागि साझा प्रकाशन जान बाध्य पनि गर्छ, आवश्यक पर्दा ऋण पनि दिन्छ, यति हुँदा हुँदै पनि सरकारी संस्थानहरु सक्षम र आर्थिक रुपमा बलियो बन्न नसक्नुको कारण के होला ?
मुख्य कारण भनेको नै फाइल मिलाएर खाने प्रवृति हो। दोस्रो भनेको संस्थागत भ्रष्टाचार नै हो। सामुदायिक विद्यालयका पाठ्यपुस्तक उत्पादन गर्न निजि प्रकाशनलाई दिइयो। जनक र साझालाई दिईएपनि अहिले साझाबाट यो काम खोसिएको छ। 

साझाबाट कमिशन न आउने तर निजि आत्मा घुसेका सरकारी संयन्त्रमा बसेका मित्रहरुलाई घर घडेरी जोड्न मिल्ने कमिशन चाहिने भएकाले पनि साझाबाट काम खोसिएको हो। 

अर्को तर्फ गुणस्तर मापदण्डको अभाबमा पाठ्यपुस्तक उत्पादन, बिक्रि वितरण गरिंदा पनि साझा प्रकाशन मारमा परेको छ। साझा र जनकले ७२ ब्राइटनेश भनेर गुणस्तर कायम गर्नु पर्ने तर निजि प्रकाशनले ४८ ग्रामदेखि ६८ ग्राम प्रयोग गर्दा हुने अवस्थाले पनि साझाले र जनक मारमा परेका छन। निजिको गुणस्तर मापन नगर्ने, अनुगमनले नहेर्ने र हेरे पनि कारबाही नगर्ने प्रवृति हाबी हुँदा हामि अप्ठेरोमा परेका छौँ। 

कमिशनको चक्रब्यूहमा साझालाई सिध्याइएको हो। निजि प्रकाशन साइकलबाट बुलेरो चढ्ने भए। रोडपतिबाट करोडपति बने। तर हामि (साझा) खर्बपति र अर्बपतिका साझा र जनकलाई लिलाम पति बनाइयो। गहन बिचार बोकेर साझा डुबाउनेहरुलाई कारबाही गर्नु पर्छ भन्ने मेरो अभियान हो।     

राजनीतिक नियुक्तिको आडमा चल्ने सरकारी संस्थामा तपाई कसरि भ्रष्टाचार मुक्त साझा बनाउनु हुन्छ ? 
राजनीतिक नियुक्त हुन्छ भन्ने तपाइँ हाम्रो मानसिकता मात्र हो। म साझामा आएपछी ४ जना शिक्षामन्त्रि परिवर्तन भए तर अहिले सम्म कसैले हस्तक्षेप गर्नु भएको छैन। 

३ जना अर्थमन्त्री फेरिनु भयो तर कसैले मलाई यो गर त्यो नगर भनेर कुनै हस्तक्षेप गर्नु भएको छैन। ३ जना प्रधानमन्त्री बदलिए तर पनि सबैले साझा प्रकाशन बचाउनु पर्छ भनेर साथ् दिनु भएको छ । हामीले पदीय जिम्मेवारी निभाएर काम गर्ने हो भने कसैले पनि अनावश्यक हस्तक्षेप गर्दैन। 

"मन, बचन र कर्मले राज्यले दिएको जिम्मेवारीलाई पुरा गर्ने हो भने सरकारी संस्थान डुब्ने होइन, बरु विश्वमा उदाहरणीय नमुना बन्छ"

यी त भए साझा प्रकाशनमा तपाई आए पश्चात भएका कामहरु, साझा प्रकाशनको सुधारका लागि तपाईसंग भएका अल्पकालीन र दिर्घकालिन योजना के छ ? 
लामो प्रतिवेदन तयार पारेर यो गर्छु त्यो गर्छु भनेर केहि हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले मैले सार्वजनिक गरेका २६ बुंदे कार्ययोजना मात्रै छन्। यो योजनाहरु मन बचन र कर्मले सोच विचार गरेर अघि बढाएको हो। 

२ बर्ष भित्रमा साझा प्रकाशनलाई नेपाली भाषा, साहित्य, कला, संगीत, पत्रकारिताको माध्यमबाट नेपाली संस्कृति, र भाषालाई अन्तराष्ट्रियकरण गरेर नेपाली भाषा, साहित्य, र संस्कृतिलाई विश्वभरि चिनाउने हो र यसको काम सुरु भईसकेको छ। 

४ बर्षे कार्यकालमा मैले सार्वजनिक गरेका २६ बुंदे कार्ययोजना लागु गर्ने हो। 

"साझा प्रकाशन अहिले अप्रेशन थियटरमा छ।  पहिले यसलाई आइसीयुमा राखेर रोग पहिचान गरि अप्रेशन थियटरमा ल्याएका हौँ,  यो अप्रेशन थियटरमा साझा सिध्याउन लागि परेका खलनायक सेतो ड्रेसमा अहिले पनि उत्तिकै व्यस्त छन" 

१०५ बर्ष पुरानो इतिहास बोकेको साझा प्रकाशन नीजी संस्था झैँ नाफामा जान किन नसकेको ? 'सरकारी काम कहिले जाला घाम ' भने जस्तै त होइन ? 

निजि भनेको निजि नै हो, निजि प्रकाशनलाई जसरि जे निर्णयबाट भएपनि नाफासंग मात्र सरोकार हुन्छ तर साझा सरकारी संस्था हो। साझाले नागरिकको सेवा, सुविधालाई ध्यानमा राखेर काम गर्नु पर्ने हुन्छ । 

अर्को मुख्य कुरा भनेको उत्पादनमा निजी र साझाबीचको अस्वस्त प्रतिस्पर्धा हो। निजिलाई गुणस्तर कायम गर्नु नपर्ने तर साझाले जसरि पनि मापदण्ड र गुणस्तर कायम गर्नु पर्ने । साझालाई नेपाल सरकारले ७२ ब्राइट भन्यो भने ७२ मा नै छाप्नु पर्छ तर निजिले ४८ ग्राममा छाप्दा पनि हुने ।  

अझ यहाँ के सम्म छ भने नेपाल सरकारले १ अर्ब ८३ करोड बजेट सामुदायिक बिद्यालयलाई निकासा गरेको छ तर त्यो १ अर्ब ८३ करोडको बजेट अन्तर्गतको  २० प्रतिशत बिद्यार्थी भाइ बहिनीहरुले पुस्तक किन्दैनन ।  उनीहरुले पुरानै पुस्तक पढ़छन्।   त्यस्तै वास्तविक तथ्यांक भन्दा २५ प्रतिशत भाइबहिनिहरु पढ्न गएकै हुँदैनन।  

अहिलेसम्मको अभ्यास र तथ्यांकले ४५ प्रतिशत पुस्तक प्रयोग नै हुँदैनन तर राज्यको पैसा शतप्रतिशत खर्च भईरहेको छ।   यसको अनुगमन कसले गर्ने ?

राज्यले दिएको मापदण्डमा बसेर निजि प्रकाशन र साझा प्रकाशनलाई प्रतिस्पर्धा गराउने हो भने साझा  १ नम्बरमा आउंछ ।   यदि यस्तो भएन भने म कुर्चीमा १ मिनेट पनि बस्दिन। गुणस्तर मापन गरेर पाठ्यक्रम विकास केन्द्रले पुस्तक वितरण गर्नु पर्छ।

"७० ग्रामको पेपरमा २ ग्राम घटाएर ६८ ग्रामको पेपर प्रयोग गरिंदा पनि करोड रुपैयाँ भन्दा माथिको अपडाउन हुन्छ, गुणस्तर मापन गर्ने संस्थाको चश्मा नै निजि र साझाको लागि फरक पारिएको छ, साझालाई हेर्ने चस्मा पुरातन र पावरलेश छ तर निजिलाई हेर्ने चश्मा पावरफुल छ"     

अप्रेशन थियटरमा भएको साझा प्रकाशन कहिलेसम्म सामान्य बेडमा ल्याउने तपाईको योजना छ ?

६ महिना भित्र साझा प्रकाशनमा लोभलाग्दो परीवर्तन आउने छ।   यहाँको प्रांगण ६ महिना भित्र परिवर्तन हुन्छ।   ६ महिना भित्र कि त साझा प्रकाशन स्वस्थ  भई आफ्नै गतिमा अघि बढ्छ कि त म साझाबाट बिदा लिन्छु ।  

म भन्दा अघि आएका २१ जना अध्यक्ष भन्दा उत्कृष्ट काम साझा प्रकाशनमा भएको अवस्थामा मात्रै यो कुर्चीमा बस्नुको औचित्य हुन्छ ।  

के गर्यो भने साझा प्रकाशन निजि प्रकाशन झैँ फाइदामा जान्छ ?

कर्मचारी साथीहरुलाई हाजिरी गराएर मात्रै कामै नगरी खाने वातावरण बन्द गर्नु पर्यो।   एकै मापदण्ड बनाएर निजि प्रकाशनसंग प्रतिस्पर्धामा जान दिनु पर्यो ।   सम्बन्धित निकायले निजि र साझालाई एकै मापदण्ड बनाएर स्वस्थ प्रतिस्पर्धामा जाने अवस्था बनाई दिनु पर्यो ।   

निजिले गर्दिन भन्दा पनि बोलाई बोलाई काम दिने तर साझालाई काम दिनु पर्यो भनेर दुई बर्षदेखि चिठी लेख्दा पनि हामीलाई काम नदिने यस्तो प्रवृति बन्द हुनु पर्यो ।   


Share your thoughts!

Loading...

Trending