अलकत्राको सट्टा कंक्रिट सडकः व्यवसायी खुशी, सरकार भन्छ,‘मूल्य घटाउ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2019 | 01:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सडकमा कालोपत्रेको सट्टा कंक्रिट सडक निर्माणलाई प्रथमिकता दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कंक्रिट सडक बनाउने योजना अघि बढाएको हो । विदेशी अलकत्रा प्रयोग कालोपत्रे गरिएका सडक भत्किन थालेपछि मन्त्रालयले कंक्रिट सडक बनाउने योजना अघि सारेको हो । 

नेपालमा अहिले कुल ९० हजार किलोमिटर सडक छ । तर केन्द्र सरकार मातहतमा जम्मा १५ हजार किलोमिटर सडक मात्रै छ । बाँकी ७५ हजार सडक प्रदेश र स्थानीय तहको क्षेत्राधिकार भित्र छन् ।

सडक विभागले सडको अवस्था अध्ययन गरेर सडकमा कंक्रिट प्रयोग गर्नेबारे टुंगो लगाउने बताएको छ । विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार कंक्रिट प्रयोगको सम्बन्धमा अध्ययन गर्दा भूगोल र मौसमलाई केन्द्रमा राखिने छ । विदेशका धेरैजसो सडकमा अलकत्राको सट्टा सिमेन्ट प्रयोग हुने गरेको भएपनि नेपालका लागि कत्तिको उपर्युक्त हुन्छ भनेर अध्ययन भएपछि मात्रै प्रयोगको टुंगो लाग्ने उनको भनाई छ । 

कंक्रिट प्रयोग गरेर सडक बनाउने विषय टुंगो लागेमा नेपालको सिमेन्ट उत्पादन क्षमता दोब्बर हुनुपर्ने छ । अहिले नेपालमा सञ्चालित उद्योगले वार्षिक १४० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छन् । तर बजारमा अहिले १२० लाख टन मात्रै खपत भईरहेको छ । सडक पूर्वाधार क्षेत्रका विज्ञहरु सडकमा सिमेन्ट प्रयोग गर्न सम्भव भएको तर यसको लागि सिमेन्ट सस्तो हुनुपर्ने बताउँछन् । 

नेपालको पहाडी भेगका सडकमा अलकत्राको ठाउँमा कंक्रिट उपर्युक्त हुने इन्जिनियरहरुको बुझाई छ । तर कंक्रिट प्रयोग गर्दा बजेट भने धेरै पर्ने उनीहरुको भनाई छ । कंक्रिट सडक केही महङ्गो पर्ने भएपनि कालोपत्रे सडकको आयुको तुलनामा यसको आयु लामो हुने छ । 

सडक विभागको सडक सुरक्षा शाखाका इन्जिनियर दीप बाराही कालोपत्रे सडकको आयु अधिकतम १५ वर्ष हसने तर कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने बताउँछन् । 

१ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न २ देखि ५ करोड रुपैयाँसम्म खर्च हुन्छ । तर कंक्रिट प्रयोग१ किलोमिटर सडक निर्माण गर्दा ५ देखि ७ करोडसम्म खर्च हुने इन्जिनियरहरु बताउँछन् । 

नेपाल सिमेन्ट उत्पादक संघले सरकारले कंक्रिट सडक निर्माणलाई प्रोत्साहन गरे नेपालमा उत्पादन हुने सबै सिमेन्ट खपत हुने बताउँछन् । संघका अध्यक्ष ध्रुव थापा कंक्रिट प्रयोग गरेर सडक बनाउन सके विदेशबाट आयात गरिने अलकत्राबापत बाहिरिने अर्बौ रुपैयाँ बच्ने बताउँछन् । 

सरकारको यो कदम व्यवसायी मैत्री भएको बताउँदै थापाले कार्यान्वयन गर्न आग्रह गरे । 

सरकारले अहिलेकै अवस्थामा सिमेन्ट प्रयोग गर्दा महङ्गो हुने बताएको छ । तर सिमेन्ट उद्योगीहरु सरकारकै कारण नेपाली सिमेन्ट दक्षिण एशियाकै महङ्गो भएको बताउँछन् । करको भार कम गरे सिमेन्ट आफैँ सस्तो हुने भन्दै सिमेन्ट उत्पादक संघले लागत कम पर्ने वातावरण सरकारले मिलाईदिन पर्ने बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved