Announcement IPO Result



निरोज कुमार थापा     May 15, 2019 | 12:55:24 PM



shivam cement

सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातयोग्य बस्तुको रुपमा अघि सारेको छ। भर्खरै मात्र आत्मनिर्भरको बाटोमा अघि बढेको नेपालको सिमेन्ट उद्योगको क्षेत्रलाई चाहिने कच्चा पदार्थ समेत बाहिरबाट नै आईरहेको यस्तो अवस्थामा सिमेन्टलाई निर्यातयोग्य बस्तु बनाउन कति सम्भव छ ? 

सरकारले सिमेन्टलाई निर्यातयोग्य बस्तु बनाउने बिषय 'इफ र बट' यदि र तरको बीचमा रहेको सिमेन्ट उद्योगीहरु बताउछन। सिमेन्टलाई चाहिने मुख्य कच्चा पदार्थ 'क्लिन्कर' गत आर्थिक बर्षसम्म २० प्रतिशत भारतबाट आयात हुने गरेको र अहिले पनि १० प्रतिशतजति आयात हुने गरेको उद्योगीहरुको भनाई छ। 

आगामी आर्थिक बर्ष मात्रै 'क्लिन्कर' मा समेत नेपालका सिमेन्ट उद्योग आत्मनिर्भर रहने प्रक्षेपण गरिएको छ। यद्दपी क्लिन्कर बाहेकका अन्य कच्चा पदार्थ जस्तै कोइला, जिप्सन अहिले पनि भारत लगायतका अन्य मुलुकबाट आयात हुने गरेको छ। 

के छ सिमेन्ट उद्योगको अवस्था ?

नेपालमा हाल ६१ वटा सिमेन्ट उद्योगहरु संचालनमा छन। ति मध्ये ५१ वटा उद्योगले नेपालकै अर्को कम्पनीसंग क्लिन्कर खरिद गरेर वा आयात गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन। होंग्सी, शिबम, सगरमाथा, सर्बोत्तम, युनाइटेड, सोना, अर्घाखाची, रिद्धि सिद्धि लगायतका बाँकी १० वटा उद्योगले आफैं क्लिन्कर उत्पादन गरि सिमेन्ट उत्पादन गर्छन। 

आफ्नै क्लिन्कर प्रयोग गर्ने उद्योगसंग औसतमा २-३ वटा चुनढुंगा खानि रहेको छ। व्यक्ति वा सरकारबाट भाडा (लिज) मा लिएर अधिकांश चुनढुंगा खानि संचालनमा छन। 

माग र आपूर्तिको अवस्था 

नेपालमा अहिले बार्षिक ९० लाख टन सिमेन्टको माग रहेको छ। तर सिमेन्ट उद्योगसंग बार्षिक १२० टनको क्षमता छ। यो क्षमता आगामी आर्थिक बर्ष बार्षिक १४० टन पुग्ने प्रक्षेपण छ। माग भन्दा आपूर्ति बढेसंगै सिमेन्ट उद्योगबीच तिब्र प्रतिस्पर्धा छ। 

निर्यात गर्न कति सम्भव ?

नेपालले सिमेन्ट निर्यात गर्ने भनेको भारत र चीनलाई नै हो। तर लागतको हिसाबले निर्यात गर्न गार्ह्यो हुने उद्योगीहरुको भनाई छ। नेपालमा उत्पादन भएका सिमेन्ट र चुनढुंगा निर्यात गर्नलाई नेपालको लागि भारतको युपी र बिहार मुख्य बजार हुन सक्छन। तर दुरीको हिसाबले निर्यात हुने सम्भावना न्यून देखिन्छ। 

तर नेपाल सरकारले सिमेन्ट उद्योगलाई चाहिने पूर्वाधार, चुनढुंगा खानिसम्म पुग्ने बाटो, उद्योगसम्म पुग्ने सडक जस्ता पूर्वाधार निर्माणमा सहजीकरण गरिदिने हो भने नेपाली सिमेन्ट उद्योगको लागत स्वत कम हुनेछ। जसले गर्दा भारतका सिमेन्टहरुसंग मुल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सहज हुने उद्योगीहरुको भनाई छ। सिमेन्ट युपी र बिहारसम्म पुर्याउन पर टन पर किलोमिटर ७ रुपैयाँ लाग्ने देखिन्छ। जुन आफैंमा ठुलो लागत हो। 

चुनढुंगासम्म जानलाई सडक र पूर्वाधार राम्रो बनाइदिने र खर्च कम कम हुने बातावरण बनाइदिने हो भने भारत निर्यात हुन सम्भव छ। तर य्थास्तिथिमा सम्भव नभएको विश्लेषण छ। 

नेपालका सिमेन्ट उद्योगहरु क्लिन्कर बाहेकका अन्य कच्चा पदार्थ कोइला, जिप्सनमा आत्मनिर्भर भईसकेका छैनन। यस्तो अवस्थामा सरकारले यी कच्चा पदार्थ निर्यातमा केहि सुविधा दिए लागत कम भई भारत निर्यात हुन सम्भव छ तर यसका लागि पनि य्थास्तिथिमा सम्भब नभएको उनीहरुको भनाई छ। 

करको अर्को समस्या 

भारतमा सिमेन्टमा २८ प्रतिशत कर लाग्छ भने नेपालमा १३ प्रतिशत मात्रै छ। नेपालका कम्पनीले भारतमा निर्यात गर्दा २८ प्रतिशत कर तिर्नुपर्ने भएकाले लागत धेरै पर्नेछ। अहिलेकै अवस्थामा करकै कारणले नेपाली सिमेन्ट उद्योगले भारतका कम्पनीसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन। भारतमा ३२५ देखि ४०० प्रति बोरा पर्ने सिमेन्ट नेपालमा औषतमा ६५० पर्न आउँछ। जसले भारत भन्दा नेपालका सिमेन्ट महँगो पर्छन।

आन्तरिक समस्या उस्तै 

अन्य उद्योग व्यवसाय जस्तै सिमेन्ट उद्योगको पनि आफ्नै ब्यथा र कथा छन। झन्डै ४० प्रतिशत सिमेन्ट परियोजनामा प्रयोग हुने भएकाले सरकारको पुँजीगत खर्च गर्ने शैलीबाट प्रत्यक्ष रुपमा नेपालका सिमेन्ट उद्योग मारमा पर्छन। 

पुँजीगत खर्चको चक्र नियमित नहुँदा र सरकारले समयमै खर्च गर्न नसक्दा बैंकिंग प्रणालीमा लगानीयोग्य रकमको अभाब खड्किरहेको छ। यसको सिधा असर निर्माण काममा पर्ने गरेको छ। निर्माण भएपनि सिमेन्टको भुक्तानी समयमै नपाउने र अर्को तर्फ निर्माण ठप्प हुँदा सिमेन्ट प्रयोग नहुने भएकाले दुवै तर्फबाट सिमेन्ट उद्योग मारमा छन। महँगो ब्याज पनि अर्को समस्या रहेको सिमेन्ट उद्योगीको भनाई छ।  

कति प्रकारका सिमेन्ट उत्पादन हुन्छन ?

नेपालमा सामान्यतया ओपिसी, पीपीसी र पीएससी गरि तिन प्रकारका सिमेन्ट उत्पादन हुन्छन। मुल्यको हिसाबले ओपिसी महँगो हुन्छ भने पिपिसी र पीएसएसी समान जस्तै हुन्छन। ओपिसी, पीपीसी र पीएससी कुनको गुणस्तर कति भन्दा पनि स्थान र प्रयोगको आवश्यकता अनुसार फरक फरक महत्त्व हुन्छ।   

ओपिसीको भारबहन क्षमता बढी हुन्छ। जसमा धेरै क्लिन्कर प्रयोग हुन्छ। नेपालको बजारमा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन हुने गरेको कम्पनीको दाबि छ। 

त्यस्तै पिपिसी सिमेन्ट भार बहन क्षमता कम भएको ठाउँमा प्रयोग हुने गर्दछ। तराइ क्षेत्रमा पिपिसी सिमेन्ट बढी प्रयोग हुने गर्दछ। किनकि यसमा ६० प्रतिशत क्लिन्कर र ४० प्रतिशत फ्य्ल्यास नामको कच्चा पदार्थको प्रयोग हुन्छ। 

त्यस्तै पीएससी सिमेन्ट सामान्यता पिपिसी कै स्तरमा हुन्छ तर दुवैको प्रयोग भने भिन्न प्रयोजनको लागि हुन्छ। यसमा ६० प्रतिशत क्लिन्कर प्रयोग हुन्छ भने ४० प्रतिशत 'लेदो' प्रयोग हुन्छ। नेपालको भौगोलिक अवस्था हेरेर बिभिन्न प्रकारका सिमेन्टको प्रयोग हुने गर्दछ। तर सरकारको नीति नियमका कारण नेपालम उद्पादन हुने सिमेन्ट ठुला परियोजनामा प्रयोग हुन सकेका छैनन। स्वदेशकै परियोजनामा बिदेशी सिमेन्ट प्रयोग भैरहेको अवस्थामा सिमेन्ट निर्यातयोग्य बस्तु बन्छ भन्ने बिषयमा सरकारको घोषणाप्रति उद्योगीहरुको शंका ठुलो छ।  

Share your thoughts!

निरोज कुमार थापा

Reporter













Close in 7