अब के बन्न के पढ्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 09:23:55 AM मा प्रकाशित

laxmi  sunrise bank

एलएलसी उत्तिर्ण गरेका विद्यार्थीहरु यतिबेला के पढ्ने ? कहाँ पढ्ने ? र आफू भविष्यमा अंगाल्न चाहेको पेशाका लागि कुन विषय पढ्ने ? भन्ने अन्यौलमा छन् ।

यो विषय हेर्दा सामान्य लागेपनि यसको राम्ररी ख्याल नगर्दा पछुटाउने विद्यार्थीहरुको संख्या बढ्दो छ । विशेषगरी ग्रामीण क्षेत्रबाट उच्च शिक्षाका लागि सहर पसेका विद्यार्थीहरु संकाय, कलेज र विषय छनौटमा निकै अलमलमा पर्ने गर्छन । विस्तृत जानकारीको अभावमा उनीहरु अपर्झट विषय/संकाय छनौट गर्न पुग्छन् । जसले उनीहरुको भविष्यमा समेत नराम्ररी प्रभाव पार्ने गर्दछ ।

साधारणतयाः कार्यालय संचालन, व्यापार व्यवसायका लागि व्यवस्थापन, शिक्षण पेशामा लाग्नका लागि शिक्षा संकाय र इञ्जिनियर डाक्टर लगायतका पेशामा लाग्नका लागि विज्ञान संकाय पढ्नुपर्छ भन्ने चेतना अधिकांश विद्यार्थी अभिभावकमा पुगेको छ । तर ति संकायहरु भित्र के कस्ता विषयहरु हुन्छन र ति संकाय अध्ययन गर्दा कुन कुन पेशामा लाग्न सकिन्छ भन्ने विषयमा पनि बुझ्न जरुरी छ ।

यसका साथै आफूले अध्ययन गर्न चाहेको विषयहरु आफूले छनौट गर्न लागेको कलेजमा छन कि छैनन् भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।

यस वारेमा राम्रो जानकारी नलिने र राम्ररी अध्ययन नगरी संकाय छनौट गर्दा आफ्नो रुची अनुरुपको विषय पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था पनि आउन सक्छ । सवै संकाय र विषय उत्तिकै महत्वपूर्ण भए पनि आफ्नो इच्छा, चाहना अनुरुपको विषय र संकाय छनौट गर्नुपर्छ । आफूले छनौट गरेको संकायभित्र आफूले पढ्न चाहेको विषय छन कि छैन भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । संकाय, विषय र कलेज छनौट गर्दा जहिले पनि आफ्नो अभिभावक, अग्रज र शिक्षकहरको सल्लाह लिनुपर्छ ।

ब्यवस्थापन संकाय

व्यवस्थापन संकायको कार्यक्षेत्र व्यापक छ । यदि तपाई कुनै कार्यालयको व्यवस्थापक बन्न चाहनु हुन्छ, प्रोजेक्ट मेनेजर बन्न चाहनु हुन्छ, व्यवसायीक क्षेत्रमा रमाउन चाहनु हुन्छ भने यो संकायमा भर्ना हुन सक्नु हुन्छ । व्यवसायीक जगतमा सफलता प्राप्तीका लागि यसको अध्ययन महत्वपूर्ण छ । यसका साथै दक्ष लेखा परिक्षक बन्न चाहनु हुन्छ अथवा बजारीकरण (मार्केटिङ) मा रुची राख्नु हुन्छ भने पनि तपाईका लागि यो संकाय उपयुक्त हुन्छ ।

ब्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा समेत गरी लेखाशास्त्र, अर्थशास्त्र, बजारशास्त्र, ओएमएसपी, बुम, होटल म्यानेज्मेन्ट, ट्राभल एन्ड टुरिजम, कम्प्युटर साइन्स, गणित, फाइनान्स, सहकारी ब्यवस्थापन, बिजनेस म्याथ विषयहरु अध्ययन गर्नु पर्नेछ ।

हरेक वस्तु तथा सेवाको उत्पादन, विक्रि वितरण, मूल्य निर्धारण, प्रवद्र्धन, बजारीकरण, कर, व्यवसायीक नीति, रणनीति, मानव संसाधन व्यवस्थापन, लेखा प्रणाली आदि कुराहरु यसमा पर्छन । उत्पादन मुलक, विक्रिवितरण, प्रवद्र्धन लगायत व्यवसायीक क्षेत्रका हरेक गतिविधिहरु यस भित्र पर्छन । यसका साथै पर्यटन, कम्प्युटर र होटल मेनेज्मेन्टका केही अंशहरु समेत पढ्न पाइन्छ ।

यो संकाय बृहत भएकाले हरेक पक्षसँग सरोकार रहेको हुन्छ । जस्तो विद्यालय शिक्षाशास्त्रसँग सम्वन्धित भए पनि विद्यालय संचालनका लागि कार्यालय स्थापना गर्नुपर्ने हुन्छ जुन व्यवस्थापनसँग सरोकार छ । यो संकाय आर्थिक कारोवार र कार्यालय संचालनसँग सम्वन्धित भएकाले पनि हरेक तह तप्का र क्षेत्रमा समावेश हुन्छ । संचारगृह मानविकीसँग सम्वन्धित क्षेत्र हो तर यसमा पनि व्यवस्थापन संकायको भूमिका महत्वपूर्ण हुन्छ । संचार माध्यममा विज्ञापन विभागमा काम गर्न र कार्यालयमा काम गर्न व्यवस्थापन संकायको अध्ययन आवश्यक छ ।

विज्ञान संकाय

पछिल्लो समय धेरैको रोजाई बनेको विज्ञान संकाय अध्ययन गर्न आर्थिक हिसावले अलि बढी मजबुद हुनुपर्छ । यसका साथै एसएलसीको नतिजा पनि उत्कृष्ठ हुनु जरुरी छ । यो संकायको अध्ययन गर्नु अहिले सामाजिक मर्यादाको विषय समेत बन्न पुगेको छ । विज्ञान संकाय अन्तर्गत रोजगारीको राम्रो अवसर भएकाले पनि यसतर्फ विद्यार्थी अभिभावकहरुको आकर्षण बढ्दो छ ।

यदि तपाई भविष्यमा पाइलट, डाक्टर, इन्जिनियर, वैज्ञानिक बन्न चाहनु हुन्छ भने तपाईले विज्ञान संकायमा भर्ना हुनुपर्छ । यसमा जनरल, कम्प्युटर र एग्रिकल्चर गरी तीन खण्डमा अध्ययन गर्नुपर्छ । तीनै खण्डमा गरी रसायन विज्ञान, भौतिक विज्ञान, जीव विज्ञान, गणित, अतिरिक्त जीव विज्ञान, कृषि, कम्प्युटर साइन्स लगायतको अध्ययन गर्नुपर्छ । विज्ञान संकाय अन्तर्गत पछिल्लो समय कम्प्युटर विज्ञानतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।

शिक्षा संकाय

यदि तपाई शिक्षण पेशामा लाग्न चाहनु हुन्छ भने तपाईले यो संकाय अध्ययन गर्नुपर्ने हुन्छ । अन्य संकाय अध्ययन गर्दा शिक्षण लाइसेन्स नपाइने भएकाले यो संकाय पढ्नु अनिवार्य छ । यो संकायमा अनिवार्य विषयको रुपमा नेपाली र अंग्रेजी रहेको छ भने ऐच्छिक विषयहरुमा इन्ट्रडक्सन टु एजुकेशन, टिचिङ म्याथ्मेटिक्स, टिचिङ इंग्लिस, टिचिङ नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेशन रहेका छन ।

त्यस्तै कक्षा १२ मा अनिवार्य अंग्रेजी, बाल विकास तथा सिकाई, इन्स्ट्रक्सनल इभ्यालुसन, टिचिङ सोसियल स्टडिज, टिचिङ साइन्स, म्याथ्मेटिक्स, हेल्थ एन्ड फिजिकल एजुकेशन र अंग्रेजी लगायतका विषयहरु अध्ययन गर्नु पर्नेछ ।

शिक्षण पेशालाई बुद्धिजिवी र समाजमा प्रतिष्ठित पेशाको रुपमा लिइन्छ । यो पेशा पछिल्लो समय रोजगारीको राम्रो क्षेत्र समेत बन्न पुगेको छ । अन्य संकाय अध्ययन गरेकाले शिक्षण पेशामा लाग्न नपाउने भएकाले पनि शिक्षा संकाय अध्ययन गर्नेहरुका लागि अवसरको ढोका खुलेको छ ।

मानविकी संकाय

बृहत कार्य क्षेत्र समेटिएको मानविकी संकायमा पनि अवसरको खाँचो छैन । यसको अध्ययन पश्चात पत्रकारिता, राजनीति, भाषा, समाजशास्त्र, वातावरण, अर्थशास्त्र, संगीत, मनोविज्ञान, नीतिशास्त्र साहित्य लगायतका क्षेत्रमा लाग्न चाहनेहरुका लागि यो संकाय अध्ययन गर्न जरुरी छ ।

राजनीति विज्ञान, गृह विज्ञान, अर्थशास्त्र, सामाजिक शास्त्र, जनसंख्या, पत्रकारिता, फिलोसोफी, इतिहास, संस्कृति, म्युजिक, नृत्य, मनोविज्ञान, नेपाली, मैथिली, नेवारी, हिन्दी, फ्रेन्च, अंग्रेजी, उर्दु, जाप्निज, उर्दु, रुरल डेभ्लोप्मेन्ट, इन्भाइरोन्मेन्ट एजुकेशन, ज्योतिष, साहित्य, न्याय, नीतिशास्त्र, लाइब्रेरी, इन्फरमेशन साइन्स, जियाग्राफी लगायतका विषयहरु अध्ययन गर्नु पर्नेछ ।

यो संकायमा अवसरको क्षेत्र फराकिलो रहेको छ । पछिल्लो समय एनजिओ र आइएनजिओहरुमा समेत थुप्रै माग हुने गरेको सोसोलोजी पनि यसै भित्र पर्छ । नीतिशास्त्र, भाषा साहित्य र फिलोसोफी क्षेत्रमा रुची भएकाहरुले पनि मानविकी संकाय रोज्नुपर्छ ।

लोकसेवामा समेत अवसर भएको पुस्तकालय यसै अन्तर्गत पर्छ । त्यस्तै गृह विज्ञान, इतिहास, संस्कृति अध्ययन गर्न चाहनेहरुका लागि पनि यो संकाय अध्ययन गर्न जरुरी छ । त्यस्तै गरेर पछिल्लो समय रोजगारीको राम्रो क्षेत्र मानिने ‘रुरल डेम्लोपमेन्ट’ पनि यसै अन्तर्गत पर्छ । पत्रकारितामा लाग्न चाहने र राजनीति गर्न चाहनेहरुले पनि मानविकी संकाय नै अध्ययन गर्नुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved