अर्थ न बर्थको नेप्सेको परिपत्र र मिर्जा गालिबको शेर...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 10:25:33 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताबाट सेयर बिक्रि आदेशमा समेत अग्रिम रकम लिएको पाएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले माघ १५ कानुन बिपरित कार्य नगर्न भन्दै सम्पूर्ण दलालहरुलाई निर्देशन दियो । सेयर ब्रोकरहरुले बिक्रि आदेशमा समेत ग्राहकबाट अनुमानित रकमको २५ प्रतिशत अग्रिम रकम मागेको पाइएपछि यस्तो निर्देशन दिइएको नेप्सेले जनाएको थियो। 

 ‘ग्राहकबाट अग्रिम रकम लिनुपर्ने सम्बन्धमा’ भन्ने परिपत्रमा ‘धितोपत्र कारोबार संचालन विनियमावलि २०७५ लागु भएको र विनियमावलीको विनियम ८(१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिमरुपमा लिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा सदस्य दलालले उक्त अग्रिम रकम बिक्रि कारोबारको लागि समेत माग गरिएको भन्ने जानकारी आएको हुँदा सो नगर्न र विनियम बमोजिम गर्न निर्णयानुसार अनुरोध गरिन्छ’ भन्ने रहेको छ |

नेप्सेको यस्तो परिपत्र हेर्दा उर्दूका प्रसिद्ध कवि मिर्जा गालिवको एउटा कवितांश ‘धूल चेहेरे पे थि और आइना साफ करता रहा’ र एउटा नेपाली उखान ‘अर्थ न वर्थ गोबिन्द गाई टाउको दुखेको औषधि नाइटोमा लाइ’ भन्ने प्रसँग ठ्याक्कै मेल खाएको छ |

नेप्सेले यस्तो परिपत्र गर्नु अघि गालिवले भने झैँ आफ्नो अनुहारमा लागेको धुलो हेरेको देखिन्न र ऐनामा धुलो लागेको भन्दै त्यसलाई सफा गरिरहेको देख्न सकिन्छ | कारोबारको लागि दायरा (लिमिट) सम्बन्धि व्यवस्था अहिले मात्र हैन पहिलेदेखि नै भएपनि व्यवहारिकरुपमा भने उपयोगमा थिएन | व्यवहारिक उपयोग नै शून्य रहको लिमिट अनलाइन प्रणालीमा मात्र उपयोग हुने प्रणाली थियो तर दलालले ‘पत्यार’ गरेमा भने यस्तो लिमिटको आवश्यकता नपर्न पनि सक्ने सम्भावना रहन्छ |

सामान्यतया खरीदको लागि मात्र लागु हुने लिमिट सम्बन्धि प्रावधान नेप्सेको नेप्से अनलाईन ट्रेडिङ सिष्टम (नट्स) ले बिक्रीमा पनि लागु गरिदिएको छ | उदाहरणका लागि रु. २५ हजार रकम बुझाइ १ लाखसम्मको कारोबार लिमिट लिने कुनै ग्राहकले मानौं ५० हजार बराबरको बिक्रि र सोहि बराबरको खरिद गरेमा उसको लिमिट सकिएको भन्दै सिस्टमले थप आदेश प्रविष्ट गर्न दिंदैन | यसै विषयलाई लिएर ग्राहकले नेप्से वा दलाललाई गरेको उजुरी/गुनासोलाई नेप्सेले ‘अनर्थ’ लगाएर ‘सदस्य दलालले उक्त अग्रिम रकम बिक्रि कारोबारको लागि समेत माग गरिएको भन्ने जानकारी आएको हुँदा’ भन्दै आफ्नो सिस्टममा रहेको कमजोर पक्षको बचाऊ गर्नु नेप्से नेतृत्वको लाचारी हो |

खरिदको लागि लिमिट जति रुपैयाँको लिए पनि बिक्रि गर्नासाथ बिक्रि गरिएको रकमले लिमिट बढ्नुपर्ने हुन्छ | तर यहाँ बिक्रि गर्दा भने सिमा लागेर लिमिट घटेको छ | सिमा लिएर अनलाईन कारोबार गरिरहेका ग्राहकले कुनै शेयर बेच्नासाथ सिमा बढ्दै जानुपर्ने हुन्छ र सो लिमिटले धानेसम्म शेयर किन्न पाइने हुन्छ | यसको विपरित बिक्रि गरिएको रकमलाई समेत लिमिटभित्र पारेको/परेको सम्बन्धमा गरेको उजुरी/गुनासोलाई बिक्रीमा पनि अग्रिम रकम मागेको भनेर ‘आग्राको कुरा गर्दा गाग्राको’ कुरा बनाएको छ |

नेप्सेको यस्तो ‘आग्रा र गाग्रा’ का व्यवहार हेर्दा नेप्से नेतृत्वको आफ्नै बिभाग/शाखा (सूचना प्रविधि) मा नियन्त्रण छैन र यस्ता बिभाग/शाखाले गर्ने समस्त गतिविधि ‘अभेद्य’ छ भन्नेतर्फ संकेत गरेको छ | त्यस्तै नेप्सेले नै कार्य सुची तोकेर दिएको ठेक्का (अनलाइन जडान) को ठेकेदार (वाईको) माथि पनि कुनै नियन्त्रण छैन भन्ने जस्तै देखिएको छ | त्यस्तै भर्खर सूचीकरण भएको तामाकोशीको शेयर कारोबारमा दायरा सूचना प्रविधि शाखा वा ठेकेदार (वाईको) कसले कुन उद्देश्यले खुला छोडी दिए त्यस विषयमा उच्चस्तरीय छानवीन गर्नुपर्नेमा सामान्य कारवाही समेत गरिएको देखिएन | कारोबार मात्र रद्द गरेर पन्छिने कार्यले नेप्से नेतृत्वको समेत मौन समर्थन रहको हो कि भन्नेसम्मको आँकलन गर्न सकिन्छ |

नेप्से नेतृत्व कतिसम्म बेखवर र लाचार छ भने पछिल्लो समयमा कम्पनीले जारी गरेका हकप्रद र बोनस शेयरको लागि बुक क्लोजपछि मुल्य समायोजन गरे पनि शेयर समायोजन गरेको छैन | यसले कम्पनीको बजार पूँजीकरण र सूचकलाइ समेत असर पारेको छ | त्यस्तै थप शेयर (एफपिओ) जारी गरेको वुटवल पावर र नेपाल बैंकको थप भएको शेयर कित्ता अझसम्म पनि समायोजन गरेको छैन | वुटवल पावरले  पछिल्लोपटक पुनः १० प्रतिशत पूँजी वृद्धि गरिसकेको छ | यस्तो गतिविधिले शेयर सूचक ९ सयमा आउँछ भन्नेलाई सहयोग पुर्याउन खोजेको देखिएको छ |  

यस्ता कयौं आफैँले गर्नुपर्ने कार्यलाई नगरी बजार पूँजीकरण र सूचक कम देखाउने कार्यमा अप्रत्यक्षरुपमा नेप्से नेतृत्व आफैँ लागेको हो कि भन्ने सम्मको अनुमान सहजै लगाउन सकिन्छ | यस्ता गतिविधिमा आफैँ संलग्न भएकोले कतैबाट केहि होला कि भन्ने डर र आशंकाले ग्रस्त मनोविज्ञान पिडित नेप्से नेतृत्वले आफ्नै सिष्टममा भएको ‘त्रुटी’ लाई ढाकछोप गर्ने प्रयास अन्ततः आफ्नै लागि घातक हुनसक्छ बेलैमा सचेत हुनु जरुरी छ |


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved