घरबाटै उच्च शिक्षाको सुविधाले खुला विश्वविद्यालयमा बढ्दो आकर्षण, १ बर्ष मै डिप्लोमा कोर्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2019 | 09:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

घर मै बसेर पीएचडिसम्मको उच्च शिक्षा हासिल गर्न मिल्ने नेपाल खुला विश्वविद्यालय (एनओयु) मा विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको छ । नियमित कलेज जान नपाउने तर उच्च शिक्षा हासिल गर्न चाहनेलाई लक्षित गरेर स्थापना भएको यस विश्वबिद्यालयमा हाल १ हजार भन्दा बढी विद्यार्थी अध्ययरत छन् । 

खुला  शिक्षा  प्रणालीद्वारा विभिन्न विषयमा उच्च स्तरीय अध्ययन,  अध्यापन तथा अनुसन्धान गर्ने, गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको हो । यस विश्वबिद्यालयमा विद्यार्थीहरुले घर मै बसेर प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट कक्षा लिन्छन । सुरुमा नयाँ भएकोले यसको मान्यता लगायतका बिषयमा प्रश्न उठ्ने गरेको भए पनि अब भने त्यस्तो समस्या नरहेको विश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा लेखनाथ शर्मा बताउछन् । 

कतिपयले एनओयुमा पढ्दा त्रिभुवन विश्वविद्यालयले मान्यता दिन्छ भन्ने प्रश्न राख्छन । तर यो नेपाल सरकारले छुट्टै ऐनको अधिनमा रहेर आफै स्थापना गरेको विश्वबिद्यालय हो ।  अर्थात् यो सरकारले नै स्थापना गरेको सरकारी विश्वविद्यालय हो जसका कुलपति नेपाल सरकारका शिक्षा मन्त्री रहने ब्यबस्था छ । यहाँ कार्यरत सबै सरकारी कोषबाट नै तलव खाने हुन् ।  अर्थात् यसलाई टियु वा अरु कसैले मानयता दिईराख्नु पर्दैन ।  यो आफैमा छुट्टै विश्वविद्यालय हो । 


कसरी दिने आवेदन ? 

विश्वबिद्यालयमा पढ्नको लागि आवेदन दिनको लागि विश्वबिद्यालयमा धाईरहनु पर्ने बाध्यता छैन । भर्ना आवेदन शुल्क अनलाईनबाटै बुझाउने ब्यबस्था छ भने आवश्यक सर्टिफिकेट पनि अनलाइनबाट नै बुझाउन सकिन्छ । भर्ना प्रक्रियामा विश्वविद्यालयले ईमेल मार्फत सघाउछ र भर्ना भईसकेपछि त्यसको जानकारी विद्यार्थीलाई गराउछ  । यी सबै काम अनलाइन मार्फत नै हुन्छ । 


कसरी पढ्ने ? 

भर्ना भई सकेपछि एनओयुले विद्यार्थीहरुको लागि २ दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्छ । यसमा भाग लिन भने विश्वबिद्यालयले तोकेको स्थानमा जानै पर्छ । यसमा विद्यार्थीलाई विद्यार्थी पढ्न लागेको बिषय र अनलाइनबाट कक्षा लिने तरिका सिकाइन्छ । तर यो अभिमुखीकरण कार्यक्रम छुट्दैमा पढ्न नै नपाइने भने होइन । 

दिनभर आफ्नै काममा व्यस्त भई पढाईमा समय दिन नसक्नेहरुको लागि यो बढी लक्षित छ । यसको कक्षाहरु सामान्यतया जाडोयाममा बेलुका ६ देखि ९ र गर्मियाममा  ७ देखि १० सम्म हुन्छ । तर कोर्स र लेभल अनुसार यो फरक पर्न सक्छ । विद्यार्थीहरुले अनलाइन मार्फत कक्षा लिन्छन । जसको लागि एनओयुले अनलाइन प्लेटफर्म उपलब्ध गराई हरेक विद्यार्थीलै छुट्टै आईडी र पासवर्ड दिइएको हुन्छ । त्यसमा लगइन गरेर विद्यार्थीले लाइभ कक्षा लिन्छन । अन्य स्कुल कलेजको कक्षा जस्तै यसमा पनि शिक्षक र विद्यार्थीबीच इन्टरर्याक्सन हुन्छ । शिक्षकले अनलाइनबाट पढाईरहेकै बेला विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन  । कुन विद्यार्थी क्लासमा  आयो , को आएन सबै सिस्टम मै रेकर्ड हुन्छ । 

विशेष कारणवश अनलाइन कक्षा लिन नसक्नेहरुको लागि पुरै क्लास नै रेकर्ड भएर बसेको हुन्छ । विद्यार्थीले जुनसुकै बेला रेकर्ड गरिएको क्लास हेर्न सक्छन ।  यसमा पढ्नको लागि इन्टरनेट अनिवार्य चाहिन्छ । 

कतिपय विद्यार्थीहरुमा एनओयुमा भर्ना गरेपछि स्वतः सर्टिफिकेट पाइने भ्रम रहेको पाईएको विश्वविद्यालयका उपकुलपति शर्मा स्वीकार गर्छन । तर गुणस्तरमा विश्वविद्यालयले कहिल्यै पनि सम्झौता नगर्ने उनी बताउछन् । उनका अनुसार विद्यार्थीले नियमित रुपमा क्लास एसाइनमेन्ट अर्थात् गृहकार्य गर्नु पर्छ । गृहकार्य नगर्नेहरु 'एनक्यु' मा पर्छन । 'एनक्यु' को अर्थ हुन्छ 'नट क्वालीफाईड' अर्थात् अयोग्य । यी विद्यार्थीहरुले अन्तिम परीक्षामा भाग लिन पाउदैनन् । उनीहरुले अर्को बर्ष फेरी भर्ना गरेर पढ्न सुरु गर्नु पर्छ । 

तर नियमित गृहकार्य गर्ने र नियमित क्लासमा आई पनि फेल हुनेले भने पुन अर्को बर्ष सोहि परीक्षा दिन पाउने छन् । गृहकार्य पनि अनलाइनको माध्यम बाट नै बुझाउनु पर्छ । लेखेको फोटो खिचेर, स्क्यान गरेर, टाइप गरेर एसाईनमेन्ट बुझाउन सकिने विकल्प खुला छन् । विद्यार्थीलाई आवश्यक परे उसले शिक्षकसँग सम्पर्क गरेर थप समय पनि लिन सक्छ । त्यस्तै विश्वविद्यालयले समस्या समयमा आवश्यकता अनुसार 'कनट्याक सेसन' को आयोजना गर्छ जहाँ विद्यार्थी र शिक्षकले कठिन लागेका शिर्षकमा थप छलफल गर्छन । साथै गेस्ट लेक्चररको व्यवस्था पनि विश्वबिद्यालयले गर्छ । 

अन्तिम परीक्षाको लाही भने विश्वविद्यालयले तोकेको केन्द्र मै जानु पर्छ । अन्तिम परीक्षाको ६० प्रतिशत र इन्टरनलको ४० प्रतिशतलाई जोडेर ग्रेडिङ सिस्टममा नतिजा सार्वजनिक हुन्छ ।

उपकुलपति शर्माका अनुसार हाल विश्वविद्यालयले ३ वटा फ्याकल्टी अन्तर्गत १७ वटा कोर्स संचालन गरिरहेको छ ।  आगामी अगस्टबाट आमसंचारका केहि कोर्ष थप गर्ने तयारी विश्वबिद्यालयको छ । साथै पीएचडिको कोर्स पनि संचालन गर्ने अन्तिम तयारीमा विश्वविद्यालय छ ।  

विश्वविद्यालयले 'स्किल बेस्ड' कोर्स पनि संचालन गर्ने तयारी गरेको छ । ६ महिने सर्टिफिकेट कोर्स र १ बर्षे डिप्लोमा कोर्स सुरु हुन लागेको हो । यसमा १२ पास गरेका विद्यार्थीहरुले छोटो समयको कोर्स गर्न सक्ने छन् । हाल १ बर्षे लाईब्रेरी एण्ड इन्फर्मेसन नामको १ बर्षे कोर्स संचालनमा छ । यो पास गरेपछि विद्यार्थी त्यस सेक्टरमा काम गर्न योग्य रहन्छ । निकट भविष्य मै  यस अन्तर्गत टुरिस्ट गाइड, भिडीयोग्राफी, फोटोग्राफी, टेलिकास्ट, लगायतका तेक्निल कोर्सहरु संचालन गर्ने तयारी छ । 

साथै विश्वविद्यालयले इन्जीनियरीङका केहि कोर्ष र हेल्थ साइन्स सम्बन्धि कोर्स हरु पनि थप्ने तयारी गरिरहेको छ। हाल विश्वविद्यालय भाडाको घरमा बसेको र यो साँघुरो भएकोले विश्वविद्यालयले यसको विकल्प पनि खोजिरहेको छ । साथै हाल विभिन्न विश्वविद्यालयका प्रोफेसरले पार्टटाइमरको रुपमा पढाउदै आएकोमा अब आफ्नै फुल टाइम फ्याकल्टी राख्ने तयारी छ । 

त्यस्तै विदेशमा  हुने नेपालीहरुले पनि पढ्नको लागि चासो देखाएकोले त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेपनि विश्वविद्यालयले छलफल गरिरहेको उपकुलपति शर्मा बताउछन् । अन्तिम परीक्षा केन्द्र मै आएर दिनु पर्ने र भनेको बेला नै विदेशबाट आउँन नमिल्ने भएकोले केहि जटिलता देखिएको उनले बताए । यद्यपि सरकारी तवरबाट नै परीक्षा दिने बिषय सम्बोधन भए विदेशमा रहेका नेपालीले मात्र नभई विदेशी नागरिकले पनि आफ्नै देशबाट सहजै यसमा पढ्न सक्छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved