ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा, प्रत्यक घरधुरीलाई १५ हजारको शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 12:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताए । 

उनका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भने , “आउँदो चैतभित्रमा बिजुली बल्छ ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ । पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो । रु १८ करोडको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन् । लागत थप बढ्न सक्ने अनुमान गरिएको छ । 

गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ । “सक्नेले बढी पनि लगानी गर्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भने , “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” यसै वर्षभित्र विद्युत्गृहमा बिजुली बले पनि घरघरमा विद्युत्करण गर्न थप समय लाग्ने उनको भनाइ छ । विद्युतीकरणको लागि तार विस्तारको काम पनि अघि बढेको छ । 

आयोजनास्थलमा धमाधम काम भइरहेकाले समयमै लक्ष्य पूरा हुने उनले बताए । विसं २०६८ मा शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्ती जस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापन समेत फेरिएको थियो । 

केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताए   । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ । आयोजना सम्पन्न भएपछि ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए   । “सबै घरमा विद्युत् पु¥याउने लक्ष्य आयोजनाले पुरा गर्दैछ”, उनले भने । गाउँलेको समेत लगानीमा बन्न लागेको आयोजनामा आवश्यक पर्दा गाउँपालिकाले सहजीकरण गर्दै आएको छ । 

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा निर्माणाधीन विद्युत्गृहमा ल्याइनेछ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved