बीमा पोलिसी बेच्न बैंकरको ब्ल्याकमेलिङ, कर्मचारीनै बीमा कम्पनीका एजेन्ट

विजय पराजुली

विजय पराजुली

Apr 29, 2019 | 03:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले बैंकिग सेवा लिन आएका ग्राहकलाई बाध्य पारेर बीमा पोलिसी बिक्रि गर्ने गरेको खुल्न आएको छ। बैंकहरुले स्वीकृत कर्जाबाटै बीमाको प्रिमियम काटेर प्रिमियम लिन बाध्य पारेको सेवाग्राहीहरुले गुनासो गरेका छन। 

पछिल्लो समय यस्तो समस्या बैंकिंग प्रणालीमा ब्यापक रहेको आरोप लागेको छ। प्रिमियम बेच्दा आउने कमिशनले बैंकको मुनाफा बढ्ने भएकाले उनीहरुले बीमा सेवालाई प्राथमिकता राखेको भनाई छ। 

पछिल्लो समय एकै बैंकले दर्जन बढी बीमा कम्पनीहरुको बीमा सेवा बिक्रि गरिरहेका छन। जुन पोलिसीबाट बढी कमिशन आउँछ र फाइदा आउँछ बैंकहरुले त्यहि संस्थाको प्रिमियम बेच्ने भएकाले बीमा कम्पनीहरुले समेत बैंकका कर्मचारीलाई समेत प्रभाबमा पार्ने गरेको बताइएको छ। केहि बैंकका कर्मचारीले आफुले काम गर्ने बैंकसंग सम्झौता भएको संस्थाको पोलिसी बिक्रि नगरी कमिशन बढी दिने अर्कै बीमा कम्पनिको बिमा पोलिसि गर्ने गरेको स्रोतको भनाई छ। 

स्रोतकाअनुसार बिगतमा प्रोत्साहन गर्न लगानी गरेका बीमा कम्पनीहरुले अहिले बैंकका कर्मचारीलाई प्रभाबमा पार्नलाई पनि अदृश्य रुपमा लगानी गरेका छन। 

बैंकका कर्मचारीलाई बीमा पोलिसीको टार्गेट 

बजारमा आक्रामक रुपमा बजार बिस्तार गरिरहेका बैंकहरुले समेत आफ्ना कर्मचारीलाई बीमा पोलिसी बिक्रि गर्नलाई 'लक्ष्य' तोकिदिने गरेका छन। केहि बैंकले एउटा कर्मचारीलाई महिनामा तीनवटा बीमा पोलिसी बिक्रि गर्न लक्ष्य नै दिएका छन। यसले गर्दा बैंकमा काम गर्ने जुनियर पोजिसनका कर्मचारीहरु आफुले पढेको र गरेको बैंकिंग फरक भएको गुनासो गरेका छन। पछिल्लो समय बीमा पोलिसी बेच्ने लक्ष्य भेट्टाउन नसक्ने डरले गर्दा केहि ब्यक्तिहरुले बैंकको जागिर समेत छाडेको बिजपाटीको जानकारीमा आएको छ।   

संस्थागत एजेन्टमा अभिकर्ताको आपत्ति

बैंकहरुले संस्थागत एजेन्ट लिएर बिमा पोलिसी बिक्रि गरिरहेको प्रति अभिकर्ताहरुले आपत्ति जनाएका छन। बैंकहरुलाई सस्थागत अभिकर्ताको लाइसेन्स दिँदा ब्यक्तिगत अभिकर्ताको रोजीरोटी खोसिएको उनीहरुको आरोप छ। बीमा समिति बैंकहरुले कपोरेट एजेन्टको स्वीकृति लिएर बैंकांस्योरेन्सको प्रचार गरिरहँदा मुखदर्शक बनेर बसिरहेको अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी बताउँछन् ।  

बैंकहरुले बैंकिंग सेवा लिन बैंकपुगेका ग्राहकहरुलाई जर्वजस्ति पोलीसी भिडाउने काम गरेको अभिकर्ता संघका अध्यक्ष तिवारी बताउँछन। बैंकहरुले ब्ल्याकमेलिङ गरेर व्यक्तिगत अभिकर्ताका ग्राहक खोसेको समेत अध्यक्ष तिवारीले आरोप लगाएका छन। 'अभिकर्ताले आम मानिसलाई बीमाको बारेमा बुझाएर बीमा गर्न राजी गराउने तर बीमाको लागि पैसा लिन जानेलाई व्यक्तिगत भन्दा बैंकबाट पोलिसी किन्दा फाइदा हुन्छ भन्ने प्रलोभन देखाएर ग्राहक खोस्ने काम भएको छ' तिवारीले बिजपाटीलाई भने। 

त्यतिमात्र नभई ऋणीहरुको कर्जाको निश्चित रकमबाट बीमा पोलिसी किन्न समेत बैंकहरुले बाध्य पारेको तिवारिको दाबी छ। बैंकहरुले स्वीकृत ऋणबाट बीमा बापतको प्रिमियम रकम कट्टा गरेर मात्र ऋण रकम छुट्याउने गरेको उनको दाबि छ।  

यस्तै बैंकहरुले कपोरेट एजेन्टको अनुमति लिएर बैंकांस्योरेन्स भनेर प्रचार गर्नुको साथै निशुल्क बीमा भनेर गरेको प्रचार प्रति पनि अभिकर्ताको आपत्ती रहेको तिवारी बताउँछन् । बैंकहरुले सेवाग्राही बैंकमा कर्जा लिन जाँदा सम्पुर्ण तयारीहरु जस्तै धितो रोक्का तथा कर्जा स्वीकृति सम्मको प्रक्रिया सकेपछि बैंकहरुले बीमा नगरि कर्जा नदिने गरेको उनी बताउछन। त्यसको लागि बैंकले बेचिरहेको बीमा पोलिसि नै खरिद गर्नुपर्ने भनेर फोर्स बीमा गराउने गरेको उनको भनाई छ । 

सर्वसाधारणले स्वेच्छाले बीमा गराउन पाउनुपर्ने अधिकारको बैंकहरुले हनन गरिरहेको उनको भनाई छ। यसरी बैंकहरुले कर्पोरेट एजेनटको नाममा बदमासि गरिरहँदा नियामक निकायले कुनै कदम नचालेको बताउँछन। विभिन्न समयमा बैंकहरुले गरेको बदमासि बारे आफुहरुले बीमा समितिलाई जानकारी गराएको तर बीमा समितिले कुनै कदम नचाल्दा अब अभिकर्ताहरुले बैंकहरुको बदमासिको ठोस सबुत सहित बीमा समितिमा जाने उनि बताउँछन् । 

तर अभिकर्ताले भनेजस्तो बैंकहरुले पोलिसी विक्रि नगरेको बीमा समितिका कार्यकारि निर्देशक पौडेलको भनाई छ। अहिले पनि बीमाको कुल हिस्सा मध्ये कर्पोरेट एजेन्टको हिस्सा २ प्रतिशत मात्र रहेको उनि बताउँछन। तर कर्पोरेट एजेन्टले हालसम्म कति पोलिसि विक्रि गरे भन्ने आधिकारीक तथ्याङ भने बीमा समतिसँग छैन। 

चालु आर्थिक वर्षको फगुन मसान्त सम्मको तथ्याङकअनुसार जिवन बीमा कम्पनीहरुले १३ लाख ३७ हजार ७ सय ८५ बीमालेख विक्रि बाट १४ अर्ब ४१ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन। त्यस्तै जीवन बीमा कम्पनीहरुले सोहि अवधिमा ६० लाख ३० हजार १ सय ७६ बीमालेख विक्रिबाट ३९ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

कर्पोरेट एजेन्टको विवाद अहिले संसदमा पेस भएको बीमा विद्येयक पारित भएसँगै अन्त्य हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन। बीमा विद्येयकमा बैंकांस्योरेन्सको ब्यवस्था रहेकोले एउटा बैंकले एउटा मात्र बीमा कम्पनीको पोलिसि विक्रि गर्न पाउने  पौडेल बताउँछन्।  

यस्तै ब्यवस्था ब्यक्तिगत अभिकर्ताको हकमा पनि लागु हुने उनले बताए । पौडेलले भनेजस्तै बीमा विद्येयक संशोधन भएर आएमा पनि अहिलेको कर्पोरेट एजेन्टलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा बीमा समिति नै अलमलमा देखिन्छ। बैंकांइन्स्योेन्स लागू भएपछि नै अहिले वितरण गरिएको कर्पोरेट एजेन्टबारे छलफल थाल्ने पौडेलको भनाई छ। 

अभिकर्ताको संख्या कति ? 

बीमा समितिको तथ्याङक अनुसार २०७५ सालमा मात्र ८५ हजार २ सय ४३ जनाले अभिकर्ता लाइसेन्स लिएका छन् भने ६३ हजार ३ सय १३ जनाले लाईसेन्स नविकरण गराएका छन। बीमा समितिबाट अभिकर्ता लाईसेन्स लिनेको संख्या कुल संख्या भने ४ लाख ८३ हजार ६ सय ३० रहेको छ। अहिले क्रियाशील अभिकर्ताहरुमा संस्थागत अभिकर्ताहरुको सख्या भने २ सय ७५ रहेको छ। बीमा समितिले अहिले प्राइभेट कम्पनीलाई अभिकर्ता लाइसेन्स दिन बन्द गरेको छ। तर २७५ वटा संस्थागत अभिकर्ता भित्र केहि प्राइभेट कम्पनी पनि रहेको बीमा समितिको भनाई छ ।

बैंकको निशुल्क बीमाबारे बीमा समिति नै अन्यौल

बैंकहरुको निशुल्क बीमाको 'स्किम' लाई लिएर बीमा समिति आफै अन्यौल भएको पाइएको छ। पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरिन्जीबी चापगाईले बैंकहरुले निशुल्क बीमा भनेर गलत प्रचार गरिरहेको भन्दै यस्तो गर्नेलाई कारबाहीको चेतावनी समेत दिए।

अध्यक्ष चापागाईले चेतावनीको भाषा प्रयोग गर्दै बैंकहरुले निशुल्क बीमा भनेर प्रचार गरिरहे कपोरेट एजेन्टको विषयमा सोच्न बीमा समिति बाध्य बन्ने बताएका थिए।  

तर बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने बैंकहरुले निशुल्क बीमा भनेपनि उनीहरुले ग्राहकको तर्फबाट आफैंले प्रिमियम तिरेकाले यसलाई अन्यथा लिन नहुने बताएका छन। बैंकहरुले आफ्ना सेवाग्राहीलाई निशुल्क बीमा सेवा प्रदान गर्न पाउने भएपनि बीमा त निशुल्क र सित्तैमा पाइने सेवा रहेछ भन्नेगरि उनीहरुले गरेको प्रचार प्रसारको शैली भने गलत भएको निर्देशक पौडेलको भनाई छ।

पछिल्लो समय बैंकहरुबीच ग्राहक तान्नलाई निशुल्क बीमाको अस्त्र प्रयोग गरिरहेका छन। नबिल, सनराइज, एनएमबि लगायतका बैंकहरुले निशुल्क बीमा भन्दै प्रचार गरिरहेका छन। बैंकहरुले ग्राहकलाई दिने सेवाको लागि प्रिमियम तिरेपनि निशुल्क बीमा भनेर प्रचार गर्दा बीमा सेवा सित्तैमा पाइने रहेछ भन्ने भ्रम सर्वसाधारणमा पर्न सक्ने बीमा कम्पनीहरुको भनाई छ। 

बीमा समितिका सल्लाहकार तथा बीमा बीज्ञ भोजराज शर्मा भने बीमा कहिल्यै निशुल्क नहुने बताउँछन। बैंकहरुले आफुले बीमाको प्रिमियम बुझाएर ग्राहक तान्नको लागि बीमा निशुक भनेर प्रचार गरिरेको तर यस्तो भ्रम फैलाउने प्रचार गर्नु गलत भएको उनि बताउछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved