भर्ना अभियानको प्रभाव : चार लाख नयाँ विद्यार्थी विद्यालयमा, एक लाख अझै बाहिर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 02:14:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म चार लाख नयाँ विद्यार्थी विद्यालय भर्ना भएको मन्त्रालयले जनाएको छ । अझै एक लाख विद्यार्थी विद्यालय बाहिर रहेको पाइएको छ । 

पहिलो चरणमा वैशाख दोस्रो हप्तासम्म भर्ना अभियान सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । दोस्रो चरणको अभियानमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । पहिलो चरणमा मन्त्रालयले विद्यार्थीलाई आफैँ विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए । 

प्रवक्ता अर्यालले पहिलो चरणमा चार लाख ३९ हजार ३ सय २३ जना विद्यार्थी भर्ना गरिएको जानकारी दिए । वैशाखम मसान्तसम्म सञ्चालन हुने भर्ना अभियानमा करीब ६ लाख विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको बताए । प्राथमिक तहसम्म अध्ययनको उमेर समूहका २.८ प्रतिशत र आधारभूत तहसम्म अध्ययनको उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको मन्त्रालयको तथ्याङ्क छ । 

मन्त्रालयले यसपटक सबै बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि पाठ्यपुस्तकसहित ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ भर्ना अभियान सञ्चालन गरेको छ । मन्त्रालयले विपन्न गरीब, दलित, लोपोन्मुख, पिछडिएका बालबालिकालाई भने पोशाकसहित पाठ्य पुस्तक समेत उपलब्ध गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved