नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को सबैभन्दा ठुलो हिस्सा रेमिट्यान्सको छ। कृषिमा आधारित अर्थतन्त्र भनेर नेपालको पहिचान स्थापित गर्न खोजिएपनि जीडीपीको करिब २९ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको तथ्यांकले देखाएको छ।
बैदेशिक रोजगार बोर्डको एक दशकको तथ्यांकलाई हेर्ने हो भने बार्षिक ४ लाखको हाराहारीमा नेपाली युवाहरु रोजगारीको शिलशिलामा नेपाल छाडेका छन। जसमा रोजगारीका लागि मलेसिया, साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, कतार लगाएत खाडी मुलुकहरु जाने धेरै छन।
संस्थागत र व्यक्तिगत श्रम ईजाजतबाट रोजगारीका लागि नेपालीहरु १७२ मुलुक पुगेको तथ्यांकले छ। आर्थिक बर्ष २०६५÷०६६ देखि ०७४÷०७५ सम्मको तथ्याङ्क अनुसार ३८ लाख ९८ हजार ४७९ नेपाली रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका छन्। जसमध्ये ३७ लाख ६७२ जना पुरुष छन् भने १ लाख ९७ हजार ८०७ महिला रहेका छन् । दैनिक ११ सय नेपाली रोजगारीको खोजीमा विदेशिने गरेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
कति भित्रियो विप्रेषण ?
१० बर्षको समयावधिमा ४४ खर्ब ८२ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको देखिन्छ । यहि तथ्यांकलाई आधार मान्दा मासिक करिब ३ अर्ब ७३ करोड विप्रेषण नेपाल भित्रिने गर्दछ । दैनिक १२ करोड बिप्रेषण भित्रिदै गर्दा करिब ३१ लाख घर परिवारले लाभ लिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या
एक दशकमा ४४ अर्ब रेमिट्यान्स भित्रिदै गर्दा त्यसका लागि नेपालले आफ्ना ६ हजार ७०८ जना युवा गुमाएको छ। त्यसमा पनि मासिक १० जना अंगभंग हुनुपरेको तथ्यांक छ।
बोर्डको १० बर्षको तथ्याङ्कमा कुल १ हजार १७८ जना अंगभंग भएर नेपाल फर्किएका छन। कार्यस्थलमा हुने दुर्घटना र सडक दुर्घटनाका कारण धेरै घाइते भएको अध्ययनले देखाएको छ। घाईते भएर फर्किएकाहरुलाई बोर्डले अवस्था अनुसार ७ लाखसम्मको आर्थिक सहयोग गर्दै आईरहेको छ।