कुन क्षेत्रले कतिलाई दिएका छन् रोजगारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 04, 2019 | 02:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा उत्पादित युवा जनशक्ति पलायनको क्रम केही स्थिर देखिन थालेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्याका विगत वर्षहरुको तुलनामा केहीवर्ष यता कमी आईरहेको छ । 

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निकायको निर्वाचनपश्चात विदेशीने युवाहरु घटेको राजनीतिक वृत्तका बहस हुने गर्छ । सरकारले युवामैत्री कार्यक्रम ल्याएको र स्वदेशमै उद्यमी बन्न प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा युवा मोह कम हुँदै गएको केहीको बुझाई छ । 

नेपालको श्रमबजारमा वार्षिक २ लाख जनशक्ति उत्पादन हुन्छन भन्ने गरिन्छ । नेपालमा खपत हुने जनशक्ति भनेको वार्षिक ५० देखि ६० हजार नयाँ मात्रै हो भन्ने आँकडा पनि निकालिएको छ । बाँकीले वैदेशिक रोजगारी नै अपनाउनुपर्ने बाध्यता छ । 

पछिल्लो समय विभिन्न क्षेत्रमा युवा जनशक्ति स्वदेशमै पनि खपत भईरहेको छ । कुन क्षेत्रमा कति जनशक्ति छ र कति अपुग छ भन्नेबारे सरकारले यकिन तथ्यांक राखेको छैन भन्छन् व्यवसायीहरु । सामान्य सीप आर्जन गरेको र धेरै चतुर्याईँ गर्न सक्ने चलाख जनशक्ति विदेश पलाएन भएका कारण नेपालमा आवश्यक युवा जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उद्यमीको गुनासो पनि छ । 

निर्माण क्षेत्र

नेपालमा सबैभन्दा धेरै जनशक्ति आवश्यक रहेको क्षेत्र अन्तर्गत पर्छ निर्माण क्षेत्र । भौतिक विकासका लागि अति नै आवश्यक पर्ने जनशक्ति समेत आयात गर्नुपर्ने अवस्था छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार नेपालमा अहिले २५ लाख जनशक्ति निर्माण क्षेत्रमा काम गरिरहेका छन् । 

यसमध्ये करिब ३० प्रतिशत जनशक्ति भारतबाट आयात गरिएको छ । सामान्य ‘लेभर’देखि ‘इन्जिनियर’सम्म विदेशबाट ल्याउनु परेको उनको भनाई छ । ‘यो त स्वदेशी निर्माण व्यवसायीले ठेक्का पाएका काममा मात्रै हो, विदेशीले ठेक्का लिएको ठूला आयोजनामा त सबै कामदार उतैबाट ल्याउने गरिन्छ’ उनले भने । यसको अर्थ नेपाली ठेकेदार कम्पनीले पनि कामदार अभावमा वार्षिक ७ लाखको हाराहारीमा विदेशबाट कामदार ‘हायर’ गर्छन र विदेशी ठेकेदारले कामको जिम्मा पाएका आयोजनामा नेपाली कामदार न्युन छन् । 

अटोमोबाईल्स क्षेत्र

सबैभन्दा बढी कामदारलाई रोजगार दिएको क्षेत्रका रुपमा अटोमोबाईल्स क्षेत्र हो । सबै जसो क्षेत्र र रोजगारीका अवसरसँग जोडिने भएका कारण अटोमोबाईल्सले जति रोजगारी सिर्जना अरु क्षेत्रले गर्न नसक्ने अटो व्यवसायीको दाबी छ । 

यो क्षेत्रमा काम गर्नेहरु मासिक तलब भत्ता र दैनिक ज्यालादारी लिने सम्म छन् । विगत १० वर्षमा अटोमोबाईल्सको आयात ४ गुणाले बढेको छ । सरकारले यसलाई अस्वभाविक भनेपनि व्यवसायीहरु भने विकासको प्रुमख आधार नै अटो क्षेत्र भएकाले यो स्वभाविक हो भन्ने तर्क गर्छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवम् गोल्छा अर्गनाईजेशनका अध्यक्ष शेखर गोल्छा अटो क्षेत्रले सेवा र रोजगार दुवै प्रदान गरेको बताउँछन् । नेपाल अटोमोबाईल्स डिलर्स एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका उनी ३० लाखभन्दा बढीले अटोसँग जोडिएर रोजगार पाएको दाबी गर्छन् । गोल्छा रोजगारी सिर्जनामा अटोमोबाईल्ससँग तुलना गर्ने अर्को क्षेत्र नभएको दाबी गर्छन् ।

उनले निकट भविष्यमै सम्भव हुनेसम्मका सवारी स्वदेशमै उत्पादन सुरु गर्न नीजि क्षेत्र तयार रहेकाले रोजगार पाउने जनशक्तिको संख्या बढ्ने बताए ।

होटल तथा लज (सेवा क्षेत्र)

होटल सेवा मूलक क्षेत्र हो । यद्यपी होटल व्यवसायीहरु सरकारले होटल क्षेत्रलाई सेवा मूलक उद्योगका रुपमा लिनुपर्ने आवाज उठाईरहेका छन् । होटल संकी अध्यक्ष सिर्जना राणा होटल केवल उद्योग मात्रै नभई हरित उद्योग पनि भएको बताउँछिन । पर्यावरण जोगाउन होटलले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राणाले होटल वरीपरिको वातावरण स्वच्छ हुने बताईन । 

उनका अनुसार अहिले होटल क्षेत्रमा काम गर्ने कामदारले अन्य उद्योगको तुलनामा दोब्बर सुविधा पाईरहेका छन् । बीमा, सञ्चय कोष लगायतका सुविधा होटलले कामदारलाई उपलब्ध गराउँदै आएको उनको दाबी छ । 

होटल संघ नेपाल (हान)मा आवद्ध भएका २ हजारभन्दा बढी होटलमा अहिले प्रत्यक्ष काम गरिरहेका मजदुर÷कामदारको संख्या ७ लाभन्दा बढी छ । होटल, लज र होमस्टे समेतलाई हेर्दा करिब १० लाख जनशक्तिले प्रत्यक्ष रोजगारी पाईरहेका छन् । हानका प्रमुख कार्यकारी अधिकृत टेक महत अझै पनि स्वदेशी जनशक्ति अपुग रहेको बताउँछन् । ‘ठूला ठूला चेन होटलका सिनियर पोष्टमा विदेशबाट जनशक्ति ल्याउनु परिरहेको छ’ उनले भने, ‘सामान्य रुपमा चल्ने होटलमा यहीको जनशक्तिले धानेको छ, ठूलामा त अभाव नै छ ।’ उनको भनाईलाई आधार मान्दा करिब लाखको हाराहारीमा विदेशबाट आयात गरिएका जनशक्ति नेपालको होटल क्षेत्रमा काम गरिरहेका छन् । 

यसो हुनुमा सरकारको कमजोरी रहेको व्यवसायीको बुझाई छ । सेवा क्षेत्रमा लगानी गर्न हिचकिचाएको कारण जनशक्ति उत्पादन कम भएको हो । होटल क्षेत्र सेवामूलक उद्योग भएकाले यसको संवेदनशीलता राष्ट्रको इज्जतसँग जोडिएको विषय हुने विज्ञहरु बताउँछन् । सिइओ महत अहिले होटल व्यवस्थापनको स्तरीय पढाई हुने भएकाले केही सहज भएको बताउँछन् । होटल क्षेत्रमा वार्षिक ५ देखि ७ हजार जनशक्ति खपत हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved