एक रातमा बदलिएकी यौनकर्मी !

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 08, 2019 | 01:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कलंकीको एउटा गेष्ठ हाउसमा हामी ग्राहक बनेर पुग्यौँ । भाई र म । एक/एक वटा कोक मगायौँ । हाम्रो गफ सुनेर गेष्ठ हाउसको काउन्टरमा बस्ने अग्ला व्यक्ति केही शसंकित भएका थिए । ‘हामी आज यतै बास बस्छौँ, खाना पनि बनाउनु है’ मैले काउन्टरमा भने । बेलुकाको साढे ९ बजेको हुँदो हो । एक हुल नानीहरु आए । हामी तिर संकेत गर्दै उनीहरु कस्ता लोभी मान्छे भन्दै गफ गरिरहेका थिए । मैले भाइलाई आज यी नानीहरुसँग कुरा गर्नुपर्छ है भने । 

म पेशाले पत्रकारिता गर्ने मान्छे । गर्ने त के भन्नु, सिकिरहेको मान्छे । भाई बेकरीमा काम गर्छ । मेरो पहिल्यै देखिको चाहाना थियो, यौनकर्मी महिलाहरुको आफ्ना पीडा के हुँदारहेछन भनेर बुझ्ने । भाईले नै मलाई सल्लाह दिएको, ‘महिला भन्दा पनि बालिकाको कुरा लेख्दा राम्रो हुन्छ ।’ त्यसैले सुरक्षाको लागी मैले भाइलाई लिएर गएको थिए । 

साथी उर्फ बालिका 

खाना खाएपछि पनि हामी बसिरह्यौ । काउन्टरमा महिला आइन् । ‘सरहरुलाई साथी चाहिएको हो कि के हो ?’ प्रश्न गरिन् । मैले ‘अँ’ भनिदिए । एक रातको एक हजार देखिको ‘रेट’ भएका नानीहरु रहेछन् । 

मैले हामी दाजु भाई एउटै कोठामा सुत्छौँ दुई वटा बेड भएको कोठा मिलाउन भने । काउन्टरबाट हुकुम भयो, ‘४ नम्बर कोठा सफा गर्दिनु ।’ काउन्टरमा भएकी महिला बोलिन, ‘कुन मन पर्छ लिएर जानु ।’ भाईले त्यहाँकी सबैभन्दा सानी केटीलाई लैजाने भन्यो । 

साहुनीले इशारा गरेपछि उनी अघि लागिन् । हामी कोठामा पुग्दा ओछ्यान मिलाउँदै थिईन् । कोठामा गयौँ । गफ सुरु गर्यौ।

गत माघमा १५ वर्ष पूरा गरेकी शिल्पा उक्त गेष्ट हाउसमा काम गर्न थालेको दुई वर्ष बितिसकेको रहेछ। एक हजार ५ सय काउन्टरमा बुझाएर ती नानीलाई लिएर आएको हुनाले उनी हामीसँग बस्न बाध्य थिइन्। मेरो गफ गराईले उनलाई हामीसँग बस्न मन लागिरहेको थिएन भन्ने कुरा मैले प्रष्ट बुझेको थिए । 

उनको पेशामा कस्ता मानिस आउँछन् ? 

सुरुमा त उनी आफ्नो कामबारे खुलेर बोल्न मानिनन् । उमेर, ठेगाना, घरपरिवार र उनले गर्ने काम बारे सोधपुछ गर्दा उनी पनि डराएकी थिईन् । निकैबेरको केरकारपछि भाइले भन्यो, ‘तिमीलाई केही अफ्ट्यारो पर्दैन, हामी तिमीसँग कुरा मात्रै गर्छौ । तिमीसँग बुझ्न मात्र आएका हौँ ।’ मैले थपे, ‘नडराई निर्धक्क भन । हामी अरु कोही नभएर तिम्रा दाईहरु नै हौँ ।’

त्यसपछि बल्ल उनले घोसेमुन्टो लगाएर भनिन्, ‘यस्तै नराम्रो काम गर्छु ।’ शिल्पाले भनेको नराम्रो काम ‘यौन व्यवसाय’ हो । ग्राहकको विषयमा कुरा उक्याए मैले । उनले बिहे नगरेका २०/२२ वर्ष उमेरका कम ग्राहक आउँछन् भनिन् । ‘बिहे भाका धेरै आउँछन्, कोही दुई चार घण्टा बस्छन्, कोही रातभरी पनि बस्छन्’ अलिक खुलेर कुरा गरिन् यो पटक । 

एक दुई घण्टा बस्ने चाँही नियमित ग्राहक हुन् । ‘एक घण्टा दुई घण्टा बस्न चाँही ठूला ठूला हाकिमहरु आउँछन्, दिउँसै पनि आउँछन् । मेरो नम्बर लेर जान्छन्, मन लाग्दा फोन गर्छन् मैले यीँ बोलाउँछु ।’ उनीहरुले भनेको बेलामा मानेन भने भड्किने डर छ उनलाई । यसरी दिउँसो आउनेले टिप्स खासै दिँदैनन् रे । ‘खाजा खाँ  भनेर १०० रुपैयाँ दिन्छन्, समाउनै पर्यो’ शिल्पाले भनिन् । 

होटल साहुले गेष्ठ हाउस पठाए 

उनी काठमाडौँ छिरेको तीन वर्ष भयो । गाउँकै एक जना दिदीले होटलमा भाँडा माझ्ने काम लगाईदिन् । होटल साहुको व्यवहारले उनलाई सानैमा यौनकर्मी बनायो । होटलमा काम गर्न साना साना केटी ल्याउने र ५/६ महिना काम लगाएपछि अब काम सिक्यौ हाम्रो ठूलो होटल छ त्यहाँ काम गर्नुपर्छ भनेर साहुले नै उनलाई गेष्ट हाउसमा पुर्याए । अहिले ती साहु कहिलेकाही आउँछन् रे, गेष्ट हाउसमा मालिक आएको दिन । 

होटलमा भाडा माझ्दा उनी होटलमै बस्थिन । तर गेष्ट हाउसमा गएदेखि उनको बस्ने टुंगो छैन । ६ महिनाअघि यस्तै पेशा गर्ने केटीहरुसँग मिलेर उनले नैकापमा कोठा खोजिन । महिनाको ४ हजार भाडा तिर्नपर्छ । ३ जना बस्छन् । 

‘आफैलाई बेचेकी छु’ 

कक्षा ७ सम्म पढेकी शिल्पाको कमाई मासिक ४० हजारसम्म हुन्छ । ‘कमाई के भन्नु, आफैलाई बेचेछु जस्तो लाग्छ ।’ उनले गहभरी आँशु पार्दै भनिन् । पढाई छोडेकोमा पछुतो छ उनलाई । कम्तीमा एसएलसी गर्न पाएको भए केही राम्रो काम पाइन्थ्यो कि भन्ने छ । तर फेरि पढ्न मन छैन उनलाई । 

गाउँबाट बुबा आमाले दिनमा एकपटक फोन गर्छन रे । के काम छ भनेर सोध्दा राम्रो काम छ भनेर उत्तर दिन्छिन् । परिवारमा तीन छोरीमध्ये माइली रहिछिन् । 

सामान्य परिवारमा जन्मेकी उनी लहलहैमा काठमाडौँ आईन, सुन्दर भविष्य खोज्न । आजभोली उनलाई काठमाडौँ नर्क जस्तै लाग्छ । एक मनले खुशी पनि छिन् । ‘भगवानले यस्तै भन्या रछ, कम्तीमा माग्नु त परेको छैन’ उनी चित्त बुझाउन खोज्छिन् । तर सक्दिनन्, फेरि भकानिन्छिन् । 

‘अब त गाउँ जान मन छैन । के मुख लिएर जानु ?’ उनले फेरि भनिन् । भाईले भन्यो ‘बैनी तिमीलाई के गर्न मन छ ?’ उनले तालिम लिएर लेडिज टेलर्स खोल्न मन भएको सुनाईन् ।

रातको १ बज्न लागेको थियो, रुदैँ थिईन उनी । सुत्न आग्रह गर्यौ, उनी मानिनन् । धेरै फकाएपछि उनले भनिन्, ‘सायद मेरा पनि दाजु भाई थिए भने आज म यो पेशामा हुने थिईन होला, दुख गरेर भएपनि राम्रै बनाउथे होला है ।’ उनको यो भनाईले निकै भावुक बनायो । टेलरिङ सिक्न लाग्ने खर्चमा सहयोग गर्ने बचन दिए मैले । उनी पनि टेलरिङ सिक्न राजि भईन् । बहिनी भनेर सम्बोधन गर्दा उनको मुहारमा चमक आयो । 

अनि निकै बेर पारिवारिक गन्थन गरेपछि भाईले ५ हजार रुपैयाँ झिकेर दियो । बहिनी सुत अब, बिहान हामी सबेरै जानुपर्छ भन्यौँ । बहिनी सुतिन्, हामी पनि सुत्यौ । बिहानको सवा ५ बजे हामीलाई बहिनीले नै उठाईन, फोन नम्बर आदान प्रदान गरेर छुट्यौँ । 

सिलाई बुनाईको तालिम सिक्दै

बहिनी अहिले दिउँसो बल्खुमा सिलाई बुनाईको तालिम सिक्न थालेकी छिन् । सिकाउने दिदी आरती हुनुहुन्छ । दिनमा एकपटक फोन गर्छिन् बहिनीले । अहिले रातको पेशा गर्दिनन् । आरती दिदीसँगै बस्छिन् । 

उनी खुशी हुँदै भन्छिन्, ‘दाई, मैले कुर्ता सुरुवाल सिलाउन जानिसके ।’ उनको यो कुराले निकै खुशी बनाउँछ । उनले एउटा सर्त राखिसकिन, ‘सिक्ने मान्छे धेरै आउदा रहेछन याँ, मलाई एउटा मेसिन किन्दिनुन म कोठैमा सिक्छु’ मैले हुन्छ भनेको छु । भदौसम्ममा किनिदिने बचन पनि दिएको छु ।

नियत सफा राख्दा गलत बाटोमा लागेकाहरुलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने उदाहरण हो यो । कम्तीमा एउटा चेलीलाई दुनियाँले थुक्ने ढलबाट विस्तारै बाहिर निकाल्न सकेको छु ।

(नोटः उनको नाम र तस्बिर अर्कै छ)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved