सेतीखोला जलविद्युत निर्माणको ठेक्का सम्झौता सम्पन्न, नमुना आयोजना बनाउने प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 12:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सेती खोला जलविद्युत आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा  निर्माण हुने २५ मेगावाट क्षमताको यस आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौतामा बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच काठमाडौमा हस्ताक्षर भएको हो।

सम्झौतामा आयोजना प्रवर्द्धक कम्पनी भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गरे। सिभिल निर्माणतर्फको ठेक्का १ अर्ब २० करोड रुपैयाँमा लिएको छ। २७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि निर्माणको जिम्मा पाएको रसुवा–लुना जेभीले दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।    

करीब पाँच अर्ब रुपैयाँ लागतको सो आयोजनामा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । 

१ हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ ।

प्रवर्द्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए ।

उनले आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइने जानकारी दिए। स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने र अहिले नै स्थानीयबाट धेरै माग आएको उनले बताए। आयोजनाबाट उत्पादित विद्युत कुल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved