निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मस्र्याङ्दी गाउँपालिकालाई १५ लाख रुपैयाँ रोयल्टी रकम हस्तान्तरण गरेको छ । सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो ।
स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भएबमोजिम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई उहाँकै कार्यकक्षमा बुटवल पावर कम्पनी लिमिटेडका उपमहाप्रबन्धक टीकाराम भट्टले सो रकमको चेक हस्तान्तरण गरे । गाउँपालिकाभित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरेवापत रोयल्टी उठाइने प्रावधानबमोजिम गाउँपालिकाले उक्त रकम लिएको अध्यक्ष गुरुङले बताए । सो आयोजनाको निर्माण थालिएदेखि ढुङ्गा, गिटी, बालुवालगायत वस्तु उपयोग गर्दै आएकाले रोयल्टीवापतको सो रकम गाउँपालिकालाई उपलब्ध गराइएको उनको भनाइ छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका –६ मा निमार्णाधीन आयोजनाले विसं २०७३ चैतदेखि काम गर्दै आएको छ । अनुमानित ६ अर्ब लागतमा निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ ।