डा केसीसंगको सहमतिपछी के हुन्छ दुर्गा प्रसाइँको बीएन्डसी र मनमोहन मेडिकल कलेज ?

उपेन्द्रको मेडीसिटि र अन्सारीको नेशनल मेडिकलको बाटो बन्द
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 27, 2018 | 08:54:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तत: आशयपत्र पाइसकेका मेडिकल कलेजलाई काठमाडौं बाहिर जान प्रोत्साहन गर्ने र जान नचाहनेलाई आपसी सहमतिमा सरकारले किन्ने सहमतिसंगै डा गोबिन्द केसीको २७ दिने अनसन बिहिबार मध्यराति तोडिएको छ। 

९ बुँदे सहमतिपछि डा. केसीले माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हातबाट जुस पिएर १५ औं अनसनको सुखद अन्त्य भएको छ। 

डा केसीको मागअनुसार नयाँ मेडिकल नखोल्न तयार भएपछि सम्झौता भएको हो। सहमतिमा डा केसी आफैंले हस्ताक्षर गरेका छन्।  अनसन तोडेपछि डा केसीलाई शिक्षण अस्पतालको आइसियूमा लगिएको छ।  

ड़ा केसीसंगको सहमतिले मेडिकल कलेज खोल्न सम्बन्धन पाउन आतुर झापा स्थित बिएन्डसी अस्पताल र स्वयम्भूस्थित मनमोहन स्मृति अस्पतालको भविष्य छिनोफानो भएको छ।  

सहमति अनुसार बिएन्डसी अस्पताल राजधानी बाहिर भएको र मेडिकल कलेज भएकाले उसले सम्बन्धन पाउन सक्छ भने मनमोहनको हकमा मेडिकल कलेज संचालन गर्ने बाटो लगभग बन्द भएको छ। 

विधेयकको दफा १२ को संशोधनमा ‘ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजको आशय पत्र प्रदान नगरिने’ व्यवस्था हुनेछ।

उक्त बिधेयकको दफा १२ को संसोधनमा उल्लेख व्यवस्था अनुसार मनमोहनसंग अब दुई विकल्प शेष छन। पहिलो, आफ्नो सम्पतिको मुल्यांकन गर्ने र सरकारलाई बेच्ने। दोस्रो, चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गरि सरकारले दिने प्रोत्साहन सुविधा लिने। 

सम्पति पनि नबेच्ने र आयोगले तोकेको क्षेत्रमा स्थानान्तरण गरेर मेडिकल कलेज पनि नचलाउने हो भने मनमोहनले अहिले जस्तै काठमाडौंमै अस्पताल चलाउन पाउनेछ तर अबको दश बर्षसम्म मेडिकल कलेज संचालन गर्न पाउनेछैन। किनकि प्राबधान अनुसार आशय पत्र पाइसकेका मनमोहन वा कुनै पनि अरु अस्पतालले आउने १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न पाउने छैनन्।   

तर झापास्थित बिएन्डसीलाई भने भविष्यका निम्ति मेडिकल कलेजको बाटो खुलेको छ। ऐनले कुनै पनि विश्वविद्यालयलाई पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन रोक लगाए पनि काठमाडौं बाहिरका अस्पतालका हकमा भने आयोगले निर्णय बाटो खुला राखेको छ। चिकित्सा शिक्षा आयोगले नै काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने नीति तर्जुमा गर्नेछ। आयोगले स्वीकृति दिएमा बिएन्डसीले मेडिकल कलेजको सम्बन्धन पाउन सक्नेछ।  

उपेन्द्र महतो र बसरुद्धीन अन्सारीको योजनामा तुषारापात 

काठमाडौंमै मेडिकल कलेज संचालन गर्ने आकांक्षी उपेन्द्र महतोको नेपाल मेडिसिटी र बसरुद्धीन अन्सारीको काठमाडौं नेसनल मेडिकल अस्पतालको पनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने बाटो दस वर्षका लागि बन्द भएको छ।

व्यवसायी महतोले नख्खुमा ठूलो लगानीमा खोलेको नेपाल मेडिसिटीमा र नेकपाका नेता तथा वीरगञ्ज महानगरपालिकाबाट गत चुनावमा मेयर उम्मेदवार अन्सारीले घट्टेकुलोमा खोलेको काठमाडौं नेसनल मेडिकल अस्पतालमा मेडिकल कलेज चलाउने योजना बुनेका थिए।      

मेडिसिटीले गत असोजदेखि अस्पताल संचालन गरिरहेको छ भने नेसनल अस्पताल सुरुदेखि नै बिरामी नआएर चल्न सकेको छैन। सो अस्पताल अहिले पूर्णरुपमा बन्द छ।

मनमोहनको बिकल्प के ?

अबको दश बर्षसम्म मेडिकल कलेज संचालन गर्न नपाउने र काठमाडौं बाहिर स्थानान्तरण गरि तोकिएको क्षेत्रमा मेडिकल कलेज खोल्न कठिन हुने भएकाले सम्भवत: मनमोहनले मूल्यांकन गरि सरकारलाई नै सम्पति बेच्न सक्नेछ। 

केपी ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला मनमोहन अस्पताल सरकारलाई बेच्ने सहमति भएको थियो। मनमोहनलाई वीर अस्पताल मातहतको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले किन्ने र सो प्रतिष्ठानको नाम मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने सहमति समेत भएको थियो। यस अर्थमा सम्भवत मनमोहनलाई सरकारले किन्न सक्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved