ऊर्जामन्त्री पुनद्वारा माथिल्लो तामाकोशीको निरीक्षण, कहिले बल्छ बिजुली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 06:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तामाकोशीको बाँध तथा (सिण्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा गएका हुन् । 

गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ । बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिए । 

निर्धारित समयमै काम सक्न निर्देशन 

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाई छ । सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जंगीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको भनाई छ । उनले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह समेत गरेका छन् ।

‘माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ’, मन्त्री पुनले भन्नुभयो, ‘धेरै काम भएको छ, अब बाँकी काम जसरी भए  पनि समयमै हुनुपर्छ ।’ थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराए । 

मन्त्री पुनसँगै निरीक्षणमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी थिए । 

कहाँ पुग्यो तामाकोशीको काम ?

२०६५ सालबाट सुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ । तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । तल्लो ठाडो सुरुङमा १ सय ४७ र माथिल्लो ठाडो सुरुङमा १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिन्छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved