निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी ३५ करोड रुपयाँ भन्दा बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार सोमबार अन्तिम दिन थप २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई ५५ करोड रुपयाँ सङ्कलन हुने अपेक्षा गरेको उनले जानकारी दिए।
मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले १५ करोड रुपयाँ उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ । यसैगरी जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख र नवलपरासीको गैँडाकोट नगरपालिकाले एक करोड बराबर सहयोग गर्ने जनाएको छ ।
यस्तै निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले एक करोड १२ लाख बराबरको जग्गा दान गरेका छन् । पोल्ट्री व्यवसायीहरुले एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।
महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका छन् । जसले अरूलाई पनि उत्साहित बनाएको छ ।
नगदसँगै हालसम्म ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको सहकोषाध्यक्ष त्रिलोचन कँडेलले बताए । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब दुई अर्ब ५० करोड रुपयाँ खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो। महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ ।