३०७ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा बाड्न सुरु

रासस

रासस

Mar 11, 2020 | 08:37:45 AM मा प्रकाशित

laxmi  sunrise bank

जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ ।

इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी रु पाँच लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी रु पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणको कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको अवको एक महिनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने प्रमुख सापकोटाले जनाए ।

बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउने छन् । सरकारले आफँै र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिए । नलगाड जलविद्युत् आयोजना र जलदुल्ला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन् । यी दुवै विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताए ।

भौगोलिकरुपमा निकै जटिल भूवनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहण गरी मुआव्जाको काम शुरु भएको छ । अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य शुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।


आयोजना निर्माणको बाधक सडक

त्रिवेणीदेखि इलसम्म सडक निर्माण गर्नका लागि भएको वोलपत्र आह्वान रद्द भएपछि सडक निर्माण कार्य अलपत्र भएको छ । बजेट सुनिश्चित नहुँदा बोलपत्र आह्वान गरेर पनि रद्द भएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिए । रु १० करोडमा बोलपत्र आह्वान भए पनि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको उनको भनाइ छ । अब नयाँ बजेट सुनिश्चित नभएसम्म बोलपत्र आह्वान गर्न नसकिने उनको भनाइ छ । सो सडक निर्माणका लागि रु ३० करोडको बजेट छुट्याएर काम शुरु गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । उनका अनुसार डिपिआर प्रतिवेदन पहिले नै फाइनल भइसकेकाले बजेट खोजी भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved