कतारमा काम गर्न जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखी कतारले काठमाडौंमै सर्भिस सेन्टर स्थापना गरेको छ। कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंको महाराजगन्ज चक्रपथ स्थित सेलवेस बिल्डिङ्ग को दोस्रो, तेस्रो र चौथो तलामा आफ्नो सर्भिस सेन्टर स्थापना गरेको हो।
उक्त सर्भिस सेन्टरको उद्घाटन २५ नोभेम्बर २०१८ मा हुने जनाइएको छ। सो भवनमा १८ वटा मेडिकल काउन्टर र १० वटा फिङ्गर पृन्ट काउन्टर तथा सम्झौता पत्र बुझ्ने काउन्टर स्थापना हुने काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।
कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ।
यस नयाँ पद्धतिले गर्दा अब बिदेशमा स्वास्थ्य परिक्षणमा अनुत्तीर्ण भएर फर्कने र ठुलो धनराशि खेर जाने समस्या नितान्त रुपमा खारेज जस्तै हुनेछ। बिगतमा कतारमा रहेर कुनै मुद्दा मामिला वा कुनै कानुनी समस्या भएर फिङ्गर प्रीन्ट क्लिएर नहुने र अकामा आवासिय भिसा नलाग्ने र स्वदेस फर्किनु पर्ने समस्याको पनि अन्त्य हुनेछ।