मोहम्मद अज्मत अलि     Jul 14, 2019 | 11:18:15 PM



sunrisebank

सरकारले बजेटमा ठुला बाणिज्य बैंक मर्ज गर्न प्रोत्साहन गर्ने भनेपछि नेपाल राष्ट्र बैंक मर्जरको लागि तात्तिएको छ। मर्जको लागि हौसिएको राष्ट्र बैंकले असार १२ गते बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारीलाई डाकेर मौद्रिक नीति पुर्व नै मर्जरको लागि तयार रहन निर्देशन दियो। 

राष्ट्र बैंकले निर्देशन दिएको ८ दिनमै नेपालका दुई ठुला बाणिज्य बैंक ग्लोबल आइएमई र जनताबीच असार २० गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भयो। 

यी दुई ठुला बाणिज्य बैंकबीच भएको मर्जरलाई केहिले हतारको निर्णय भनेका छन भने केहीले समयको मागको रुपमा अर्थ्याएका छन। दृष्टिकोण आ आफ्ना हुन्छन र हुनु स्वाभाविक पनि हो। तर आम सर्वसाधारणमा भने यी दुई बैंकबीचको मर्जर यति छोटो समयमा सम्भव कसरि भन्ने चाँसो अझैं  थाँती छ। 

यहि चाँसोलाई सम्बोधन गर्न असारको झरीको बेवास्ता गर्दै बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिबिजय पराजुलीले जनता बैंक (अब बन्ने ग्लोबल आइएमई बैंकका समेत) का प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीसंग भेटेर 'मर्जर सम्भव कसरि भयो ?' भन्ने प्रश्न गरेका छन। 

सीईओ क्षेत्री भन्छन, 

मर्जर अचानक भएको होइन। यसका पछाडी लामो अध्ययनको ठुलो छ। काठमाण्डौ बाहिरका बिभिन्न ठाउँ पुग्दा त्यहाँ एकै स्थानमा, एकै भवनमा धेरै बैंकका शाखा देख्दा मनमा एउटा प्रश्न उब्जिन्थ्यो, उस्तै प्रकृतिका धेरै बैंकका धेरै शाखा एकै ठाउँमा हुँदा कसलाई फाइदा होला ?

दैनिक कार्य तालिकामा ब्यस्त हुने बैंकरहरुलाई रणनीति र योजना बनाउने समय कमै हुन्छ। मध्यरातसम्म कार्यालयमै बसेर बैंकको काम गर्नुपर्ने अवस्थाबीच पनि रणनीति बनाउनका लागि केहि समय आफुलाई छुट्ट्याए र अध्ययन गर्न थाले। 

मेरो अध्ययनले गजबको तथ्य देखायो। २८ वटा बाणिज्य बैंकका शाखा र तिनका ग्राहक संख्या र नेपाली जनताको संख्यालाई हिसाब गर्दा १० लाख जनताको लागि एउटा बैंक भएको पाए। जबकी छिमेकी देश भारतमा १ करोड ५५ लाख जनता बराबर एउटा बैंक छ भने बंगलादेशमा २९ लाख बराबर एउटा बैंक छ। त्यस्तै पाकिस्तानमा ४० लाख बराबर एउटा बैंक छ। 

बाणिज्य बैंक बाहेक बिकास बैंक पनि नेपालमा ११ वटा छन। चुक्तापुंजी र एलसी खाता खोल्न पाउने बाहेकको कुरा हेर्दा राष्ट्रिय स्तरका बिकास बैंक पनि बाणिज्य बैंक नै हुन भन्दा फरक पर्दैन। यसलाई जोड्दा नेपालमा साढे ७ लाख जनता बराबर एक बैंक देखिन्छन।

हाल देशमा १ लाख जनताको लागि १६ वटा बैंक शाखा छन। जुन सङ्ख्याको हिसाबले दक्षिण एसियाकै राम्रो हो। ११ वटा बिकास बैंक पनि जोडेर हेर्ने हो भने काठमाण्डौको रिंगरोड लगायत मुख्य शहरमा शाखा खुलेकाले १ लाखमा १६ वटा बैंक शाखा पुगेको देखिएको हो। यसलाई वित्तीय पहुँच भन्न मिल्दैन। 

मर्जर वा ठुलो बैंक बन्ने अभियानमा ढिलाई भयो भने कुनै एउटा ठाउँमा दर्जनौ बैंकका शाखा पुग्ने अवस्था आउँछ। अहिलेपनि जुन ठाउँमा एउटा बैंकको शाखा पुगेको छ त्यहाँ अर्को बैंकको शाखा संचालनको तयारि देखिन्छ। अब सबैले प्रश्न सोध्ने बेला आएको छ, के १ लाख जनतामा १६ वटा बैंक शाखा आवश्यक छ ?

बैंकको शाखा बिस्तारसँगै अनुभवी र क्षमता भएका व्यक्तिको पनि बिकास भएको छ कि छैन भन्ने सोच्नुपर्छ। अहिले अनुभव नभएकालाई बैंक शाखा चलाउन दिईएको छ। कम अनुभव भएकाले पनि ठुला बैंक हाँकेका छन, यसले बैंकिङ क्षेत्रमा ठुलो जोखिम पनि निम्त्याउन सक्छ। 

मेरो अध्ययनले देखाएको यो तथ्यलाई जनता बैंकको संचालक समिति (बोर्ड) मा पुर्याए र बोर्ड पनि सहमत (कन्भिन्स) भयो। यो अध्ययनले तब तिब्रता पायो जब अर्थमन्त्री ड़ा युबराज खतिवडाले नेपालको पहिलो पूर्वाधार विकास बैंकको उद्घाटन अवसरमा अब बैंकहरु मर्जमा जानुपर्छ भन्नुभयो।

उद्घाटन सत्रमा मन्त्रीज्युले बोल्नुभएको 'शब्द' ले मर्जरको लागि उत्साहित बनायो। त्यसपछि बजेटमा आएको ठुला बाणिज्य बैंकलाई मर्जरको लागि प्रोत्साहन गरिने भन्ने कुराले हामिलाई प्रोत्साहन मिल्यो। 

असार १२ गतेको नेपाल राष्ट्र बैंकको मार्ग दर्शनले मर्जलाई 'अर्जेन्सी' मा पुर्यायो। जनता बैंक पहिलेदेखि नै उपयुक्त जोडीको खोजिमा थियो र धेरैसँग कयौं पटक छलफल पनि चलेको हो। यहि बेला राष्ट्र बैंकले मर्जरको लागि दिएको मार्ग दर्शनले सबै बैंकहरु मानिसिक रुपमा मर्जरको लागि तयार देखिए। 

उता ग्लोबल आइएमई बैंक भित्र पनि हाम्रो जस्तै अध्ययन चलिरहेको रहेछ। दुवै बैंकले पहिले नै मर्जर महसुस गरेको र राष्ट्र बैंकको पनि मार्ग दर्शन भएकाले दुवै बैकबीच मर्जर सम्भव भयो। 

बिगतमा जनता र माछापुछ्रे बैंकबीच मर्जरलाई लिएर टुटेको कुरा अहिले ग्लोबल आइएमईसँग सम्भव भएको हो। जनता अर्को राम्रो जोडीको खोजीमा भएकाले धेरैसँग कुरा चलिरहँदा ग्लोबलसंग धेरै कुरामा सहमति जुट्यो र मर्जर भयो, तर अचानक भने भएको होइन। यसलाई दुवै बैंकको भाषा, शैली र सोच मिल्यो भन्नु पर्छ।

हामीले नेपाल राष्ट्र बैंकको मर्जर बिनियामावलीमा भएको व्यवस्थाअनुसार जनता बैंकको भ्यालुएशन् गरेर संचालक समितिलाई दिएका थियौं। यसले पनि जनता बैंकको बोर्ड मेम्बरलाई मर्जरको लागि उपयुक्त जोडी खोज्नलाई धेरै सहजता प्रदान गर्यो। मर्जरको लागि हाम्रो बोर्ड मेम्बर जसरि प्राबिधिक अध्ययनको हिसाबले तयार थियो त्यसै गरि ग्लोबल आईएमई बैंकमा पनि त्यहि प्रकारको तयारि देखिन्थ्यो। 

स्वतन्त्र व्यक्ति राखेर तयार भएको भ्यालुएशनले मर्जर कमिटिलाई पनि सहज बनायो। पुर्व तयारिको कारणले असार १९ गते बिहिबार ग्लोबल र जनता बैंकबीचको छलफलमा भ्यालुएशनको बिषयमा धेरै कुरा उठेन। बैंकको नाम, अध्यक्ष, संचालकको नाममा सहजै सहमति जुट्यो। वातावरण यति सकारात्मक बन्यो कि स्वाप बढी आउने भए संचालक सदस्य छोड्न पनि जनताका संचालक तयार हुनु भयो। दुवै बैंकका बोर्ड सदस्य एकै ठाउँ हुँदा मैले मर्जरको सफलताको लागि म बीचमा आउनु हुन्न भने। 

ऐतिहासिक क्षण

शुक्रबारको दिन बिशेष रह्यो। बिहान ७ बजेट मर्जर कमिटिको बैठक बसेर एक घण्टामा नै मर्जरमा जाने बिषयमा निर्णय भएछ। बिहान साढे ८ बजे सांग्रिला होटलमा तुरुन्त आइपुग्नलाई फोन आयो। र म सिधै उतै गए। दुवै बैंकका अध्यक्ष, संचालक सदस्य र उच्च व्यवस्थापनका सबैले आ आफ्नो धारणा राख्ने काम भयो। 

लगत्तै मर्जर कमिटिको बैठक बस्यो। त्यसपछि बोर्ड बैठक बस्यो र मर्जर सम्बन्धि सम्झौता सम्बन्धमा ड्राफ्ट तयार भयो र त्यहीं दुवै बैंकका अध्यक्षबीच मर्जर सम्झौतामा हस्ताक्षर भयो। र प्रेस बिज्ञप्ति पनि त्यहीं तयार भयो। उत्तिखेरै हामि राष्ट्र बैंक पुग्यौं र मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको एक कपि राष्ट्र बैंकलाई बुझायौं। मर्जरको यो म्याराथुन दौड बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म जारि रह्यो।  

दुवै बैंकका अध्यक्षबीच मर्जरको लागि अन्तिम  तयारी चल्दै गर्दा समेत अन्य बैंकहरुबाट मर्जरको लागि प्रस्ताब आईनै रहेको थियो। बिहिबारनै अन्तिम निर्णयमा पुगेर सम्झौतामा हस्ताक्षर नभएपनि निर्णय गरौं भन्नेमा दुवै बैंक तयार थिए। तर अध्यक्षको ब्यस्त कार्यतालिकाले गर्दा उक्त दिन यो सम्भव भएन र भोलि खेर शुक्रबार नै सम्झौतामा हस्ताक्षर भएको हो।

कहिले हुन्छ एकिकृत कारोबार ?

अबको चार महिनामा मर्जरको काम सक्नेगरि सहमति भएको छ। असार मसान्तमा बैंकको क्लोजिङ लगायतका धेरै काम हुने हुँदा काम मर्जरको काम सक्नलाई चार महिनाको समय लिएको हो। यद्दपी यो चार महिनाको समयपनि त्यति सहज हुने देखिदैन। जनताले फ्लेक्सक्युब र ग्लोबल आइएमईले फिनाकल सफ्टवेयर प्रयोग गर्दै आएकाले अब बन्ने ग्लोबल आइएमई बैंकले फिनाकल चलाउने छ त्यसैले यसको इन्टीग्रेशन हुनलाई केहि समय लाग्छ। दुवै बैंक बाणिज्य बैंक भएको र बैंकिंङ कल्चर पनि उस्तै भएकाले कर्मचारी समायोजन वा व्यवस्थापनमा त्यस्तो समस्या आउदैन भन्नेमा हामि छौं ।  

अर्को तर्फ राष्ट्रबैंकबाट स्वीकृति, साधारणसभाबाट स्वीकृति र अन्तिम सहमति लिनलाई पनि केहि समय लम्बिने देखिन्छ। यहि बीचमा दशैं तिहार जस्ता ठुला चाडहरु आइपुग्छन। त्यसैले पनि तोकिएको ४ महिनामा सबै प्रकृया सकेर एकीकृत कारोबार थाल्नलाई समयको हिसाबले त्यहि सहज देखिदैन, त्यहिपनि हामि आफ्नो तर्फबाट पूर्णरुपमा प्रतिबद्द छौं ।  

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief










Close in 7