नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको लागि कलिङ भिषा आएका कामदारलाई एक हप्ता भित्र श्रम स्वीकृति प्रदान गर्नको लागि सरकारलाई अनुरोध गरेको छ।
संघले आज एक बिज्ञप्ती जारि गरि मंसिर १९ गतेभित्र मलेसियाको कलिङ भिषा प्राप्त गरेका कामदारको श्रम स्वीकृति खुला गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
नेपाल र मलेसिया सरकारबीच नया प्रकृयाबाट कामदार पठाउने सहमति भएको महिना दिन बित्दा समेत कलिङ भिषा आएका कामदारलाई मलेसिया पठाउन सरकारले चाँसो नदिएको भन्दै संघले सरकारको ध्यानकर्षण गराएको संघको भनाई छ। दुवै देशबीच गत मङ्सिर १२ गते एक सम्झौतामा सहमति भएको थियो।
करिब महिना दिनअघि अक्टुबर २९ मा नेपाल र मलेसिया सरकारबीच “कलिङ भिषा प्राप्त नेपाली कामदारहरुलाई मलेशियामा काम गर्न जानलाई श्रम स्वीकृती दिन नेपाल सरकार मन्जुर गर्दछ” भन्ने लिखित सहमति भएको संघको दाबि छ। उक्त सहमतिमा मन्त्रालयका सह–सचिव र मलेशियाका उप–सचिवले हस्ताक्षर गरे पनि आज सम्म मलेशिया कामदार पठाउन खुल्ला नगरिएकोले मलेशियाको कलिङ भिषा प्राप्त भएका हजारौं कामदार मलेशिया जान नपाएकोमा संघले आपत्ति जनाएको छ।
त्यस्तै राजदुतावासबाट डिमाण्ड प्रमाणित भईसकेको अवस्थामा समेत व्यवसायीले पूर्व स्वीकृती लिन नपाएको संघको गुनासो छ। सरकारको ढिला सुस्तीले मलेसिया जाने पर्खाईमा रहेका हजारौं कामदार, वैदेशिक रोजगार व्यवसायी र अन्य सम्बन्धित व्यक्तिहरुमा निराशा तथा अन्यौल छाएको संघले जनाएको छ।
गत जेठ ३ गते सामाजिक सुरक्षा तथा श्रम मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि चर्को असुली भइरहेको भन्दै भिएलएन, बायोमेट्रिक,ओएसजी, जिएससी र माइग्राम खारेजको घोषणा गरेका थिए । सो पश्च्यात मलेसियाको श्रम स्वीकृति खुल्न सकेको छैन ।