भारतले प्रशोधित पाम आयलको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएको छ। प्रतिबन्धसँगै नेपालको निर्यातमा समेत प्रभाव पर्ने देखिएको छ । नेपालले ठुलो मात्रामा भारतमा पाम आयल निर्यात गर्दै आएको थियो ।
नेपालले गत आर्थिक वर्षको तुलनामा २६ प्रतिशतले निर्यात बढाएकोमा कुल निर्यातको करीब एक चौथाई हिस्सा पाम आयल नै रहेको छ । गत आर्थिक वर्षमा १० अर्ब भन्दा माथिको पाम आयल भारतमा निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५४ करोडको पाम आयले निर्यात गरेको छ ।
चालु आर्थिक वर्षको बजेट मार्फत भारतले पाम आयलको भन्सारमा वृद्धि गरेको थियो । नेपाल र भारत बिचको भन्सार छुटको फाइदा उठाउँदै नेपाली ब्यापारीले केही समयदेखि ठुलो मात्रामा भारतमा पाम आयल निर्यात गर्दै आएका थिए । अब भने ति ब्यापारी र समग्र निर्यात प्रभावित हुने भएको छ ।
किन लगायो प्रतिबन्ध ?
भारतले मलेशियाबाट सबै भन्दा धेरै प्रशोधित पाम आयल आयात गर्ने गरेको थियो । तर मलेशियाका प्रधानमन्त्रीले भारत सरकारको नीतिको आलोचना गरेपछि भारत रुष्ट बनेको थियो । मलेशियाका प्रधानमन्त्रीले भारतले जम्मु कश्मिरको विशेषअधिकार खोसेको विषय र नयाँ नागरिकता विधेयकको विषयको सार्वजनिक रुप मै आलोचना गरेका थिए । त्यसबाट रुष्ट बनेको भारतले प्रतिशोधको लागि प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्धको 'टार्गेट' मलेशिया भए पनि यसको असर भने नेपाललाई पनि पर्ने भएको हो ।
प्रशोधित नभएको पाम आयल (कच्चा पाम आयल) मा भने भारतले प्रतिबन्ध लगाएको छैन ।