20 Jul, 2018 | ४ श्रावण २०७५ | शुक्रवार




शिब धिताल/बिजपाटी
Shiva Dhital

Follow me on

करोड पुँजी भएका मर्चेन्ट बैंकले एनएमबि र नेपाल बैंकको नबिकेको अर्बको शेयर कसरी उठाउलान ?

Posted on:July 08, 2018

बजार मुल्य हाराहारीमै जारि गरिएको एफपीओ बिक्रि नहुँदा त्यसको भार प्रत्याभूतकर्ताको थाप्लोमा आइपरेको छ। प्रत्याभूतकर्ताकै भरमा एफपीओ बिक्रि खुला गरेका बुटवल पावर कम्पनी, नेपाल बैंक र एनएमबि बैंकका कारण यिनीहरुको शेयर प्रत्याभूत गर्ने बिभिन्न मर्चेन्ट बैंक तथा म्युचुअल फण्डहरुले ठुलो नोक्सानी बेहोर्नुपरेको छ। 

यसरी प्रत्याभूतकर्ताहरुले जानीजानी गरेको घाटाको व्यापारले लगानीकर्तालाई आश्चर्यमा पारेको छ भने अर्कोतर्फ करोड पुंजी भएका मर्चेन्ट बैंकहरुले कसरि अरबौंको शेयर प्रत्याभूत गरेका छन भन्ने प्रश्न उब्जिएको छ। 

यसै आर्थिक बर्ष नेपाल धितोपत्र बोर्डबाट अनुमती लिएर ५ कम्पनीले एफपीओं बिक्रि खुला गरे। पांच कम्पनी मध्ये नेपाल ग्रामिण विकास बैंक, प्रिमियर इन्स्योरेन्सको एफपीओ सहजै बिक्रि भए। तर बुटवल पावर कम्पनीको एफपीओ लाई सर्वसाधारण र संस्थागत लगानीकर्ताले नपत्याएपछी शेयर प्रत्याभूतीको जिम्मेवारी लिएका मर्चेन्ट बैंकले बजार मुल्य भन्दा कम मुल्यमा बिपिसीको शेयर किन्न बाध्य भए। 

बिपिसी पछि एफपीओ बिक्रि गरिरहेको एनएमबि बैंक र नेपाल बैंक अहिले अप्ठ्यारोमा परेका छन। सर्वसाधारण र संस्थागत लगानीकर्ताले नपत्याएपनि प्रत्याभुतकर्ताले किन्ने भएपछी यी दुई बैंक पनि एफपीओ किन्न हौसिएका हुन। प्रिमियममा एफपीओ बिक्रि गर्दा यी बैंकको चुक्ता पुंजी र रिजर्भको आकार बढेपनि प्रत्याभूतकर्तालाई भने घाटाको ब्यापार हुन पुगेको छ। 

बिगतमा आइपीओ र एफपीओ सहजै बिक्रि हुँदा प्रत्याभूतकर्ता बन्ने मर्चेन्ट बैंकले कमिशनबाट केहि आम्दानि गरेपनि अहिले भने उनीहरुलाई कमिशनको लोभले डुबाएको छ। शेयर प्रत्याभूत गर्ने मर्चेन्ट बैंक र म्युचुअल फण्ड नोक्सानीमा हुँदा अन्तत त्यसको घाटा लगानीकर्ताले नै बेहोर्नु पर्ने हुन्छ। कुनै बेला प्रति इकाई १० रुपैयाँमा बिभिन्न म्युचुअल फण्डको इकाई किन्नेहरु अहिले नोक्सानीमा छन। मर्चेन्ट बैंक र म्युचुअल फण्डले घाटाको ब्यापार गर्दा सोझै त्यसको प्रभाब लगानीकर्तामा परेको छ। 

तर यहाँ प्रश्न लगानीकर्ताको नोक्सानी मात्र नभई करोड पूंजी भएका मर्चेन्ट बैंकले अरबौंको शेयर प्रत्याभूत कसरि गरिरहेका छन भन्ने पनि हो। एनएमबि र नेपाल बैंकको एफपीओ लाई लगानीकर्ताले नपत्याएपछी अर्ब बराबरको शेयर करोड पुंजी भएका मर्चेन्ट बैंकले कसरि खरिद गर्लान भन्ने लगानीकर्ताको प्रश्न रहेको छ। 

धितोपत्र निष्काशन हुने बखत नै कुन कम्पनीले कति शेयर प्रत्याभूति गर्ने भन्ने टुंगो लागेको हुन्छ। यस अघिसम्म शेयर संख्या भन्दा अत्यधिक माग हुनेभएकाले शेयर प्रत्याभूति कर्मकाण्डी जस्तो मात्र हुन्थ्यो र प्रत्याभूत किन गरिन्छ भन्ने चाँसो समेत हुन्थेन। तर अहिले एफपीओ बिक्रि नहुँदा शेयर प्रत्याभूतिकर्तामा सबैको नजर जान थालेको हो।  

लचिलो धितोपत्र बोर्ड 

एनएमबि बैंकको एफपीओं बिक्रि नभएपछी रातारात धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको नेपाल धितोपत्र बोर्डको लचिलो नियमन र नियमका कारण शेयर प्रत्याभूत गर्ने मर्चेन्ट बैंकहरुलाई राहत मिलेको छ। 

धितोपत्र बोर्डले प्रत्याभूतकर्ता मर्चेन्ट बैंकलाई अन्तिम लेखापरीक्षण गरेको नेटवर्थको पांच गुणा र लगानी व्यवस्थापकलाई १० गुणासम्म शेयर प्रत्याभूत गर्न सक्ने छुट दिएको छ। धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७४ मा धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको छ। 

माउ कम्पनी र म्युचुअल फण्डको आडमा शेयर प्रत्याभूत 

सामान्यतया नेटवर्थ भन्नाले कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड हो। तर शेयर प्रत्याभूत गर्ने मर्चेन्ट बैंकहरुले आफ्नो नेटवर्थको पाँच गुणासम्मको क्षमताले आफ्नो जिम्माको शेयर खरिद गर्नुपर्ने हो। तर धितोपत्र बोर्डले उनीहरुलाई यति सम्म छुट दिएको छ कि कुनै आधार र कानुन बिना नै शेयर प्रत्याभूत गर्ने मर्चेन्ट बैंकले माउ कम्पनीबाट पैसा सापटी लिएर वा आफुले संचालन गर्दै आएको म्युचुअल फण्डको मौज्दातबाट आफ्नो जिम्माको शेयर खरिद गर्दै आएका छन।       

बिभिन्न कम्पनीका शेयर प्रत्याभूत गरेका कम्पनीहरुले आफ्नो माउ कम्पनी तथा म्युचुअल फण्डको पैसा प्रयोग गरेर शेयर प्रत्याभूत गर्दै आएको खुल्न आएको छ। 

बुटवल पावरको एफपिओमा ८ कम्पनीले शेयर प्रत्याभूति गरेका थिए। सबै भन्दा धेरै शेयर प्रत्याभूति गरेकाहरुको हकमा माउ कम्पनीले अधिकांश शेयर प्रत्याभूति गरिदियो। एनआईबिएल क्यापिटलले २९.३४ प्रतिशत शेयर प्रत्याभूति गर्दा आफ्नो भागमा परेको १८ करोड मध्ये माउ कम्पनी नेपाल इन्भेस्टमेन्ट बैंकले ८ करोडको शेयर खरिद गरिदियो। यसै प्रकार अन्य मर्चेन्ट बैंकलाई पनि तिनका माउ कम्पनीले शेयर किन्न साथ दिए। 

प्रत्याभूतकर्ताकै भर परेर एफपीओ गर्नेहरुको शेयर बिक्रि भएपनि बजार मुल्य भन्दा सस्तो मुल्यमा शेयर प्रत्याभूत गर्नुपर्दा मर्चेन्ट बैंकले संचालन गरेका म्युचुअल फण्डमा लगानी गर्ने र माउ कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई भने नोक्सानी बेहोर्नुपरेको छ। 

सिकेनन पाठ 

बुटवल पावरको एफपिओ पुरै बिक्रि नहुँदा त्यस कम्पनीको शेयर प्रत्याभूतिकर्ताले केहि पाठ सिक्नु पर्ने हो । तर बजार मूल्य भन्दा सस्तो दरमा एफपिओ आउँदा पनि आफ्नो पुंजी भन्दा धेरै रकमको प्रत्याभूत गर्ने कार्यलाई निरन्तरता नै दिएका छन। बुटवल पावरमा १८ करोडको शेयर खरिद गर्न बाध्य भएको एनआईबिएल क्यापिटलले एनएमबि बैंकको एफपिओमा पनि २३.६५ प्रतिशत शेयर प्रत्याभूत गरेको छ।

४ दिन बाँकि रहँदा एनएमबिको एफपिओ साढे २ अर्ब बराबरको मात्रै बिक्रि भएको छ । अझै १ अर्ब भन्दा बढीको बिक्रि हुनै बाँकि छ । १ अर्बको शेयर बिक्रि भएन भने एनआईबिएल क्यापिटलले २३ करोड बराबरको शेयर खरिद गर्नु पर्ने हुन्छ। कम्पनीले पहिले नै बुटवल पावरको शेयरमा ८ करोड खर्च गरिसकेको छ। कम्पनीको चुक्ता पुंजी २७ करोड मात्र छ। अब कम्पनीले २३ करोडको शेयर कसरी उठाउला भन्ने आम चासो छ। तर कम्पनी भने आफ्नो ब्याक अप छ भनेरै ढुक्क छ। यस्तो अवस्थामा सिस्टर कम्पनीले वा सब अन्डरराइटरले सहयोग गर्ने नै अन्तिम बिकल्प हुन् । एननआईबिएल उदाहरण मात्र हो । अन्यको अवस्था पनि यो भन्दा केहि फरक देखिदैन ।

ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटलले बुटवल पावर , एनएमबि बैंक र नेपाल बैंक गरी ३ वटै कम्पनिको एफपिओ प्रत्याभूत गरेका छन् । त्यस्तै ग्लोबल आईएमई क्यापिटल, लक्ष्मी क्यापिटल र एनआईबिएल क्यापिटलले २ वटा कम्पनीको एफपिओ प्रत्याभूत गरेका छन् । 

मूल्य निर्धारण मै समस्या 

पछिल्लो समय एफपिओको मूल्य निर्धारण पद्दति नै व्यबहारिक नभएकाले धितोपत्र बोर्डको चर्को आलोचना भएको छ। तर बोर्डले दुई पेजको एक बिज्ञप्ति सार्वजनिक गरेर एफपीओ मुल्य निर्धारण बैज्ञानिक भएको दाबि गरेको छ।  

एफपिओ बिक्रि नहुँदा बोर्डले पटक पटक स्पष्टीकरण दिनको लागि बिज्ञप्ति नै निकालेको बिदितै छ । एफपिओ मूल्य निर्धारण गर्दा पछिल्लो तीन बर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनु भन्दा सात दिन अगाडिको १८० दिनको औषत बजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुनकम हुन्छ सो मूल्य कायम गर्छ। 

तर शेयरबजार स्थिर नरहेको अवस्थामा १८० दिनमा कम्पनीको शेयर मूल्यमा उतारचढाव हुन् सक्छ। र कतिपय अवस्थामा बोर्डले अनुमति दिन धेरै  समय लगाईदिंदा एफपिओको मूल्य निर्धारण बिधिसंगत भएता पनि बजारमा आउने बेलामा बजारमूल्य कै हाराहारीमा आउँदा बिक्रि नहुने अवस्था आउन सक्छ। एनएमबि र नेपाल बैंकको उदाहरण हामि सामु छ। 

यस्तो अवस्थामा केहि प्रतिशत मात्र शेयर बिक्रि भई अन्य सबै प्रत्याभूतिकर्ताले उठाउनु पर्ने हुन्छ । प्रत्याभूतिकर्ता कम्पनीको चुक्ता पुंजीको ठुलो रकम नै कुनै कम्पनीको एफपिओ उठाउन प्रयोग भएमा त्यसले कम्पनीको वित्तीय सन्तुलनमा असर पुर्याउने छ नै । साथै कम्पनीले म्युचल फण्ड संचालन गरेको भए त्यसको सिधा असर म्युचल फण्डका इकाई खरिद गरेका लगानीकर्तालाई पर्न जान्छ । 

तर कहिलेसम्म प्रत्याभूतिकर्ताहरु मर्चेन्ट बैंक र म्युचअल फन्डले सर्वसाधारणको निक्षेप लिएका माउ कम्पनीको आडमा आफ्नो क्षमताले भ्याउनै नसक्ने शेयरको लागि प्रत्याभूति गर्ने ? 


Share your thoughts!

Loading...

Trending