दश वर्षमा सम्पन्न भयो काबेली कोरिडोर, पाँचथर र ताप्लेजुङका आयोजनालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 06:46:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको सम्पूर्ण कार्य पूरा भएको हो ।

तेश्रो खण्डको निर्माण पूरा भएसँगै प्रसारण लाइन परीक्षणको तयारी शुरु भएको छ । उनका अनुसार अन्तिम खण्डको प्रसारण लाइनमा यही साउन १७ गतेबाट परीक्षण प्रसारण हुनेछ । करीब एक हप्ता विद्युत् परीक्षण गरी उक्त खण्ड चार्ज गरिनेछ । यो खण्ड १३ किलोमिटर लामो रहेको छ । यो खण्ड पाँचथरको फिदिम नगरपालिका–४ थापाटार सबस्टेशनदेखि पाँचथरकै हिलिहाङ गाँउपालिका–१ दुवीचौर सबस्टेशनसम्म रहेको छ ।

आयोजना कार्यालयले साउन १७ गते बिहान ८ बजेदेखि कोरिडोरको हाइटेन्सन लाइनको मुनि तथा टावरको वरीपरी नबस्न, प्रभावित हुने भनी जानकारी गराइएको आसपासको क्षेत्रमा कुनै पनि सामग्री नराख्न स्थानीयवासीलाई आग्रह गरेको छ । पाँचथरका साविकका फिदिम, भारपा, सुभाङ, र अमरपुर गाविस तथा तेह्रथुमको छातेढुङ्गा गाविसमा रहेका १ नम्बरदेखि ४० नम्बरसम्मका टावरहरुमा विद्युत् प्रवाह हुनसक्ने भएकाले टावरको नजिक नजान कार्यालयले सचेत गराएको हो ।

कोरिडोरको आर्थिक वर्ष २०६६÷०६७ मा निर्माण प्रक्रिया शुरु भई आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण कार्य प्रारम्भ भएको थियो । पूर्वी पहाडमा निर्माण गरिएका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोरिडोरको निर्माण कार्य चार वर्षअघि सकिनुपर्ने थियो । भारतीय निर्माण कम्पनी ज्यागुर ओभरसिज एण्ड एष्टर जेभीले रु एक अर्ब ३० करोडमा आयोजना निर्माणको ठेक्का लिएको थियो । तर, मुआब्जामा चित्त नबुझाएका स्थानीय प्रभावितको अवरोध, सामुदायिक वन तथा सरकारी वनका रुख कटानीमा रहेको समस्या, निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना लम्बिन पुगेको आयोजा प्रमुख द्विवेदीको भनाइ छ । चौथो पटक थप भएको म्याद माघ २६, २०७५ मा सकिएको थियो । त्यसपछि पुनः म्याद थप गरी आयोजना सम्पन्न गरिएको हो ।

तीन खण्ड, ९१ किमी, ४ सबस्टेशन, २६१ टावर कोरिडोर झापाको लखनुपरदेखि पाँचथरको अमरपुरसम्म फैलिएको छ । ९१ किलोमिटर लामो कोरिडोरका चार वटा सबस्टेशन छन् । झापाको लखनपुर, इलामको गोदक, पाँचथरको फिदिम–४ थापाटार र हिलिहाङ–१ अमरपुरमा कोरिडोरको सबस्टेशनहरु रहेका छन् । सबस्टेशन निर्माणको कार्य तीन वर्ष अघि नै सम्पन्न भइसकेको थियो । कोरिडोरलाई लखनपुर–गोदक, गोदक–थापाटार र थापाटार–अमरपुर गरी तीन खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको थियो ।

आयोजनाको प्रसारण लाइनमा २६१ वटा सबल सर्किट हाइटेन्सन टावरहरु रहेका छन् । यी टावरहरुको उचाइ ४५ मिटर रहेको छ । लखनुपरदेखि गोदकसम्मको प्रसारण लाइन तीन वर्षअघिबाटै सञ्चालनमा छ । आयोजनाको दोश्रो खण्ड गोदक–फिदिम गत चैतको अन्तिम साताबाट सञ्चालनमा आएको थियो । १३ किलोमिटर लामो अन्तिम खण्ड थापाटार–अमरपुरको भने गत आइतबार निर्माण कार्य पूरा भएको आयोजना प्रमुख द्विवेदीले जानकारी दिनुभयो । यस खण्डमा ४० वटा टावर रहेका छन् ।

कार्यकारी निर्देशक घिसिङबाटै अवरोध हटाउन पहल सामुदायिक वनका रुख कटानीमा समस्या झेल्नुपरेकाले निर्माण कार्यमा निरन्तर अवरोध सिर्जना हुने गरेको थियो भने मुआब्जामा चित्त नबुझाएका स्थानीयले टावर गाड्न अवरोध गर्ने गरेका थिए । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल क्षेत्र र इलामको सिद्धिथुम्का बजार क्षेत्रमा कोरिडोर निर्माण कार्यमा लामो समय अवरोध सिर्जना भएपछि समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् उपस्थित भई सहजीकरण गरेका थिए । अवरोध नहटेपछि फिदिमको जोरसालमा कोरिडोरको रुट नै परिवर्तन गरिएको छ ।

अब पाँचथर र ताप्लेजुङका आयोजना जोडिने काबेली कोरिडोर १३२ केभी विद्युत् प्रसारण लाइनको दोश्रो खण्डसम्ममा इलाम र पाँचथरका आधा दर्जन जलविद्युत् आयोजना जोडिइसकेका छन् । तेश्रो खण्ड निर्माण पूरा भएसँगै निर्माण सम्पन्न हुन लागेका २५ मेगावाटको काबेली ‘बी–१’ जलविद्युत् आयोजना, २२ मेगावाटको तल्लो हेंवा जलविद्युत्, १० मेगावाटको इवाखोला जलविद्युत आयोजना र पाँच मेगावाटको फावाखोला जलविद्युत् आयोजना तेश्रो खण्डमा जोडिने छन् । दोश्रो खण्ड पूरा भएसँगै १४ मेगावाटको हेंवा ‘ए’ जलविद्युत् आयोजना कोरिडोरमा जोडिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved