सुविधाभोगी क्षेत्रमा ब्याजदर घटाउने होइन: गभर्नर नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 02:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा डा गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपछि लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गरे ।

उनले भने, “मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मेहनत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ । यसको प्रभाव अझै बढ्ने देखिन्छ ।”

गभर्नर नेपालले व्यापार, वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दैै त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए  । “हामीले निक्षेपकर्ताको अधिकारलाई पनि सम्मान गर्नुपर्छ । उद्योगीहरुले ऋणको ब्याज बढी भयो भनिरहँदा यसको उचित तवरले सम्बोधन गरिन्छ, तर सुविधाभोगी क्षेत्रमा ब्याजदर घटाउने होइन, बरु निर्यातजन्य उत्पादनमूलक र निर्यातजन्य उद्योगका लागि सहुलियत दिन राष्ट्र बैंक तयार छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको, शोधान्तर घाटामा सुधार भएको र व्यापार घाटासमेत न्यूनीकरण हुने दिशामा केन्द्रित रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको बताए  । उनले निजी क्षेत्र आर्थिक समृद्धि र विकासको दिशामा केन्द्रित रहेको उल्लेख गर्दै थप केही नीतिगत सुधार जरुरी रहेको बताए  ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतीश मोरले निजी क्षेत्रको साथ र सहयोगमा मात्रै आर्थिक विकास हुने तथ्यलाई आत्मसात् गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरे  । साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश ताम्राकारले निर्यातमूलक उद्योगमा जोड दिनसके व्यापार घाटा घट्ने र त्यसतर्फ आफूहरु पनि लागिपरेको बताए  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved