दशैंपछि नेपाली कामदार मलेसिया जान पाउने, कात्तिक १२ गते एमअाेयूमा हस्ताक्षर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 01:16:02 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंपछि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ। श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले आइतबार एनआरएएनएका पदाधिकारीहरुसँगको छलफलमा आउँदो कात्तिक १२ देखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने बताएका हुन। 

दाहालले मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने बताएका हुन। 

एमओयूको मस्यौदामा गत असोज १२ गते नै नेपाल र मलेसियाबीच सहमति जुटेको थियो। मलेसिया जाने कामदारसँग चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो। 

कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गर्ने र नेपालीलाई शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने लगायतका बिषयहरु एमओयूको मस्यौदामा समावेश गरिएको बताइएको छ। त्यस्तै म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने बताइएको छ। तर त्यो पैसा रोजगारदाताले नै तिर्नेकी कामदारको तलबबाट काट्ने भन्ने बारे यकिन हुन सकेको छैन। यद्दपी एमओयूको मस्यौदामा रोजगारदाता कम्पनीले नै तिर्ने उल्लेख भएको बताइएको छ। 

यता सरकार बैदेशिक रोजगारीको क्षेत्रमा एकलौटी रुपले अगाडी बढेको भन्दै बैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनको तयारि थालेको छ। आफ्ना १७ बुंदे माग सम्बोधन नभए मङ्सिर २५ पछि आन्दोलन थाल्ने संघले बिज्ञप्तीमार्फत जनाएको छ।

मलेशिया जाने नेपाली कामदारसँग विभिन्न शिर्षकमा अवैध शुल्क लिएको भन्दै सरकारले रोजगारीका लागि मलेशिया जान रोक लगाएपछी ४ महिना यता मलेशियाका लागि श्रमिक आपूर्ति ठप्प भएको छ। सरकारको उक्त निर्णयका कारण मलेसिया जाने तयारीमा रहेका ९ हजार बढी नेपाली कामदार प्रभावित भएका छन। 

नेपाल र मलेशियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको छैन । दुई मुलुकबीच पटकपटक श्रम सम्झौताको प्रयास भए पनि अहिलेसम्म त्यसले मूर्त रुप पाउन सकेको छैन ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved