हेटौंडा–भरतपुर प्रसारण लाइन निर्माणको ठेक्का तोडियो, भारतीय कम्पनीको ३४ करोड जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 02:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले केही दिनअघि भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो ।

कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर अर्थात् करिब ३४ करोड रुपैयाँ पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ ।

प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिडसँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व बैकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोस सहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौंडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए । 

‘निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, हामीले गरेको पत्रचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लघंन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले  ठेक्का तोडिएको हो’, घिसिङले भने, ‘नयाँ ठेक्कापट्टाको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै टेण्डर आह्वान गछौं ।’

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ ।

आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved