कतारले आप्रवासी कामदारको पक्षमा तीन महत्त्वपूर्ण निर्णय गरेको छ। कतार सरकारको सरोकारवाला मन्त्रालयले आज एक पत्रकार सम्मेलन गरि आप्रवासी कामदारको पक्षमा तीन महत्त्वपूर्ण निर्णयबारे जानकारी गराएको हो।
सन्तानले स्पोन्सर परिवर्तन गर्न नपर्ने, अस्थायी कामदार ल्याउन पाउने तथा अनलाइन सेवामा २० प्रतिशत छुट दिने निर्णय यथाशीघ कार्यन्वयनमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। कतार सरकारले धेरै अध्ययन अनुसन्धान पश्चात यी निर्णय लिएको र यस निर्णयले आप्रवासी कामदार मात्र नभई कतारका नागरिक समेत लाभान्वित हुने बिश्वास गरेको छ। उक्त निर्णयले नेपाली कामदारलाई समेत फाइदा हुने बिश्वास गरिएको छ।
सन्तानलाई स्पोन्सर परिवर्तन गर्नु नपर्ने
लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार आप्रवासी कामदारका सन्तान ले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने भएको छ। उनीहरुले आफ्नो परिवार स्पोन्सर रहुन्जेल स्पोन्सर परिवर्तन नगरी निजि क्षेत्रमा काम गर्न पाउनेछन। यसअघि छोरीको लागि मात्र स्पोन्सर परिवर्तन गर्नुनपर्ने व्यवस्था थियो। यो व्यवस्थाले कतारको श्रम बजारलाई थप सकारात्मक बनाउने कतार सरकारको अपेक्षा छ।
अस्थायी कामदार ल्याउन पाउने
कतारका कम्पनीले अस्थायी कामदार ल्याउन पाउने भएका छन। निर्णय कार्यन्वयनमा आएपश्चात कम्पनीले ६ महिनासम्मको लागि अस्थायी कामदार ल्याउन पाउनेछन।
अस्थायी कामदारको भीसा एक महिनाको लागि छ भने उसले कतारी रियाल ३०० शुल्क तिर्नुपर्ने छ। त्यस्तै २ महिनाको लागि ५०० तथा ३ देखि ६ महिनाको लागि २०० कतारी रियाल शुल्क कायम गरिएको छ।
अनलाइन सेवामा २० प्रतिशत छुट
कतारी नगारिक सहित आप्रवासीलाई समेत विद्युतीय भुक्तानीमा प्रोत्साहन गर्नको लागि कतार सरकारले आप्रवासीको लागि समेत अनलाइन भुक्तानी गर्दा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।