सवाल २०२०: पर्यटकको पहिचान र साँस्कृतिक सम्पदाको प्रवर्द्धन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 31, 2019 | 11:52:07 PM मा प्रकाशित

nj

२० लाख पर्यटक भित्र्याउने उदेश्यका साथ मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट सुरु हुँदैछ । सरकारी स्तरबाट निकै तामझामका साथ मनाउन लागिएको भ्रमण वर्षका अनेक आयामबारे चर्चा परिचर्चा सुरु भएको छ । यसै सन्दर्भमा बिजपाटी डटकमले वर्षभरी नै नेपाल भ्रमण वर्षसँग सम्बन्धित सवालहरुमा केन्द्रित विशेष सामग्रीहरु पाठकमाझ ल्याउने जमर्को गरेको छ ।



सरकारले लिएको भ्रमण वर्ष सफल पार्ने लक्ष्य हासिल गर्न सघाउनु हाम्रो कर्तव्य हो । साथै नेपालको समग्र पर्यटन क्षेत्रको अवस्थाको विश्लेषण गर्दै यसको दिगो विकासका लागि कसरी अघि बढ्न सकिन्छ? भन्‍ने प्रश्नको जवाफ खोज्ने प्रयत्‍न हामीले गर्नेछौं । बिजपाटी डटकमले सन् २०२० को जनवरी १ देखि साप्ताहिक रुपमा क्षेत्रगत सामग्री प्रकाशन, सरोकारवालाहरुसँग अन्तरक्रिया तथा विचार मन्थन र भ्रमण वर्षसँग सम्बन्धित गतिविधिको निरन्तर फलोअप गर्नेछ ।

 

भ्रमण वर्षका कार्यक्रम

नयाँ वर्ष २०२० को पहिलो दिन नेपाल भ्रमण वर्षको उद्‍घाटन कार्यक्रम दशरथ रङ्गशालामा हुँदैछ । उद्‍घाटन कार्यक्रममा १० हजारभन्दा बढीको संख्यामा सहभागी हुने भ्रमण वर्ष सचिवालयले जनाएको छ । उद्‍घाटन कार्यक्रममा मस्कट सार्वजनिक गर्ने, साङ्‍गितिक प्रस्तुति र प्रधानमन्त्रीको विशेष सम्बोधन लगायतका कार्यक्रम हुनेछन् । 

 

सो कार्यक्रममा ३१ वटा मुलुकका पर्यटनमन्त्री तथा विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ । वर्षभरि गरिने विशेष कार्यक्रमको सूची यसअघि सार्वजनिक भइसकेको छ ।


भ्रमण वर्ष विशेष कार्यक्रमः

नेपाल इन्डिया चाईना एक्स्पो, फेब्रुअरी

मुस्ताङ ट्रेल रेस, अप्रिल

एभरेष्ट म्याराथन, मे

ओताकु जात्रा, मे

हिमालयन ट्राभल मार्ट, जुन

सस्टेनेबल समिट्स कन्फेरेन्स, सेप्टेम्बर

वर्ल्ड ट्रेल्स कन्फेरेन्स, सेप्टेम्बर

फोटो काठमान्डु, अक्टोबर

कर्णाली क्वेष्ट, नोभेम्बर

काठमान्डु ट्रिनाले, डिसेम्बर


नेपालको पर्यटन

नेपाली पर्यटन उद्योगको इतिहास करिब ५ दशक लामो छ । हालसम्म आइपुग्दा नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान महत्वपूर्ण छ । पर्यटन क्षेत्रको लाभ स्थानीय नागरिकसमक्ष पुर्‍याउने लक्ष्य संविधाननेपाल सरकारका आवधिक योजना तथा वार्षिक कार्यक्रममा समेटिएको छ ।

नेपालले पर्यटकबाट लिने लाभको हिस्सा दक्षिण एसियामै एकदमै न्युन छ । पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ । यही सूचकमा भारत ४०औंश्रीलंका ६४औं र भुटान ७८औं स्थानमा छन् । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.५ प्रतिशत मात्रै छ । पर्यटन क्षेत्रले ३.२ प्रतिशत (प्रत्यक्ष तथा अप्रत्यक्ष) रोजगारी सिर्जना गरेको तथ्यांक छ ।


पछिल्लो ५ वर्षमा पर्यटकको नेपाल आगमनमा निकै उतारचढाव देखिएको छ । सन् २०१४ मा ७ लाख ९० हजार ११८ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा त्यो संख्या खुम्चिएर ५ लाख ३८ हजार ९७० मा सिमित भएको देखिन्छ । सो अवधिमा पर्यटक आगमन दर एकवर्षमै ३२ प्रतिशतले घटेको छ ।


सन् २०१६ मा ७ लाख ५३ हजार २ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ । २०१५ को तुलनामा यो तथ्यांक करिब ३० प्रतिशतले बढी हो । यसरी एक वर्षको अन्तरालमा करिब एक तिहाईको उतारचढाव आउनुको कारण विश्लेषण गरिनु जरुरी छ ।

सन् २०१७ मा ९ लाख ४० हजार २१८ जनाले नेपाल भ्रमण गर्दा पर्यटक आगमन इतिहासमै सर्वाधिक उच्च बिन्दुमा पुग्यो । अघिल्लो वर्षको तुलनामा यो संख्या २५ प्रतिशतले बढी हो ।


सन् २०१६ मा विदेशी पर्यटक बोक्नेको सूचीमा पहिलो स्थानमा रहेको नेपाल एयरलाईन्स रहेको थियो । सन् २०१७ मा जेट एयरवेजले पहिलो स्थान ओगट्न सफल भयो । सन् २०१८ मा विदेशी पर्यटकको संख्यामा नयाँ रेकर्ड कायम भयो । ११ लाख ७३ हजार ७२ जना पर्यटक भित्रिँदा सो वर्ष २४.७७ प्रतिशतले वृद्धि भएको देखिन्छ । पर्यटनमैत्री वातावरण बन्दै गएकाले पर्यटकको संख्या बढ्दो क्रममा रहेको विज्ञहरु बताउँछन् । सन् २०१९ को जुन महिनासम्म ५ लाख ८५ हजार ५३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांक छ । यो संख्या गतवर्ष सोही अवधिको तुलनामा १०.८ प्रतिशतले बढी हो ।


यद्यपि पर्यटक संख्याको हिसाबले भ्रमण वर्षको लक्ष्य भेटाउन मुस्किल हुने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । संख्या पुर्‍याउने भन्दा पनि पर्यटकको नेपाल बसाई लम्ब्याउने र औसत खर्च बढाउने रणनीति अनुरुप कार्यक गर्नुपर्ने उनीहरुको मत छ । 

 

कुन वर्ष कति आम्दानी?

सन् २०१४ मा ७ लाख ९० हजार ११८ जना पर्यटकबाट कुल ४७ अर्ब १७ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो । यो आम्दानीलाई सरकारले सन्तोषजनक मानेको थियो । सन् २०१५ मा आइपुग्दा पर्यटक आगमनको करिब साढे दुई लाखको संख्यामा घट्यो । सो वर्षको आम्दानी ४८ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ छ ।


सन् २०१७ मा पर्यटन क्षेत्रबाट कुल ५५ करोड १० लाख अमेरिकी डलर आम्दानी भएको छ । यो कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशत हो । सन् २०१८ मा कुल ६९ अर्ब ७५ करोड ५ लाख ८४ हजार रुपैयाँ आम्दानी भएको छ । गतवर्ष पर्यटकको संख्या बढे तापनि उनीहरुले गर्ने औसत खर्च भने १८ प्रतिशतले घटेको छ ।


नेपाल सरकारले वि.सं. २०७३ साल असार ३१ गते दशवर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) पारित गरी कार्यान्वयनको चरणमा रहेको छ । उक्त योजनाले १० वर्षको अवधिमा २५ लाख २२ हजार पर्यटक भित्र्याउने र पर्यटनबाट हुने आम्दानी साढे ३ खर्ब पुग्ने लक्ष्य लिएको छ । पहिलो चरणमा (२०१६–२०२० भित्र) पर्यटकको संख्या १३ लाख ३९ हजार र औसत नेपाल बसाई १४ दिन पुर्‍याउने सरकारी लक्ष्य छ । योजनामा सन् २०२० सम्ममा पर्यटकबाट हुने आम्दानी कुल गार्हस्थको योगदान ४.९४ प्रतिशत पुग्ने उल्लेख गरिएको छ ।


दोस्रो चरणमा सन् २०२१ देखि २०२५ सम्म पर्यटकको संख्या २५ लाख २२ हजार र औसत बसाई १५ दिन बनाउने लक्ष्य छ । यो अवधिमा पर्यटन उद्योगबाट वार्षिक ३ बिलियन ४०१ मिलियन डलर आम्दानी गर्ने र जीडीपीमा ९.२९ प्रतिशत योगदान पुग्ने रणनीतिक योजनाको लक्ष्य छ ।

 

केही प्रश्नहरु

नेपालले कतार लगायतका खाडी मुलुकका अरेबिकलाई पर्यटक भनेर चिन्न सकेको छैन। खाडी मुलुकका अत्यधिक खर्च गर्नसक्ने पर्यटक ल्याउन नेपालले किन सक्दैन? कतारलाई आफ्नो कर्मथलो बनाएका प्रोफेशर मोहम्मद रमजान अलि मियाँले केही समयअघि बिजपाटीसँगको कुराकानीमा उठाएको प्रश्न हो यो । यो प्रश्‍नले हाम्रो परिभाषाको पर्यटक को हो? , हाम्रो उद्योगको लक्षित पर्यटक को हुन्? भन्ने प्रश्‍न खडा गरिदिएको छ ।

नेपाल भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य भन्छन्, ‘नेपाल भ्रमण वर्ष २०२० यौटा अभियान नभएर राष्ट्रको विकासका लागि रणनीति बन्‍नुपर्छ । त्यसैको लागि सरकारी, निजी क्षेत्र र नागरिक समाजको प्रयत्‍न रहनुपर्छ ।‘ संयोजक वैद्यले भनेजस्तै राष्ट्रको विकासको लागि पर्यटन उद्योगलाई उठाउन हो भने कुनै भ्रमण वर्ष घोषणा गरिनु वा त्यसको लक्ष्य प्राप्तिमा केन्द्रित हुनु आवश्यक छैन । बरु सिङ्गो पर्यटन क्षेत्रको दिगो विकासका बारेमा सोचेर नीति र योजना निर्माण गर्नुपर्दछ ।


नेपालको पर्यटन क्षेत्रबाट आफुले गरेको अपेक्षाबारे काठमान्डौं मेरियट होटलका जनरल म्यानेजर जिन लुइसको भनाई छ, ‘मलाई लाग्छ कि नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई सुन्दर पर्वतहरुको आरोहणका लागिमात्रै नभएर यहाँको सम्पन्‍न संस्कृति र सम्पदाहरुको लागि भ्रमण गर्नुपर्ने राष्ट्रको रुपमा हाइलाइट गरिनुपर्छ ।‘ लुइसले भनेजस्तै हामीले नेपालीपनलाई जीवन्त राख्दै हाम्रो साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्नसके पर्यटन क्षेत्रले पक्कै गति लिन्छ । तर, के हामी त्यसको लागि तयार छौं ? पहाडका ट्रेकिङ ट्रेलमा डोजर चलाउने सोचले हामीलाई लामो समयसम्म पर्यटन गन्तव्यको रुपमा रहिरहन सघाउला? यी प्रश्नहरुको उत्तर खोज्‍नु जरुरी छ । अन्यथा, हाम्रो अपेक्षा, कथनी र करनीको तालमेल नहुने पक्का छ ।

 

यिनै सन्दर्भहरुमा केन्द्रित रही हाम्रो टिमले नेपालको पर्यटन उद्योगको विकासका लागि ध्यान पुर्‍याउनुपर्ने विषयबारे विचारको मन्थन गर्नेछ । भ्रमण वर्षभरी नै ‘भिजिट नेपाल २०२०’ सँगसँगै बिजपाटी डटकमको सवाल २०२० निरन्तर रहनेछ । यसमा पाठकवृन्दको सक्रिय सहभागीताको अपेक्षा गर्दछौं । - सम्पादक

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved