कोरोना भाइरसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

टीएन रेग्मी

टीएन रेग्मी

Feb 17, 2020 | 02:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ४० हजार नाघेको छ । १ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने विश्वका ३० वटा देशमा यो भाइरस फैलिएको छ । चीन विश्व अर्थतन्त्रको एक महत्वपूर्ण खेलाडी हो  । अतः कोरोना भाइरसको कारण गिजोलिएको आर्थिक गतिविधिको प्रभाव दीर्घकालीन हुने विश्लेषण गरिएको छ । 

चीन पछिल्लो ४ दशकदेखि निरन्तर आर्थिक वृद्धि हासिल गर्न सफल विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । पछिल्लो तथ्याङ्क अनुसार चीनको कुल गार्हस्थ उत्पादन १३ दशमलव ६ ट्रिलियन रहेको छ । चीनको आर्थिक वृद्धि वार्षिक ७ प्रतिशत छ । अमेरिकापछि दोस्रो स्थानमा रहेको चीन विश्वका अन्य ठूला भनिने अर्थतन्त्रको तुलनामा निकै अगाडि छ ।

चीन विश्वभरि आपूर्ति हुने सामानहरुको केन्द्र हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार कोरोना भाइरसको कारण चीनका विभिन्न सहरमा १ करोड हाराहारी मानिसहरु निगरानीमा राखिएका छन् । सामान्य कफी सपदेखि लिएर ठूला बन्दरगाह र कारखानाहरु बन्द छन् । विश्वका विभिन्न एयरलाइन्सले चीनमा हुने उडान रद्द गरेका छन् । कोरोना भाइरसको केन्द्र बनेको वुहान चीनको तेस्रो ठूलो वैज्ञानिक र शैक्षिक केन्द्र हो । यो सहरमा १ करोड १० लाख जनसंख्या रहेको छ ।

गतवर्ष अमेरिकासँगको ‘व्यापार युद्द’को कारणले चीनको आर्थिक वृद्धि ६ प्रतिशतमा सिमित हुन पुगेको र वृद्धिदर पछिल्लो ३० वर्षमै सबैभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ ।

चीनमा देखिएको समस्याको कारण विश्व अर्थतन्त्रमा असामान्य प्रभाव पर्न गई अर्थतन्त्रले ‘ट्रयाक’ छोड्ने होकि भन्ने चिन्ता अर्थशास्त्रीहरुले गर्न थालेका छन् । चिनियाँ अर्थतन्त्रमा कोरोना भाइरसको कारणले आर्थिक वृद्धिदरमा प्रभाव पर्ने संकेत देखिइसकेको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ उत्पादन ५ प्रतिशतमा सिमित हुने विज्ञहरुले बताएका छन् । समस्याको तत्कालै समाधान नभएको अवस्थामा वृद्धिदर ५ प्रतिशतभन्दा तल झर्नसक्ने बताइएको छ । 

कोरोना भाइरसको कारणले उद्योग र व्यापार क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । दोस्रोमा पर्यटन क्षेत्र आउँछ  । अघिल्लो वर्षको सेप्टेम्बर महिनासम्म कुल १७३ मिलियन चिनियाँ पर्यटकले विदेश भ्रमण गरेका थिए । यसवर्ष पर्यटकको तथ्याङ्कमा भारी गिरावट आउने अनुमान गरिएको छ ।  

अन्य क्षेत्रमा प्रभाव

पछिल्लो हप्ता टोक्यो स्टक मार्केटमा निकै उथलपुथल देखिएको छ । त्यसैगरी साङ्‍घाई स्टक मार्केटमा भारी गिरावट आएको छ । कोरोना भाइरसको कारणले भद्रगोल अवस्थामा पुगेको चिनियाँ अर्थतन्त्रको कारण अन्य देशका पूँजीबजारमा समेत तरङ्ग आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । प्रति ब्यारेल ७० डलरभन्दा बढी पर्ने तेलको मूल्य पछिल्लो हप्ता करीब २० डलरले घट्न पुगेको छ । 

विश्व प्रख्यात कम्पनी एप्पलको कुल ८ सय सप्लायर्समध्ये चीनमा २९० वटा रहेका छन् । त्यसैगरी विश्व टेलिभिजन बजारको ९ प्रतिशत हिस्सा चीनले ओगटेको छ । कोरोना भाइरसको केन्द्र बनेको वुहानमा अटोमोबाइल उद्योग ५० प्रतिशत र टेक्नोलोजी सप्लाई सम्बन्धी बिजनेसको हिस्सा २५ प्रतिशत छ । 

जापानी मोटर कम्पनी हुन्डाईले चीनबाट आपूर्ति हुने पार्टसको अभावमा आफ्नो कोरियामा रहेको उत्पादन प्लान्ट अनिश्चितकालको लागि बन्द गरेको छ । युरोप र अमेरिकाका प्रसिद्ध मोटर कम्पनीले आफुसँग केही हप्ताको लागि मात्रै कच्चा पदार्थ स्टक रहेको जनाएका छन् । 

धेरै प्रभावित हुने देशहरु

चिनियाँ अर्थतन्त्रमा समस्या आउँदा सबैभन्दा छिटो र बढी मात्रामा असर पर्ने क्षेत्र हो पूर्वी र दक्षिण एसिया । त्यसबाहेक जापान र चीनबीच मेसिनरी तथा कच्चा पदार्थको उत्पादन तथा किनबेचका लागि एकापसमा निर्भर देशहरु हुन् ।

लाखौंको संख्यामा चिनियाँ पर्यटकहरुले भ्रमण गर्ने एसियाली छिमेकी मुलुकको अर्थतन्त्रमा कोरोना भाइरसको कारणले ठूलो असर पर्ने निश्चित छ । 

त्यसैगरी अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीको नयाँ भर्ना दरमा उलेख्य कमी आएको छ । चीन र बेलायती अर्थतन्त्रको बीचमा निर्भरताको सम्बन्ध नभए तापनि अघिल्लो वर्षको चीन-अमेरिका ‘व्यापार युद्ध’को प्रभाव बेलायतमा पनि परेको थियो । 

सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण गरिएकोमा चिनियाँ अर्थतन्त्रमा देखिएको समस्याको कारण शुन्य दशमलव ३ प्रतिशतले कमी आई ३ प्रतिशतमात्रै हुने निश्चितजस्तै भएको विज्ञहरुले बताएका छन् । 

नेपालमा पर्ने प्रभाव

नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको छ । चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य कमी आउँदा भ्रमण वर्षको लक्ष्य हासिल गर्न कठिन हुने निश्चितप्रायः छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संसद्‍मा गरेको सम्बोधनमा ‘प्राकृतिक धक्‍का’ आएको बताएर यसको संकेत गरिसकेका छन् । 

दैनिक उपभोग्य सामान, लुगाफाटो, मेसिनरी र इलेक्ट्रोनिक सामान निकै ठूलो मात्रामा चीनबाट भित्रिने गरेको छ । कोरोनाको प्रभावस्वरुप आर्थिक गतिविधि कम हुने, आपूर्तिमा कमी भई महङ्गी बढ्ने, आयात/निर्यातबाट सिर्जना हुने रोजगारीमा कमी आउने लगायतमा असर नेपाली अर्थतन्त्रले भोग्नुपर्ने अवस्था छ । 

मानवीय क्षति

हालसम्म विभिन्न देशमा गरी कोरोना भाइरसका कारण १ हजार ८७३ जनाको मृत्यु भईसकेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७३ हजार ४२९ जनामा यो भाइरसको संक्रमण देखिएको छ । संक्रमित १० हजार ६१५ जना भने उपचार पश्चात निको भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved