नेपाल राष्ट्र बैंकले नेपालीहरु मुल्यबृद्धिको चपेटाबाट मुक्त हुन् नसकेको प्रतिबेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको चौथो महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिबेदनमा औषत मुद्रास्फीति ६.२७ प्रतिशत रहेको उल्लेख छ।
आर्थिक वर्षको पहीलो महीनामा ६.९५ प्रतिशत रहेको मुद्रास्फ्रीति दोस्रो महीनामा घटेर ६.५६ प्रतिशत कायम भएको थियो । यस्तै असोज मसान्तमा ६.२१ प्रतिशत रहेको मुद्रास्फ्रीति कार्तिक मसान्तमा पुन वृद्धि भएर ६.२७ प्रतिशत पुगेको छ । वार्षिक विन्दुगत आधारमा भने मुद्रास्फ्रीति ५.७६ प्रतिशत रहेको छ । गत वर्षको यही अवधिमा मुद्रास्फ्रीति वार्षिक विन्दुगत आधारमा ४.१५ प्रतिशत मात्रै रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समुहको सबैभन्दा धेरै ७.९६ प्रतिशत र गैर खाद्य तथा सेवा क्षेत्रको मुल्य ४.०७ प्रतिशतले बढेकोे छ । क्षेत्रगत आधारमा सबैभन्दा उच मुल्यवृद्धि काठमाडौं उपत्यकामा ६.५ प्रतिशत तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशतर हिमालमा ४.०१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा काडमाडौं उपत्यकामा ४.५, तराईमा ३.७९, पहाडमा ४.३१ र हिमालमा ४.६२ प्रतिशत मुल्यवृद्धि रहेको थियो ।
पछिल्लो समय नेपालमा क्षेत्रगत आधमा हेर्दा नेपालको मुल्यबृद्धि उल्टो ट्रेन्डमा चलेको देखिन्छ । विगतका वर्षहरुमा सबैभन्दा कम मुल्यवृद्धि हुने तराइ क्षेत्रमा विगत केही महीना यता लगातार रुपमा उच्च मुल्यवृद्धि हुने क्षेत्रको रुपमा देखा परेको छ। सबैभन्दा बढी मुल्यवृद्धि हुने हिमाली क्षेत्र सबैभनदा कम मुल्यवृद्धि हुने क्षेत्रको रुपमा देखिएको छ।
ब्यक्ति बसेर निर्धारण गरेको बजार मुल्यलाई आधार बनाएर राष्ट्र बैंकले बजार मुल्यको तथ्याङक सार्वजनिक गर्ने गरेकोले राष्ट्र बैंकले प्रकाशित गर्ने मुल्यवृद्धिको तथ्याङक प्रभावकारी नदेखीएको अर्थविद डा. चन्द्रमणि अधिकारि बताउँछन। सर्वे गरेर वास्तविक मुल्यको आधारमा मुल्यवृद्धिको तथ्याङक सार्वजनिक गर्ने सके प्रभावकारी हुने अधिकारि बताउँछन ।
तुलनात्मक रुपमा लागत बढी हुने पहाडी र हिमाली क्षेत्रको मुल्यवृद्धि कम हुनु तर ढुवानी तथा अन्य कुरामा सहज पहुँच भएको, आयातित बस्तुमा निर्भर हुने अर्थतन्त्रमा बोर्डर जोडिएको, तराई र उपत्यकामा मुल्यवृद्धि बढी हुनुले पनि यसलाई पुष्टी गर्ने अधिकारीको दाबी छ।
यता नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. गुणकार भट्ट यो अवधिमा उपत्यकामा र तराइका शहरहरुमा आयतित फलफुल तरकारी र माछामासुको खपत उच्च भएको र यो अवधिमा उक्त बस्तुको मुल्य पनि बढेकोले तराइ र पहाडमा मुल्यवृद्धि बढी भएको बताउँछन। पहाड तथा हिमालमा ढुवानी समस्या हुन्छ भनेर पहीलेको स्टक सामान रहेको र कतिपय आफ्नै उत्पादन प्रयोग हुने भएकोले तुलनात्मक रुपमा मुल्यवृद्धि कम भएको उनको भनाई छ।
यस्तै पछिल्लो केही महीनामा भारतमा देखिएको मुल्यबृद्धिले नेपालमा प्रभाव परेको भट्टको दाबि छ। नेपाल भारतीय बस्तुको आयातमा निर्भर भएका ले भारतमा अनपेक्षीत रुपमा मुल्यवृद्धि हुँदा त्यसको असर देखिएको उनको भनाई छ। भारतमा ३ प्रतिशत रहेको मुल्यवृद्धि ७-८ महीनाको अवधिमा वृद्धि भएर ५ प्रतिशत भन्दा माथि पुगेको छ। ४ महीनाको औषत मुल्यवृद्धि ६.२६ प्रतिशत भएपनि बार्षिक विन्दुगत आधारमा भने ६ प्रतिशत भन्दा कम मुल्यबृद्धि रहेको उनको भनाई छ ।
सरकारले चालु आर्थिक वषको बजेटमा ८.५ प्रतिशको आर्थिक वृद्धि तथा मुल्यवृद्धि ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएको थियो। सरकारले ल्याएको बजेट कार्यन्वयन गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा मुल्यवृद्धि ६ प्रतिशत भित्र कायम राख्ने बताएको थियो।