लकडाउनको बेला २० प्रतिशत विद्युत महसुल छुट दिन मन्त्री पुनको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 12:19:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । 

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउँने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ । 

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए  । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने , ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’ मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे  । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’ विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट गरे । 

कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ । बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ । यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved