पशुपति क्षेत्रमा ‘गाँजा खाने’ र ‘माग्ने’ घटे, ‘कलेज पढ्ने विद्यार्थी’ले सताउन थाले

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 16, 2019 | 05:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन विभिन्न कामहरु हुँदै आएका छन् । यही मन्दिरलाई छोएर बग्ने वाग्मती सरसफाई अभियानले एउटा अधिकार नै पाएको छ । वाग्मती नदी सरसफाईका लागी राज्यले निकै ठूलो रकम खर्चेको पनि छ । विस्तारै यसको प्रभाव सकारात्मक पनि देखिन थालेको छ ।

योसँगै मन्दिर क्षेत्र विकासका लागी विभिन्न अभियानहरुको थालनी भएको छ । गाँजा निषेधित देखी माग्ने निषेधित क्षेत्र बनाउने सम्मका अभियान अहिले चलिरहेका छन् ।

माग्नेहरुको संख्यामा कमी

पशुपतिनाथ क्षेत्रलाई ‘माग्ने निषेधित क्षेत्र’ बनाउने अभियानले केही हदसम्म सफलता देखाएको छ । अहिले पशुपति मन्दिर परिसरमा फट्टफुट्ट बाहेक माग्ने देखिँदैनन् । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरिशङ्कर पराजुलिका अनुसार पशुपति क्षेत्रमा माग्न बसेकाहरुलाई विभिन्न संघसंस्थाको सहयोगमा पुर्नस्थापना गरिएको छ । कतिपयलाई उपचारका लागी अस्पताल लगिएको छ ।

उनले भने, ‘उपचारका लागी अस्पताल लगियो ठिक भएर फेरि माग्न आएका पनि छन् । उनीहरुलाई हामीले व्यवस्थापन गरेका छौँ ।’ पराजुलिका अनुसार अहिले पनि हप्ताको तीन पटकसम्म अनुगमन हुन्छ र भेटिएका माग्नेहरुलाई व्यवस्थापन गरिँदै आईएको छ । माग्ने प्रवृत्तिलाई पेशाको रुपमा लिएका माग्नेहरु धेरै हुँदा व्यवस्थापनमा केही कठिनाई भने देखिएको छ ।

पशुपतिमा गाँजा खाने घटे

अर्को कुरा एक समय पशुपति क्षेत्र भन्ने वित्तिक्कै ‘गाँजा खानेहरुको ठाउँ’ भनेर समेत चर्चित थियो । अहिले यसमा उल्लेख्य सुधार आएको छ । कोषले साप्ताहिक रुपमा अनुगमन गर्दा अहिले निकै कम संख्यामा गाँजा सेवन गर्ने र गरिरहेकाहरु भेटिन्छन् । कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापा भन्छन्, ‘पहिला जस्तो छैन, अहिले मन्दिर माथिको जंगलतिर एकादुई भेटिन्छन् । हामीले समातेर सम्झाई बुझाई गर्छौँ र प्रहरीको जिम्मा लगाउँछौँ ।’ उनको अनुभवमा पनि अहिले पशुपति क्षेत्रमा गाँजा सेवन गर्नेहरु घटेका छन् ।

पशुपति क्षेत्रमा हुने गाँजा सेवन र अन्य अनाधिकृत गतिविध समाधानका लागी नजिकै रहेको प्रहरीबाट भने कोषले सहयोग नपाएको गुनासो गरेको छ । मन्दिर परिसरमा हुने अनाधिकृत गतिविधि समाधानका लागी नजिकै रहेको गौशाला प्रहरीसँग सहयोग माग्दा ‘प्रहरीले भने कामको जश कोषले लिने हामीले किन सहयोग गर्ने’ जस्तो व्यवहार देखाएको कोषको आरोप छ । तर प्रहरी भने यस आरोपमा सहमत छैन । कोषले भन्दा पनि र नभन्दा पनि निरन्तर अनाधिकृत गतिविध रोक्न आफूहरुले काम गरिरहेको प्रहरीले बताएको छ ।

अहिलेको समस्या कलेज पढ्ने विद्यार्थी

पशुपति क्षेत्रको वर्तमान समस्या भनेको युवा पुस्ता हुन् । क्याम्पस पढ्दै गरेका युवायुवतीहरु पशुपति क्षेत्रमा भेटिन्छन् । ‘कतिपय त क्याम्पसको पोशाकमै आपत्तिजनक अवस्थामा समेत भेटिन्छन’ कोषका एक अधिकारीले भने । उनका अनुसार यस्तो अवस्थामा भेटिएका युवायुवतीलाई सम्झाएर परिवारको जिम्मा लगाइदै आईएको छ ।

कोषलाई हाल जथाभावी फोहोर गर्नेलाई कारबाही, कर नतिरी फुटपाथमा पसल राख्नेलाई जरिवान र गाँजा सेवन गर्नेलाई पक्राउ गर्ने अधिकार छैन । तर पनि काम गरिरहेको कोषाध्यक्ष थापाले बताए । ‘हाल बन्दै गरेको नयाँ कानुनमा भने कोषलाई जरिवाना सम्मको अधिकार दिने तयारी रहेको हामीले बुझेका छौँ’ उनले भने, ‘यदि यसो भयो भने हामीलाई काम गर्न सहज हुन्छ र सोचे जस्तो पशुपति क्षेत्र बन्छ ।’

यस्ता धेरै खाले विकृतिबाट पशुपति क्षेत्र विस्तार आफ्नो पूर्ववत् लयमा फर्किन खोजिरहेको छ । पशुपति क्षेत्रलाई २/४ घण्टा आराम गर्न सक्ने मात्रै बनाउन सकियो भने पनि ठूलो उपलब्धि हुनेछ । यस क्षेत्रलाई विशुद्ध धार्मीक गतिविधिका रुपमा विकास गर्न नागरिक स्तरबाट पनि सहयोग र चेतना बढ्नु जरुरी रहेको कोषका पदाधिकारीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved