Announcement IPO Result



मोहम्मद अज्मत अलि     Mar 11, 2019 | 01:49:02 PM



shivam cement

नेपाल लाइफ इन्सुरेन्सले ४८ प्रतिशत (नगद २३.५ र बोनस २५) लाभांश घोषणा गरेपछि धेरैले फेसबुकका बिभिन्न समुहमा कौतुहलता प्रकट गर्दै प्रतिशेयर आम्दानी रु. १०.९० भएको कम्पनीले कसरी झन्डै ५ गुणा हाराहारीमा लाभांश घोषणा गर्नसक्छ भन्दै आश्चर्य प्रकट गरेका छन्  | यस्ता प्रश्न स्वाभाविक पनि हो | गत वर्ष नगद र बोनस गरि ७२ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफले यसपटक किन घटायो भन्ने प्रश्न पनि गरेको भेटिएको थियो | 

कतिपयले आगामी वर्ष ७० प्रतिशत नै दिन्छ भनेका थिए भने कतिपयले आगामी वर्षदेखि यसको लाभांश क्षमता अहिले दिएको भन्दा आधा घट्ने भन्ने टिप्पणी गरेका थिए | ‘बढ्छ र घट्छ’ भन्ने केहीका विश्लेषण सान्दर्भिक नै थिए तर अधिकांश भने ‘मुडे तर्क’ मा उत्रेका देखिन्थे | यस्ता मुडे तर्कले कम्पनीको वार्षिक र त्रैमासिक प्रतिवेदन गहन अध्ययन गर्दैनन् भन्ने तथ्यलाई पनि स्थापित गरेको छ | 

यी तर्क वितर्क पश्चात अब प्रश्न उठ्छ के नेपाल लाइफले संधै यसैगरी निरन्तर यस्तै लाभांश घोषणा गर्न सक्ला ? यस्तै प्रश्न नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमवि बैंकको सन्दर्भमा पनि उठ्छ | आर्थिक वर्ष २०७४/७५ को साधारणसभामा १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश घोषणा गरेपछि इन्भेष्टमेन्ट बैंकले लगानीकर्ताको मुहार संधै हंसिलो पार्छ भन्दै उत्साहित टिप्पणी लेखेको पनि भेटिएको छ | कतिपयले भने नेपाल लाइफमा झैँ प्रश्न पनि उठाएका छन् | यी दुइ बैंकले पनि आम्दानी भन्दा बढी लाभांश घोषणा गरेका थिए | 

आम्दानी भन्दा लाभांश बढी 

कुनै पनि कम्पनीका संचालन र गैर-संचालन गरि २ किसिमका आम्दानी हुन्छन | लगानीकर्ताले मुलरुपमा यी दुइ आम्दानी, आम्दानीका स्रोत र यसको निरन्तरतालाइ बुझ्नुपर्छ | यस्तो आम्दानी बुझ्न त्यति गाह्रो पनि छैन | जुनसुकै कम्पनीको मूल उद्देश्य हुन्छ र यसैबाट बढी आम्दानी गर्छ | आम्दानी भन्दा लाभांश दिएका केहि कम्पनीको सुची तालिकामा दिएइको छ | 

आम्दानी र वितरित लाभांश

कम्पनी

प्रतिशेयर आम्दानी

घोषित लाभ

साल

नेपाल लाइफ इन्सुरेन्स

१०.

४८.

 

आर्थिक वर्ष २०७४/७५

नेपाल इन्भेष्टमेन्ट बैंक

३९.१३

४०

बैंक अफ काठमाडौं

२१.८४

२५

एनएमबी बैंक

२१

३०

 

 

बैंकको आम्दानी

संचालन आम्दानी भनेको कम्पनीको उद्देश्य अनुरुपको व्यवसायिक गतिविधिबाट प्राप्त आम्दानी हो | बैंकको मूल उदेश्य निक्षेप संकलन गरी कर्जा प्रवाह गर्नु हो | निक्षेप र कर्जाको ब्याज अन्तर बैंकको आयको मूल स्रोत हो | यसैसँग जोडिएर आउने शुल्क, कमिसन, विदेशी मुद्रा सटही घटवढबाट हुने लाभ, अन्य संचालन आम्दानी पनि पनि मूल आम्दानीको परिभाषामा पर्छ | बैंकले गैर-संचालन आम्दानीको रुपमा शेयर लगानीबाट पूँजीगत लाभ र लाभांश पनि पाएका हुन्छन | 

विमाको आम्दानी 

त्यस्तै बिमाको मूल आम्दानी स्रोत बिमा दावी भुक्तानीबाट प्राप्त हुन्छ | यस्तो आम्दानीको विवरण त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको हुन्न | त्यसैले बिमा कम्पनीको त्रैमासिक वित्तीय विवरण हेरेर यथार्थ मूल्यांकन गर्न सकिन्न | बिमाको बिमांकी मूल्यांकन पश्चात मात्र विमाको मूल आम्दानी थाहा हुन्छ | यस्तो मूल्यांकन वर्ष सकिएपछि मात्र थाहा हुन्छ जुन र प्रकाशित हुन्न | लाभांश घोषणा गर्दा मात्र माथि शुरुमा भनिए जस्तो आम्दानी भन्दा बढी लाभ घोषणा गरेपछि अचम्म पर्दै लेख्नुपर्ने हुन्छ | बिमांकी आम्दानीलाई मुल आम्दानी मानिन्छ | बिमा कम्पनीको त्रैमासिक विवरणमा देखिने आम्दानी अन्य आम्दानी हो | यस्ता अन्य आम्दानीमा ऋण लगानी, मुद्दती, शेयर लगानी, ऋणपत्रको ब्याज आदि हुनसक्छ | 

व्यवसायिक आम्दानी र सिंचाइ लाग्ने खेत 

संचालन आम्दानीको स्रोत निश्चित हुन्छ र जति व्यापार बढाउन सक्यो उति बढ्दै जान्छ र दीर्घकालीनता पनि कायम रहन्छ | उदाहरणको लागि कुलो (सिंचाई) लाग्ने खेत भनेको जस्तै हो | कुलो छ भने बेलैमा रोपाइँ हुन्छ र उब्जनी पनि राम्रो हुन्छ | अतिवृष्टि र अनावृष्टि भयो भने बेग्लै कुरा हो | व्यवसायिक वा संचालन आम्दानी भनेको पनि यस्तै कुलो लाग्ने खेत हो | व्यवसायमा पनि अनावृष्टि र अतिवृष्टि हुनसक्छ | गैर-संचालन वा व्यवसायिक आम्दानी भनेको कुलो नलाग्ने आकाशे पानीको भरमा हुने खेती जस्तै हो | यसको कुनै भर हुन्न | जसरी आकाशे खेतीको भर हुन्न त्यस्तै गैर-संचालन आम्दानीको पनि भर हुन्न |

नाफा-नोक्सान हिसाब खाता

संचालन र गैर-संचालन आम्दानी दुवै नाफा-नोक्सान हिसाब खातामा देख्न सकिन्छ | लगानीकर्ताले यस्तो हिसाब बुझ्न सक्ने क्षमता राख्नुपर्छ | संचालन र गैर-संचालन आम्दानी बुझेपछि त्यस्तो आम्दानी के कति भएको छ सहजै बुझ्न सकिन्छ | लगानी गर्दा मुलरुपमा संचालन आम्दानीलाइ बढी जोड दिनुपर्छ | त्यस्तै यस्तो आम्दानी अगिल्लो त्रयमास वा अगिल्लो आवको पनि तुलना गर्नुपर्छ | त्रैमासिक वित्तीय प्रतिवेदनमा यस्तो विवरण पढ्न पाइने हुन्छ | 

गैर-संचालन आम्दानीको रुपमा प्रिमियम 

तालिकामा देखिएको बढी लाभ कसरी हुनसक्यो संक्षिप्तमा चर्चा गरौं | नेपाल लाइफले केहि वर्ष अघि थप शेयर जारी गर्दा झन्डै ४ अर्ब रकम प्रिमियम प्राप्त गरेको थियो | प्रिमियम रकम (थप बिक्रि वा लिलामीबाट प्राप्त थप रकम) सिधै वासलातमा पूँजीगत जगेडा कोषको रुपमा देखिन्छ | यस्तो रकम नाफा-नोक्सान हिसाब खातामा देखाउन पर्दैन | यस्तो रकम खर्च गर्ने निश्चित क्षेत्र तोकिएको छ | सामान्यतया यस्तो रकम पूँजीकरण गर्नमा बढी उपयोग हुन्छ | नेपाल लाइफले गत वर्ष दिएको र हाल प्रस्ताव गरेको बोनस लाभांश यहि पूँजीगत जगेडा रकमलाई पूँजीकरण गरेको हो | वास्तविक लगानीकर्ताको लागि बोनस कुनै लाभ हैन | त्यस्तै इन्भेष्टमेन्ट बैंकले पनि थप शेयर बिक्रि गरेर प्राप्त गरेको प्रिमियम रकम उपयोग गरेको हो | यस्तै कुरा एमएमवि र विओकेको पनि हो | 

व्यावसयिक आम्दानीलाई बढी भार

लगानी गर्दा यस्ता गैर-व्यवसायिक लाभ प्राप्त गरेर देखाइएको लाभ भन्दा कम्पनीले व्यवसायिक गतिविधिबाट प्राप्त गरेको आम्दानीबाट दिएको लाभलाइ बढी भार र महत्व दिनुपर्छ | नेपाल इन्भेष्टमेन्ट बैंकसँग रहेको गैर-व्यवसायिक रकम लगभग पूँजीकरण गरिसकेको हुँदा अबका आउने दिन भनेको आफ्नै व्यवसायिक आम्दानीमा निर्भर रहेर लाभ दिनुपर्ने हुँदा टिप्पणीकर्ताले भने जस्तो संधै मुहार हँसिलो पार्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ | आगामी वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकले २५ प्रतिशत लाभ दिन पनि निकै ठूलो पापड बेल्नुपर्ने हुनसक्छ | नेपाल लाइफले अहिले प्रस्ताव गरेको लाभ मध्ये व्यवसायिक आम्दानीबाट प्राप्त लाबाट दिएको २३ प्रतिशतलाइ वास्तविक लाभ मानी आफ्नो लगानीबाट कति वार्षिक प्रतिफल आउने रहेछ हिसाब गर्न सक्नुपर्छ | दोस्रोबजारबाट पाइने लाभ क्षणिक हुन्छ र प्राप्त हुन वा नहुन सक्छ | 

जलविद्युतको आम्दानी सम्बन्धमा पनि व्यवसायिक र गैर-व्यवसयिक लाभ हुनसक्छ | गैर-व्यवसायिक लाभको अंक त्यति धेरै हुन्न | थप चर्चा आगामी अंकमा गरिनेछ | 

(अधिवक्ता ज्योति दाहालको सहयोगमा)



Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief













Close in 7