मध्यमर्स्याङ्दी प्रसारणलाइन संचालनमा, बिद्युत खेर जाने आवस्था अन्त्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 08:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्सातको समयमा ‘मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी’ प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह गराउनु पर्दा नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र र प्रसारण निर्देशनालयलाई सधैँ तनाव झेल्नु पर्दथ्यो । क्षमताभन्दा बढी विद्युत् प्रवाह गराउनु पर्दा प्रसारण प्रणालीमा समस्या आउने र लमजुङमा सञ्चालनमा रहेका निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत्समेत खेर फाल्नुपर्ने बाध्यता आइलाग्थ्यो । 

प्रसारण लाइनको क्षमता १३२ केभीको मात्रै थियो । सो प्रसारण लाइनबाट बढीमा १२० मेगावाट मात्रै विद्युत् प्रवाह गराउन सकिन्छ । बर्खामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने अवस्थाको अन्त्य गर्दै प्राधिकरणले आजदेखि मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी ‘डलब सर्किट’ प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । 

सो प्रसारण लाइन सञ्चालनमा आएपछि वर्षाको समयमा विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको छ । प्राधिकरणले २२ किलोमिटर लामो प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबार साँझदेखि सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । 

‘मस्र्याङ्दी–काठमाडौँ र मस्र्याङ्दी–भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमस्र्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था थियो, अब यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत् दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिनेछ ।” 

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट मस्र्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौँ र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ । मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताए । 

उनले दमौली सबस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश ः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने उल्लेख गरे। “यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा आउँदैछ,” उनले भने, “मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सबस्टेसनमा नयाँ ‘बे’ पनि थपेका छौँ, मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिनेछ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved