नेपाल आत्मनिर्भर भएको प्रविधिजन्य उद्योग भनेको सिमेन्ट उद्योग हो । यद्यपी अझै ठूला आयोजना र राष्ट्रिय गौरवका परियोजनामा नेपाली सिमेन्ट प्रयोग हुँदैनन् । कारण के हो भने, नेपाली सिमेन्टलाई उच्च ग्रेडको भनेर गुणस्तर दिने मापदण्ड सरकारसँगै छैन ।
नेपालमा उत्पादन हुने र भएका सिमेन्टमा चुहावटको समस्या निकै छ । विभिन्न कारणले सिमेन्टमा चुहावट बढिरहेको छ । यसमा सिमेन्ट उद्योगीदेखि डिलरसम्म संलग्न छन् । यतिसम्म कि ५० किलोको भनेर सिमेन्ट किनेका उपोभोक्ताले एक बोरामा ५ किलोसम्म सिमेन्ट पाउछन् । अर्थात उपभोक्तासम्म आईपुग्दा सिमेन्टको तौल ५० बाट घटेर ४५ पुग्छ ।
कसरी हुन्छ त् सिमेन्ट चुहावट ?
१) परम्परागत प्याकेजिङ
उत्पादनका बखत विश्वस्तरीय प्रविधिको प्रयोग भएको भनिताएपनि प्योकजिङमा नेपालको सिमेन्टमा हेलचक्र्याई कायम छ । प्योकजिङमा पराम्परागत बोरा नै प्रयोग भएका छन् । यस्तो प्योकजिङमा लोड÷अनलोडका समयमा सिमेन्ट तोकिएको र हुनुपर्नेभन्दा कम तौलको हुने सम्भावना हुन्छ । डिलरले बदमासी समेत गर्ने गरेको गुनासो पनि आउने गरेका छन् ।
पछिल्लो समय सिमेन्टको प्याकेजिङमा लेजर सिल प्याकेजिङको प्रयोग भनि यदाकदा भएको छ । नेपालका केही सिमेन्टले पनि यसको प्रयोग गर्न थालेका छन् । यस्तो प्याकेजिंङले सिमेन्टको बोरालाई परम्परागत रुपमा प्रयोग हुने बोराहरू भन्दा मजबुत बनाउछ भने बोरा च्यात्न सकिदैन । त्यति मात्र नभई प्याकिङ तथा ढुवानीको क्रममा हुन सक्ने चुहावट पनि रोक्दछ ।
२) सिमेन्टको बोरामा सुईरो
सिमेन्ट बजारमा पुग्दा सामान्यतय एउटा बोरा ५० किलोग्रामको हुन्छ । तर नेपालकै एक सिमेन्ट कम्पनीले उत्पादन गरेर बजार पठाएको सिमेन्ट ४५ किलोमात्रै भएको पनि भेटिएको छ । नाम नबताउने सर्तमा काठमाडौँकै एक सिमेन्ट व्यापारी (डिलर) ले सिमेन्ट कम्पनीले नै डिलरलाई विश्वास दिलाउन बोरा उधिनेर सिमेन्ट झिकेर देखाउँछन् भनेका छन् ।
यसरी विभिन्न स्थानबाट सिमेन्टको डिलर बन्न चाहानेले सिमेन्ट उद्योगी वा उद्योगको भण्डारणमा पुग्दा डिलर गर्न चाहानेलाई उद्योगीले बोरामा एउटा सुइरोले रोपेर सिमेन्ट देखाउने गर्छन् । यसरी देखाउनका लागि सिमेन्ट निकाल्दा तौलमा फरक पर्ने हुन्छ । ठाउँ ठाउँमा सुईरोले सिमेन्ट झिकेर देखाउंदा तौल कम हुन्छ ।
३) खुद्रा कारोबार
डिलरले आफ्नो प्रयोजन र आफन्तलाई ढकमा जोखेर बेच्न यसरी सिमेन्ट निकाल्ने गरेको पनि पाईएको छ । सामान्यतय सिमेन्ट बोरामै विक्रि गर्नुपर्छ । तर डिलरले बोरा च्यातेर ५ किलो ६ किलो पनि बेच्ने गरेका छन् । बोरा फोरेर सिमेन्ट भुईमा राखेर बेच्दा सिङ्गै बोरामा बेच्दा भन्दा फाइदा हुने एक सिमेन्ट बिक्रेताले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
अर्को कुरा, सिमेन्टलाई बोराबाट बाहिर निकालेपछि हावा पानी र तापक्रमका कारण त्यसको गुणस्तरमा कमी आउछ । बोराबाट बाहिर निकालेपछि उत्पादनका समयमा जति गुणस्तरको हुन्छ त्यति नहुने तेज सिमेन्टका एक अधिकारीले बताएका छन् ।
४) कर्नर ब्यागको कमी
नेपालमा अहिले उत्पादन थालेका सिमेन्ट कम्पनीले ४ कर्नर ब्याग प्रयोग गर्दै आएका छन । जबकी ८ कर्नर ब्यागको प्रयोगको प्रचलन पनि बढिसकेको छ । यसरी ४ कर्नर ब्यागको प्रयोगमा चुहावटको सम्भावना बढी हुने नेपाल गुणस्तर विभागले जनाएको छ । यद्यपी यति नै कर्नरको ब्याग प्रयोग गर्नुपर्छ भन्ने मापदण्ड र नियम भने सिमेन्ट उद्योगलाई छैन ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भने नेपालका सिमेन्टमा चुहावट नभएको दाबी गर्छन् । लोड अनलोडका समयमा सामान्य तौलमा कहिकतै फरक परेपनि नियत नै गलत राखेर चुहावट नहुने उनको दाबी छ । नेपालको फेयर उद्योग नै सिमेन्ट उद्योग भएको उनको तर्क छ ।