हामी कर्ममा विश्वास गर्छौँ । तर यसो भन्दैमा भाग्यमा अलिकति पनि भरोसा राखिँदैन भन्ने होईन । कुरा विश्वास र भरोसाको होईन, कुरा त शारीरिक अवस्था र चेतनाको हो । एक बालक, जसको शारीरिक अवस्था कमजोर छ, तर उनको मानसिक तेज ओझपूर्ण छ ।
उनी कर्मले यस्तो भएका होईनन् । उनी कुनै काम गर्दा दुर्घटनामा परेर शरीरका अंग गुमाउन पुगेका होईनन् । उनी त जन्मदा नै यस्तै जन्मिए । त्यसैले उनका बुबा आमा भन्छन्,‘यसलाई भाग्यले ठग्यो ।’
बुबा मिलन कुमार चौधरी र आमा दिल कुमारी चौधरी सन्तान जन्मिने अभिलाषामा खुशी थिए । गर्भावस्थामा महिलालाई कति असहज हुन्छ, त्यो जो कोहीले भन्न सक्दैन । भोगेका महिलालाई मात्रै थाहा हुन्छ । दिल कुमारी आफ्नो पीडालाई पनि सन्तानको मुहार कल्पना गरेर चित्त बुझाउँथिन ।
प्रसव पीडामा छट्पटिएकी उनले छोरालाई जन्म दिईन । २०६९ साल चैत्र २४ गते सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ मा युगेष चौधरीको जन्म भयो । परिवारले हुर्काउने बढाउने काम गरे ।
सामान्य परिवारमा जन्मेका युगेषले अन्य सम्पन्न परिवार सरह भरणपोषण नपाउनु स्वभाविक थियो । बुबा आमाले सन्तानलाई आवश्यक पर्ने आहारा पुर्याउन सकेनन् । युगेष आमाको दुधको सहरामा हुर्किदै थिए । आफ्नो सन्तान आजभन्दा भोली र भोलीभन्दा पर्सी अझ ठूलो हुँदै गएकोमा बुबा आमा खुशी थिए ।
युगेष बढिरहे, तर हिडडुल गर्न नसक्ने गरि । करिब साढे २ वर्षसम्म पनि आफ्नो सन्ताले हिड्न नसकेपछि बुबा आमामा अर्को चिनता थपियो । के गर्दा हिड्छ आफ्नो सन्तान भन्ने चिन्ताले पिरोलिन थाले दुवै जना ।
उनको कम्मर मुनिको भाग नचल्ने रहेछ । गरिब परिवारमा पिडाले बास गरिरह्यो ।
ज्यामी काम गर्ने चौधरी दम्पती काठमाडौ आए । उनीहरु ज्यामी काम गर्दै छोराको उपचारमा जुटे । धुलिखेल अस्पतालले खुट्टा सोझ्याएर प्लाष्टिकको बुट लगाईदियो । तिघ्राको मासु काटेर उपचार गरियो । खानु हण्डर खाएर उनीहरुले छोरालाई जसोजसो उभिने बनाए । यतिबेला चौधरी दम्पतीलाई संसार जितेजस्तो भयो ।
बुबा परदेश पनि गए, वैदेशिक रोजगारीको शिलसिलामा । कमाएको पैसा पनि छोराको उपचारमै सके ।
अहिले बल्लतल्ल खुट्टा लरबराएर छोरो हिड्ने भएको छ । नजिकैको निजी विद्यालयमा कक्षा युकेजीमा पढ्ने युगेषको बोली मिठो छ । आफू शारीरिक रुपमा भिन्न छु, सबल छैन भन्ने जानकार छन् उनी । अनि भन्छन्, ‘मलाई ठूलो मान्छे मन छ ।’
नजिकैका सखाहरु उफ्रिन्छन्, खेल्छन् । तर उनी आफ्ना उमेरसमूहका साथीहरु जस्तो तन्दुरुस्त छैनन् । तर पनि उनको ज्ञान तेलिजो लाग्छ । सानै छन्, तर पनि कुरा निकै उच्च तहका गर्छन् । उनको यो तेजिलो ज्ञानले कतै ठाउँ नपाउने हो कि भन्ने चिन्ता छ परिवारलाई । नजिकका छिमेकीहरु पनि युगेषको बालमनोविज्ञान देखेर चकित पर्छन् । अनि भन्छन्,‘यो साँच्चै ठूलो मान्छे बन्न सक्छ ।’
आफ्नो सन्तानलाई पढ्नको लागि मात्रै सहयोग गरिदिए भविष्य उज्वल हुने थियो भनेर परिवार सहाराको खोजीमा छन् ।