खुल्यो मलेसिया, थपियो कामदारको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

पन्ध्र महिनादेखि बन्द मलेसियाको रोजगारी आज (भदौ २९) देखि खुला भएको छ। नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार आजदेखि मलेसियाको रोजगारी खुला भएको श्रम रोजगार तथा सामाजिवक सुरक्षा मन्त्रालयले जनाएको छ। 

दुई देशबीच भएको सहमतिअनुसार अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउने श्रम रोजगार तथा सामाजिवक सुरक्षा मन्त्रलायका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन। उनकाअनुसार  अब मलेसियमा जाने कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ। मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गर्ने छ।

नेपाल र मलेसियाबीच भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा सहमति भएपश्चात यसअघि २०७५ कात्तिक ११ गते भएको श्रम समझदारी कार्यान्वयनमा आएको छ।   

मलेसिया जाने कामदारबाट अनावश्यक रुपमा बढी शुल्क लिएको भन्दै मन्त्री गोकर्ण बिष्टले २०७५ जेठ २ गते ति संस्थाहरुलाई 'गैरकानुनी' घोषणा गरेका थिए। त्यसपश्चात दुवै देशको संयुक्त प्रयासकै फलस्वरुप २०७५ कार्तिक १२ गते मलेसिया सरकारबीच श्रम समझदारीमा सम्पन्न भएको थियो । 

त्यस्तै दुई देशबीच नेपाल सरकारले सिफारिस गरेका १२२ संस्थामध्ये अहिलेलाई ३६ वटा संस्थाहरुले मात्र स्वास्थ्य परिक्षण गर्न पाउनेछन। अन्य ८६ वटा संस्थाको आगामी नोभेम्बरको पहिलो सातादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण हुने र त्यस्पचात मात्र आवश्यकताअनुसार उनीहरुलाई अनुमति दिईने भएको छ। 

मलेसियाले २०७५।१०।१३ तथा २०७५।१२।०८ गते स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको सुची मागेको थियो। सोहिअनुसार श्रम मन्त्रालयले मापदण्ड पुरा गरेका १२२ स्वास्थ्य संस्थाको नामावली २०७६ श्रावण २१ गते मलेसिया सरकारलाई पठाएको थियो। यी संस्थाहरुलाई यथावत राखी पुरानै ३६ संस्थालाई मलेसिया सरकारले अहिलेलाई स्वास्थ्य परिक्षणको लागि निरन्तरता दिएको हो।


नेपाली कामदारले पाउने सुविधा       

समझदारी पत्र अनुसार रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रवन्ध गर्नुपर्नेछ। नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ । सो हुन नसकेमा उक्त सन्दर्भमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै वहन गर्नुपर्ने व्यवस्था गरिएको छ । महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । त्यसै गरी कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने छन् । 


मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी० को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् । कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ । भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा सो नेपाली कामदारलाई समेत लागू हुनेछ । वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । 

समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ । दुवै देशका सरकारले आ(आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नु पर्नेछ । 

रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनौट गर्न सक्ने प्रावधान छ । करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने र सो को लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनु पर्नेछ । नेपाली कामदारहरुले आफ्नो राहदानी लगायत आफ्ना निजी कागजात आफैसँग राख्न पाउने अधिकार सुनिश्चित भएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved