टुक्रिदै कुलमानको कार्यालय, प्राधिकरणको एकाधिकार अन्त्य गर्न प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हालको नेपाल विद्युत प्राधिकरण टुक्रिएर विभिन्न कम्पनीमा विभाजित हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको कामलाई छुट्याउने गरी नयाँ विधयेक प्रस्ताव गरेको छ। विद्युत् ऐन २०४९ विस्थापित गर्न बनेको उक्त विधयेकमा विद्युत् उत्पादन, प्रसारण र वितरणको काम छुट्टाछुट्टै निकायबाट गराउने प्रस्ताव छ 

हाल नेपाल विद्युत प्राधिकरणले  विद्युत उत्पादन, प्रशारण, वितरण र ब्यापारको गर्दै आएको छ । तर विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न मन्त्रालयले तयार पारेको  ‘विद्युत ऐन-२०७६’ मा प्राधिकरणको अधिकारलाई विकेन्द्रित गर्ने गरी संरचना बनाउने प्रस्ताव छ। 

 प्रस्तावित विधयेकमा विद्युतको उत्पादन, प्रसारण, वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेका संगठित संस्थाले ऐन प्रारम्भ भएको मितिले ३ वर्षभित्र विद्युतको उत्पादन, प्रसारण, वितरणका लागि अलग-अलग संगठित संस्था स्थापना गर्नुपर्ने उल्लेख छ । मस्यौदाको दफा ५७ मा भनिएको छ, विद्युत् उत्पादन, प्रसारण र वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेको संस्थाले अलग अलग ऐन कार्यान्वयन भएको मितिले तीन वर्षभित्र अलग अलग सङ्गठित संस्था बनाउनुपर्ने छ ।

प्रस्तावित विधयेकमा प्राधिकरणले अगल-अलग संस्था स्थापना भएको मितिले २ वर्षभित्र आफ्नो सम्पत्ति र दायित्वको मूल्यांकन गर्नु पर्ने छ । त्यस्तै प्रस्तावित ऐनमा विद्युत उत्पादन, प्रसारण, वितरण वा ब्यापारका लागि एउटै निकाय वा संस्थालाई एकभन्दा बढी प्रयोजनमा अनुमति नदिइने उल्लेख छ । अर्थात प्राधिकरणले उत्पादन, प्रसारण, वितरण र ब्यापारमध्ये कुन काम गर्ने हो, त्यसका लागि सरकारसँग अनुमति माग्नु पर्ने ब्यबस्था छ ।

प्रस्तावित विधयेकमा सङ्घीय संरचना अनुसार विद्युत् उत्पादन र वितरणको अधिकार स्थानीय तथा प्रदेश सरकारलाई पनि दिईने उल्लेख छ । जस अनुसार ३ मेगावाटसम्मको आयोजना स्थानीय तह, तीनदेखि २० मेगावाटसम्मका विद्युत् आयोजना प्रदेश सरकारले र २० मेगावाट भन्दा ठूला आयोजनाका लागि संघीय सरकारले अनुमति दिने प्रस्ताव गरिएको छ।

प्राधिकरण टुक्रिने गरी विधयेक प्रस्ताव भएपछि प्राधिकरणका कर्मचारी भने अशन्तुष्ट बनेका छन् । बर्षौसम्म घाटामा रहेको प्राधिकरण नाफामा जान थालेको बेलामा प्राधिकरणको संरचना बदल्न नहुने भन्दै संगठित हुन् थालेका छन्। प्राधिकरणमा सक्रिय विभिन्न युनियनहरुले विना तयारी र छलफल विधयेक प्रस्ताव गरिएको भन्दै प्रस्तावित विधयेक अनुसार नै काम भए प्राधिकरण पुन धराशायी हुने दाबी गरेका छन् 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने यो तत्कालको योजना नभई लामो समय अगाडीदेखिको योजना अहिले कार्यन्वयनको चरणमा आएको बताउछन् । उनका अनुसार  जलविद्युत् विकास नीति २०५९ अनुसार यी कार्य  अगाडी बढेको हो। उनले उत्पादन, प्रसारण, वितरणको फरक फरक कम्पनीले गर्ने भएपनि प्राधिकरणको अस्तित्व भने समाप्त नहुने बताए । उनले भने 'प्राधिकरण नै नरहने गरी विधयेक आएको छैन, प्राधिकरण कहिँ न कहीं अवश्य रहन्छ' 

मन्त्रालयले हाल मस्यौदाको अन्तिम रुपमा तयारपारी सरोकारवालाहरुसँग सुझाव संकलन गरीरहेको छ । मन्त्रालयले असोज ८ गतेसम्म सुझाव पठाउन आग्रह गरेको छ । प्राप्त सुझावका आधारमा मन्त्रालयले अन्तिम विधयेक तयार पारि मन्त्रिपरिषदमा पेश गर्ने छ । मन्त्रिपरिषदले संसदमा पेश गर्न स्वीकृति दिएपछि र संसदले पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्र यसले ऐनको रुप लिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved