अपर तामाकोशीको प्रगति ९९.४ प्रतिशत, असार भित्र बिजुली बाल्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 09:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधिमा पनि अपर तामाकोशीको काम जारि नै छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय गौरवका आयोजनाको काम अगाडी बढाउने निर्णय गरे संगै आयोजनामा करिब ६० मजदुरले काम जारि राखेका छन् । ऊर्जा र गृह मन्त्रालयले आवश्यक समन्वय गरी निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिएकोले आयोजनालाई काम गर्न थप सहज भएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको काममा उल्लेख्य प्रगति भएको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ६० मिटरको काम मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी असारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ । तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २५० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ६० मिटर पाइप जडान गर्न बाँकी छ एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएकाले आगामी असारको पहिलो सातासम्म सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान सकिने प्रवक्ता डा न्यौपानेले जानकारी दिए।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढ्नेछ भने घुमेको पाइप जडानको काममा समेत गति दिने तयारी गरिएको छ । यस्तै सुरुङमा क्रङ्क्रिट लाइनिङ र ग्राउटिङको कामसमेत भइरहेको छ । केही सामान भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याको कारखानामा रहेका कारण लकडाउनका कारण आयात गर्न समस्या परेको छ । प्रवक्ता न्यौपानेले सिमेन्ट र की अत्यावश्यक सामग्री आयातका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिएको बताए ।

यस्तै ठाडो सुरुङमा पाइप जडानका अलावा त्यसको गास (जोड्ने स्थान) मा पनि पाइप जडान गर्नुपर्ने काम बाँकी छ । सो काममा लागि थप १५ दिन लाग्ने भएकाले असारभरिमा निर्माणको काम सम्पन्न गर्ने तयारीमा आयोजना छ । यस्तै विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरणसमेत जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट रहेका छन् ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव चार प्रतिशत पुगेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावर भने निर्माण गर्न बाँकी छ । न्यूखिम्ती सवस्टेशनमा भने कामदारको अभावले निर्माणको काम रोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved