सिजनमै सिमेन्टको व्यापार चौपट, व्यवसायी भन्छन, सरकारको नीतिमै ‘खोट’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2019 | 12:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुने कुल बजेट खर्चको ४० प्रतिशतभन्दा धेरै खर्च असार र साउन महिना हुने गर्छ । विकास बजेटको भूक्तानी असार महिनामा मात्रै ३५ प्रतिशतको हाराहारीमा छ । 

आर्थिक वर्ष सुरु भएको १० महिनासम्म ४० प्रतिशत र बाँकी ४० प्रतिशत जेठ र असारमा मात्रै खर्च हुने परिपाटी नेपालमा झनै मौलाएको छ । समयमा विकास काम नहुने र हतारमा भएका कामको भूक्तानी आर्थिक वर्षको अन्त्यमा दिने प्रचलनले नेपालको विकास मोडलमाथि नै प्रश्न उठाएको छ । 

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको मूलुक हो । सिमेन्ट उद्योगमा सामान्यतयाः बैशाख र जेठलाई मुख्य सिजन मानिन्छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणमा भएका ढिलासुस्तीको असर सिमेन्ट उद्योगमा देखिएको छ । कुल बजेट खर्चको ४० प्रतिशतभन्दा धेरै भूक्तानी जेठ र असारमा हुने भएपनि यही महिनामा सिमेन्टको बजार भने सुस्ताएको छ ।

नेपालमा हाल ६१ वटा सिमेन्ट कम्पनी सञ्चालनमा छन् । सिमेन्ट उद्योगको संख्या बढेसंगै उत्पादन क्षमता पनि उच्च भएको छ । तर उत्पादनअनुसार माग नआउँदा मुख्य सिजनमा पनि सिमेन्टको बजार बढ्न सकेन । विगत वर्षहरुमा अहिलेको समय उद्योगीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । तर केही वर्षयता सिमेन्ट उत्पालन गर्ने कम्पनीहरु ग्राहक लोभ्याउन बिभिन्न स्किमसहित प्रचार प्रसारमा छन् । तर पनि सिमेन्टको बजार बढ्न सकेन । 

विशेष गरी मङ्सिरदेखि असारसम्म सिमेन्ट उद्योगको मुख्य सिजन हो । यो समयमा विकासका काम हुने र वर्षातको पनि कम सम्भावना रहने भएकाले सिमेन्टको माग अत्याधिक हुन्थ्यो । तर यसवर्ष मुख्य सिजन पनि व्यवसायीले फुर्सदमा बिताए । 

के भन्छन् व्यवसायी ?

सिमेन्टको बजार वर्षभरी नै घटेको शिवम् सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर केशव अर्याल बताउँछन् । उनका अनुसार शिवम्ले ओपिसी सिमेन्टको बजार हिस्सामा २० प्रतिशतले ‘लिडिङ’ गरिरहेको छ । तर पनि बजारमा आएका विभिन्न उतारचढावका कारण ‘मार्केट मुभ’ हुन नसकेको अर्यालको भनाई छ ।

जग्गाको कित्ता काटमा आएको नयाँ नियम र बैंकमार्फत घर कर्जा लिनेको संख्यामा आएको कमीका कारण नीजि घर नबन्नु सिमेन्ट उद्योगको लागि घाटा भएको उनको बुझाई छ । विभिन्न समयमा ट्रक व्यवसायी, निर्माण व्यवसायी लगायतले गरेको आन्दोलनले समेत सिमेन्टको बजारमा प्रभाव पारेको अर्यालले बताए । 

रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक डिल्ली सुवेदी पनि विगत वर्षको तुलनामा सिमेन्टको बजार खस्किएको महशुस भएको बताउँछन् । रिद्धिसिद्धि नयाँ उत्पादन भएपनि बजारमा अपेक्षाकृत हिस्सा लिन सफल भएको दाबी गर्दै उनले समग्र सिमेन्टको बजार भने केही कमजोर भएको स्वीकार गरे ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार हाल वार्षिक ९० लाख टन सिमेन्टको माग रहेकोमा १२० लाख टन सिमेन्ट उत्पादन भईरहेको छ । मुख्य सिजनमा समेत उत्पादित सिमेन्ट बजारमा नपुग्नु दुखद भएको उनको भनाई छ । 

सरकारको पूँजीगत खर्च गर्ने क्षमता कमजोर भएका कारण सिमेन्टको बजार खस्किएको अध्यक्ष थापाले बताए । उनले विकास खर्च जेठ र असारमा धेरै हुने तर थोरै र कमजोर निर्माण सामग्रीले विकासका काम हुने परिपाटीले बजार घटेको उनको भनाई छ । संघियता कार्यान्वयनको चरणमा विकास निर्माणका काम बढ्नुपर्ने भएपनि त्यसो हुन नसक्दा सिमेन्टको बजार कमजोर बन्दै गएको उनको अनुमान छ । 

आर्थिक वर्ष २०७५/०७६ मा करिब ८० लाख टन सिमेन्ट बजारमा खपत भएको सरकारको दाबी छ । उद्योग मन्त्रालयका एक अधिकारीले आगामी वर्षको लागि तीनै तहका सरकारले विकास बजेट बढाएको भन्दै सिमेन्टको खपत पनि बढ्ने दाबी गरे । तर व्यवसायी भने सबैभन्दा धेरै सरकारी विकासका काममा सिमेन्ट प्रयोग हुनुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो गर्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved