सैलुङका १२ पर्यटकीय गन्तब्य : ढुंगा ढुंगामा रोचक इतिहास (फोटो कथा)

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 23, 2018 | 06:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सैलुङ रामेछाप र दोलखाको बीचमा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सयवटा पहाडका थुम्का भएकोले यसलाई सैलुङ भएिको हो । तर स्थानीय बासीका अनुसार सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १ सय ८ वटाभन्दा धेरै थुम्काहरु छन् ।
सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । अनि सुरु हुन्छ सैलुङ यात्रा । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थली हुँदैपनि सैलुङ पुग्न सकिन्छ । मन्थलीबाट मन्थली–गाल्वा हुँदै सैलुङ जान सकिन्छ । हिउँद महिनामा सैलुङसम्म नै गाडी पुग्छ तर वर्षामा भने दोरम्बाबाट हिँड्नु पर्छ ।
काठमाडौँबाट धुलिखेल, खाँडीचौर, मुडे, देउराली, बागखोर, ढुङ्गे र कालापानी हुँदै पनि सैलुङ पुग्न सकिन्छ । यो यात्रा करिब १३० देखी १४० किलोमिटरको हुन्छ ।
सिन्धुलीको झगाझोली रातमाटा हुँदै सैलुङ जाँदा बाटैभरी तीर्थस्थलको दर्शन गर्न पाइन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा सिन्धुली दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने दुम्जाको कुशेश्वर महादेवको सुरुमा नै दर्शन गरेपछि सैलुङको यात्रा सुरु हुन्छ । त्यसपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ ।
राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।
किन जाने सैलुङ ?
गुँरास, लागिगुँरास, गुलाफ, चिमाल, सल्लो लगायतका जंगलभित्र शरद ऋतुमा मरुभूमितुल्य, हिउँदमा हिमालै हिमालको चुचुरो देखिने, बसन्त ऋतुमा जंगली फुलैफुलले घेरिने र वर्षामा हरियाली पर्वतमाथी चौरी गाई नाच्ने ठाउँ हो सैलुङ ।
धार्मिक हिसाबले पनि सैलुङ हिन्दु र बौद्ध धर्मालाम्बीहरुको संगमस्थल हो । हिन्दुहरु यस सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् ।
सैलुङबाट देखिने मनोरम दृश्यहरुः
सैलुङबाट मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिन्छ । गौरिशंकर, नुम्बुर हिमाल र मकालु पनि स्पष्ट देखिन्छ सैलुङबाट । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ ।


त्यति मात्रै नभई दक्षिणमा महाभारत पर्वत श्रृङ्खला चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । समग्रमा सैलुङबाट हिमाल पहाड र तराईको भू–बनोटलाई अवलोकन गर्न सकिन्छ ।
सैलुङमा सबै जातजाती र समुदायका मानिसहरु बसोबास गर्छन् । तामाङ जातिको बाहुल्यता रहे पनि मगर, नेवार, शेर्पा, बाहुन, क्षेत्री लगायतका समुदायको बसोबास छ । सैलुङमा तामाङ, शेर्पा, मगर लगायतका समुदायको संस्कार, संस्कृति एवं सामाजिक चालचलनको अध्ययन गर्न पाइन्छ । समाजशास्त्र अध्ययन गर्दै गरेकाहरुका विद्यार्थीका लागी सैलुङ खुला विश्वविद्यालय हो ।
पेशाः
सैलुङमा आलु, बन्दा, काउली लगायतका कृषि उपज उत्पादन हुन्छ । गाँजर र केराउ पनि मनग्य उत्पादन हुन्छ । सैलुङमा उत्पादन भएका कृषि उपजहरु काठमाडौँमा निर्यात हुन्छ । त्यस क्षेत्रमा उत्पादन भएका आलु मुडेको आलुको नामले परिचित छ ।
विशेषताः  
सैलुङमा विभिन्न धार्मीक आस्था बोकेका गुफा, मठ–मन्दिर, गोम्पा (गुम्बा) अािदले घेरिएको छ । त्यस क्षेत्रमा गणेश ढुङ्गा (डाँफे), महादेव गुफा, गोदावरी फुल्ने गुफा, धर्मद्धार लगायतका गुफा छन् । देवस्थान गैरो, दाईगणे डिल, भिमसेन तरबार, बङ्गुरको टाउको, नेपालको नाईटो, बुद्धको पाईला, गङ्गटो ढुङ्गा, बाघ ढुङ्गा, गाई ढुङ्गा, जुरे ढुङ्गा महादेव सैलुङमा छन् । त्यससँगै धार्मीक आस्थाले ओतप्रोत गुप्तेश्वर महादेव पनि यही क्षेत्रमा पर्छ ।
सैलुङको हेर्न लायक र अनुसन्धान गर्नुपर्ने विषय भनेको त्यहाँ रहेका सानादेखी, ठूला सबै ढुङ्गा पश्चिम फर्किएका छन् । यस विषयमा सैलुङमा बसोबास गर्ने स्थानीयका अनुसार सैलुङका सबै थुम्काहरु भगवानका सम्पत्ती हुन् । सत्ययुगमा भगवान र भगवानका सम्पत्तीमाथी राक्षसले पश्चिम दिशाबाट आक्रमण गर्ने भएकाले त्यहाँ रहेका सबै निर्जीव बस्तुले पश्चिम तिर फर्केर भगवानका सम्पत्तीको सुरक्षा गरेका थिए । त्यसैले सो क्षेत्रमा रहेका सबै ढुङ्गाहरु पश्चिम फर्किएको भन्ने किंवदन्ती छ । उनीहरु सैलुङका थुम्कालाई आजपनि भगवानका सम्पत्ती मान्छन् ।
चडपर्वः
सैलुङमा बैशाख १ गते, जनैपूर्णीमामा मेला लाग्छ । बाला चतुदर्शीमा त्यस क्षेत्रमा बत्ती बाल्ने गरिन्छ । बमैद्ध मार्गीहरुले दिवंगत परिवारका सदस्यको सम्झनामा बत्ती बाल्छन् । परिवारका स्वर्गीय सदस्यको सम्झनामा बत्ती बाल्नाले उसको आत्माले मोक्ष प्राप्त गर्ने विश्वास छ ।
बैशाख १ गते नेपालीहरुको नयाँ वर्षको दिन त्यहाँ पिकनिक जानेको भिड लाग्छ ।
१) गणेश ढुङ्गाः


सत्ययुगमा दोलखाको कालिञ्चोकबाट उडेर आएको डाँफे सैलुङ डाँडा कट्न नसकि सैलुङभन्दा तल नै बसेको विश्वास गरिन्छ । तर सैलुङबाट उडेको डाँफे कालिञ्चोक पार गरी थिम्साङ लेकमा बसेको किंवदन्ति छ । उक्त डाँफे ढुङ्गामा परिणत भएको मानिन्छ ।
२) महादेव गुफाः


गवान महादेवले तपश्या गरेको स्थानका रुपमा यो गुफा रहेको छ । हिन्दु धर्मावलम्बीहरु म्हादेव गुफामा महादेवको पूँजा गर्छन् ।
३) गोदावरी फुल्ने गुफाः


प्रत्येक हिमाली भोट चन्द्र पात्रो अनुसार १२ वटा वर्ष हुन्छन् । १२ वर्षमा एकपटक आउने भेडा वर्षमा उक्त गुफाबाट गोदावरी फुल्छ । यसरी फूल्ने गोदावरी आशिर्वाद स्वरुप लिँदा आफ्नो भाग्य अनुसार विभिन्न बस्तु प्राप्त हुने गर्दछ ।
यसरी गोदावरीको फूल लिँदा भाग्य अनुसार कसैको हातमा दुध, पानी लगायतका विभिन्न बस्तुहरु प्राप्त हुने विश्वास छ । अब भेडा वर्ष आउन ५ वर्ष मात्रै बाँकी रहेको छ । यसरी फूल लिनेहरु सैलुङमा धेरै छन् ।
४) धर्मद्धारः


यो धार्मीक द्धार हो । पाप कर्मबाट मुक्ति हुनका लागी यस द्धार पार गर्नुपर्ने विश्वास छ । यो द्धारा भित्र पस्दा आमाको गर्भमा बच्चा रहेको जस्तै गरि पुगिन्छ । निस्कँदा बच्चा जन्मेको जस्तै गरी निस्किनु पर्छ ।
५) भिमसेन तरबारः


भिमसेनले तरबारले सुङ्गुर काटेपछि तरबार अछुत भयो भनेर छाडेको र सोही तरबार शिलामा परिणत भएको स्थानीय बताउँछन् । ढुङ्गामा हेर्दा ठ्याक्कै तरबार आकारको आकृति छ ।
६) बङ्गुरको टाउकोः


भिमसेनले काटेको बङ्गुरको टाउको हाल पनि रहेको त्यस क्षेत्रका बासिन्दाको विश्वास छ । सोही टाउको अहिले ढुङमा परिणत भएको मानिसहरु बताउँछन् । हेर्दा सुँगुरको टाउको जस्तो देखिने ढुङ्गा छ ।
७) वुद्धको पाईलाः


सैलुङको बीचमा एउटा ढुङ्गा छ । त्यसमा मान्छेको पैतालाको जस्तै देखिने डाम छ । यसलाई बुद्धको पाईला भनिन्छ । त्यस क्षेत्रका बासिन्दाहरुका अनुसार प्राचिन कालमा भगवान गौतम बुद्ध आएर बसेको र उनले टेकेको ठाउँमा अहिले पनि पाइला रहेको विश्वास गर्छन् ।
८) गङ्गटो ढुङ्गाः


गङ्गटो आकारको ढुङ्गा छ । यसलाई गङ्गटो ढुङ्गा भनिन्छ ।
९) बाघ ढुङ्गाः


झट्ट हेर्दा बाघ जस्तै देखिने एउटा ढुङ्ग छ सैलुङमा । यसैलाइृ बाघ ढुङ्गा भनिन्छ ।
१०) गाई ढुङ्गाः


सैलुङको बीच चौरमा एउटा गाई आकारको ढुङ्गा छ । गाई चौरमा सुतेको जस्तो देखिने यस ढुङ्गालाई हिन्दु धर्मवलम्बीहरुले पूँजा गर्छन् ।
११) जुरे महादेव ढुङ्गा

बाक्लो घनघोर सल्लाघारी भित्र सर्प आकारको ढुङ्गा छ । नाग बसेको जस्तो देखिने यो ढुङ्गा जुरे महादेवको नामले चिनिन्छ । यस ढुङ्गाको बीच भागमा घरको बन्द ढोका जस्तै देखिन्छ । स्थानीयका अनुसार प्राचिन कालमा विवाह, ब्रतबन्घ, लगायतका विभिन्न संस्कार संस्कृतिका सामाजिक कार्य कर्दा आवश्यक पर्ने भाडाकुँडा लगायतका सामग्री यिनै महादेवले उपलब्ध गराउँथे रे । तर एकपटक यस्तै कामको लागी महादेवले दिएका भाडाकुँडा राम्रोसँग सफा नगरी बुझाउँदा महादेव रिसाएर त्यही दिनदेखी दिन छाडेको त्यस क्षेत्रका मानिसहरु बताउँछन् । ढुङगाको बीच भागमा बन्द ढोका जस्तै देखिने आकृति महादेवले भाडाकुँडा भित्र हालेर ढोका बन्द गरेको विश्वास छ ।
१२) गुप्तेश्वर महादेव


ठूलो भिरको पहरामा गुप्तेश्वर महादेवको गुफा छ । गुफा भित्र भगवान शिव÷महादेव जस्तै देखिने आकृति छ । त्यही शिव आकार अगाडीपट्टि सानो कुण्ड छ । जसलाई पावर्ती कुण्ड भनिन्छ । त्यही कुण्डको अगाडी गुप्तेश्वर महादेव छ ।
महादेवको शिरमा ४ वटा गाईको थुन जस्ता लुर्का झुण्डिएका छन् । अहिले ३ वटा मात्रै बाँकी छन् । दर्शन गर्न जानेले चलाउँदा एउटा भाँचिएको वा हराएको त्यस क्षेत्रका मानिसले बताउँदै आएका छन् । बाँकी ३ वटा बाट अहिले पनि जल खसिरहन्छ ।
गाईको थुन जस्ता देखिने आकार माथि सर्प आकारको गुफा छ । जहाँ हिन्दु र वौद्ध धर्म मान्नेहरुले पूँजा गर्छन् । यो सबै आकृतिहरु एउटा गुफाभित्र छ । त्यसैले यसलाई गुप्तेश्वर महादेव भनिन्छ ।
यसबाट पनि सैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको संगमस्थल हो भन्ने कुरा पुष्टि गर्छ ।

फोटाहरुको सर्वाधिकार:
www.trekwithserku.com

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved