माथिल्लो त्रिशूली थ्री ‘ए’ निर्माण सम्पन्न, दैनिक डेढ करोड कमाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 08:24:10 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद, कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध,कहिले निर्माण व्यवसायीका अनावश्यक शर्त, पटकपटक म्याद थप लगायतका समस्या झेलेको आयोजना अन्तत सम्पन्न भएको हो।

आयोजनाको पहिलो युनिट गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ ।

आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल पुगेका हुन् । आयोजना सम्पन्न भएपछि कार्याकारी निर्देशक कुलमान घिसिङले दैनिक जसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहनत र प्राधिकरणको निरन्तरको प्रयासपछि आज बल्ल खुशीको अनुभूति गर्न पाएको बताए ।

इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग ठेक्का सम्झौता भएको थियो । भूकम्पले बाँधस्थलमा सबैभन्दा ठूलो समस्या पारेको थियो । पहुँचमार्ग भूकम्पले ध्वस्त बनाएको थियो । जिम्मेवारी लिन कोही तयार नभएका बेला नेपाली सेनाले पहुँचमार्ग बनाइदियो ।

बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक एक करोड ५० लाख बराबरको कमाइ गर्न थाल्छ । राजधानी काठमाडौँको विद्युत् वितरणलाई थप विश्वसनीय बनाउनसमेत बल पुग्नेछ ।

माथिल्लो त्रिशूली थ्री एको विद्युत्ले राष्ट्रियरुपमा आठ प्रतिशतको हिस्सा राख्दछ । यस्तै प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्छ ।

विसं २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको आयोजना शुरुमा २०७१ साल जेठ १७ गते सक्ने लक्ष्य राखिएको थियो । क्षमता बढाउने विवाददेखि भूकम्प, नाकाबन्दीको समस्यामा फसेको आयोजना ११ वर्षपछि सकिएको छ । प्राधिकरण चिनियाँ कम्पनी गेजुवाबीच आठ करोड ९१ लाख ७८ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved