कोरोनाले अपर त्रिशुली थ्रीबिको काम प्रभावित, आइपीओको बाँकी ९० रुपैयाँ कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 01:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको कारण त्रिशुली जल विद्युत कम्पनीले निर्माण गरिरहेको अपर त्रिशुली थ्री बि आयोजनाको काम प्रभावित भएको छ । कोरोना महामारीका कारण चिनियाँ कामदार नआउँदा र आवश्यक उपकरण नाका मै रोकिंदा आयोजनाको काम प्रभावित भएको हो 

कम्पनीका प्रबन्ध निर्देशक मोहन प्रसाद गौतमका अनुसार गत जनवरीसम्म कम्पनीको काम लक्ष्य अनुसार नै भएपनि त्यसपछि अपेक्षा अनुसार काम हुन सकेको छैन । मध्य जनवरीमा आयोजनामा कार्यरत चिनियाँ कामदार नयाँ वर्ष मनाउन गएको र त्यसपछि कोरोना महामारी बढेपछि उनीहरु अझै नफर्किएको प्रबन्ध निर्देशक गौतमले बताए 

उनका अनुसार आयोजनामा अधिकांश चिनियाँ कामदार नै छन् । उनीहरु नहुँदा आयोजनाको मुख्य काम रोकिएको हो । अवस्था केहि सहज बन्दै गएको र अब चिनियाँ कामदारहरु कोरोनाको खोप लगाएर आउने गौतमले बताए । 

प्रबन्ध निर्देशक गौतमका अनुसार आयोजनालाई आवश्यक पर्ने उपकरण केरुङ नाकामा अड्किएर पनि समस्या भएको छ । उनका अनुसार ८-९ महिना अगाडी केरुङ नाका आएका जेनेरेटर लगायतका उपकरणहरु अझै नाका मै अड्किएका छन् । त्यस नाकाबाट खाद्यान्न लगायतका समान छुटेपनि उपकरण छुट्न नसकेको र ति समान छुटाउन पहल भईरहेको उनले बताए । उनका अनुसार अन्य हाइड्रो कम्पनीका उपकरण पनि नाकामा अड्किएका छन् 

सुरुङको काम आधा पुरा 

उनका अनुसार सुरुङ निर्माणको आधा सकिएको छ । आयोजनाको कुल सुरुङको लम्बाई ३ हजार ८ सय ५ मिटर रहेकोमा ४७ प्रतिशत सुरुङ खनिएको छ । प्रबन्ध निर्देशक गौतमका अनुसार कामदार हुँदा ४ स्थानबाट सुरुङ खन्ने कार्य हुने गरेको थियो । सोहि गतिमा सुरुङ खन्ने कार्य  जारी रहेको भए अहिले सुरुङको कार्य सकिएको हुने उनी बताउछन् । कोभिड प्रभावले आयोजना सम्पन्न हुने मिति १ वर्ष जति पर धकलिने उनको भनाई छ ।

उनका अनुसार आयोजनाको ४५ प्रतिशत काम सकिएको छ । चिनियाँ कामदार आएर काम सुरु गरेको ५ देखि ६ महिनामा आयोजनाको आधा काम पुराहुने उनको भनाई छ । हाल आयोजनामा ७० जना चिनियाँ कामदार आवद्द छन् । 

यो आयोजना नेपाल सरकारको जनताको जलविद्युत आयोजना अन्तर्गत निर्माण भईरहेको हो । कम्पनीले यस अघि नै सर्वसाधारणलाई १० प्रतिशत अर्थात  प्रति कित्ता १० रुपैयाँको दरले आईपिओ निष्काशन गरि सकेको छ । बाँकि ९० प्रतिशत आईपिओ अर्थात प्रति कित्ता बाँकि ९० रुपैयाँ निष्काशन गर्न आयोजनाको ५० प्रतिशत काम सकिएको हुनु पर्ने प्रावधान छ । अब नियमित रुपमा काम सुरु भएको ६ महिनामा सो बराबरको आयोजना प्रगति हुने र  बाँकि आईपिओ निष्काशन हुने उनले बताए ।

हाल वर्षाको समय रहेकोले आयोजनामा खासै काम हुन नसकेको उनले बताए । यद्यपि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित वस्तीमा काम जारी राखिएको उनले बताए । उनले भने 'प्रभावित वस्तीमा पहिरोको जोखिम न्यूनीकरण गर्न पर्खाल लगाउने, बाढी पहिरोको पुर्व जानकारी दिने प्रणाली जडान गर्ने कार्य भईरहको छ' ।

कम्पनीले त्रिशुली नदीमा ३७ मेगावाटको आयोजना बनाईरहको छ । आयोजनाको संरचनाहरु नुवाकोट र रसुवा जिल्लामा रहने छ । यो आयोजना ६० मेगावाट क्षमताको अपर त्रिशुली थ्री ए आयोजनाको क्यासकेड आयोजना हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved