यी हुन् ब्यापार घाटा गराउने ५ बस्तुहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 02:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षदेखि ब्यापार घाटा केही सुध्रिएको छ । तर ब्यापार घाटा बढाउन योगदान पुर्याइरहेका बस्तुको आयात भने उल्लेख्य मात्रामा घटेको देखिँदैन । केही मात्रामा आयात घटेकै कारण पनि गत आर्थिक वर्षको तुलनामा १५.६३ प्रतिशतले ब्यापार घाटा कम भएको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न बस्तुको आयातमा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बाहिरिएको थियो । तर गत आर्थिक वर्ष २०७६/०७७ को १२ महिनामा आयात झण्डै ३ खर्बले घटेको छ । गत वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको बस्तुहरु आयात भएका छन् । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६३ प्रतिशतले कम हो । निरन्तरको ब्यापार घाटा ब्यहोरिरहेको मूलुकले एकैपटक खर्बमा घाटा कम गराएको यो नै पहिलो पटक हो ।

यी हुन् ब्यापार घाटा गराउने बस्तु

नेपालको बैदेशिक ब्यापार बढ्नुमा नेपालमा उत्पादन नहुने बस्तुको माग र विलाशिताका साधनको प्रयोगले मुख्य भूमीका खेलेको छ । विशेष गरी पेट्रोलियम पदार्थ र सवारी साधनको माग बढ्दा नेपालले बैदेशिक ब्यापारमा निरन्तर घाटा ब्यहोर्दै आएको छ । 

तर गत आर्थिक वर्षमा भने ब्यापार घाटा बढाउने मुख्य बस्तुहरुको आयात नै कम भयो । जसका कारण नेपालले ब्यापार घाटा घटाउने अवसर पाएको छ । 

भन्सार विभागको वार्षिक तथ्यांक अनुसार नेपालले सबैभन्दा धेरै ब्यापार घाटा सहनुपर्ने बस्तु हो डिजेल । डिजेल भारतबाट एकनाशले आयात हुन्छ, यताबाट यो बस्तु निर्यात हुने कुरै आएन । त्यसैले नेपालले वार्षिक खर्ब बराबरको डिजेल आयात गर्नुपरेको छ । गत आर्थिक वर्षमा ८७ अर्ब ३७ करोड ९८ लाख रुपैयाँको डिजेल आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब १९ अर्ब ८८ करोड ८४ लाख रुपैयाँको डिजेल आयात भएको थियो । अघिल्लो र गत वर्ष भएको डिजेलको आयातको तुलना गर्दा गत वर्ष ३० अर्ब रुपैयाँ बचत भएको छ । 

डिजेलपछि सबैभन्दा धेरै ब्यापार घाटा हुने बस्तुको सूचीमा फलाम र स्टिल पर्छ । यस वर्ष भने यी बस्तुहरु केही मात्रामा निर्यात हुँदा ब्यापार घाटा कम गर्न केही राहत पुगेको छ । गत आर्थिक वर्षमा १ खर्ब २ अर्ब ४४ करोड ५० लाख रुपैयाँको फलाम र स्टिल आयात भएको छ । गत वर्ष नै १ अर्ब ७६ करोड ४४ लाख रुपैयाँको फलाम र स्टिल निर्यात पनि भएको छ । तयारी फलाम र स्टिलको निर्यात पनि सुरु भएका कारण आगामी वर्षहरुमा ब्यापार घाटा थप कम हुँदै जाने अपेक्षा लिईएको छ ।

पेट्रोलको आयातले पनि नेपालको बैदेशिक ब्यापारमा प्रभाव पार्ने गरेको छ । गत आर्थिक वर्षमा ५ लाख १२ हजार ७१२ किलोलिटर पेट्रोलको आयात गरेर २८ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष ३५ अर्ब ५४ करोड ८९ लाख रुपैयाँको पेट्रोल आयात भएको थियो । 

नेपालीलाई बैदेशिक ब्यापारमा घाटा ब्यहोरेर टाउकोमा ऋणको भारी बोकाउने अर्को मुख्य बस्तु हो खाना पकाउने ग्यास । खाना पकाउने ग्यासको आयातबाट गत आर्थिक वर्ष २०७६/०७७ मा ५ अर्ब २१ करोड २६ लाख रुपैयाँ बाहिरिएको छ । यो पूर्ण रुपमा घाटाकै ब्यापार हो ।

ब्यापार घाटा बढाउन उद्योगधन्दामा प्रयोग गर्न आयात गरिने सोयाबिन तेलको भूमीका पनि उल्लेख्य छ । गत वर्ष १ करोड ८७ लाख २३ हजार ६४४ किलो सोयाबिन तेलको आयातमार्फत ३ अर्ब ३ करोड ५५ लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । 

यसबा अलवा विलाशिताका साधन गाडी तथा मोटरसाइलले पनि ब्यापार घाटालाई पश्रय दिँदै आएका छन् । भन्सार विभागले ५ हजार भन्दा बढी बस्तुको आयात र निर्यातको तथ्यांक राख्ने भएपनि आयातको सूचीमा १ देखि १० नम्बरसम्म पर्ने बस्तुले नै घाटाको बहु प्रतिशत हिस्सा ओगट्ने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved