उत्पादन र उपभोगमा नेपालीपन आवश्यक छ- पवन गोल्यान

विजय पराजुली

विजय पराजुली

Oct 06, 2019 | 01:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मुलत दुई प्रकारका व्यवसाय छन् । एक, कुनै विदेशी कम्पनीको डिलरसिप लिएर व्यापार गर्ने र अर्को,स्वदेशमा नै उद्योग खोलेर रोजगारी सिर्जना गर्ने । कुनै समयका ठूला औद्योगिक घरानाहरु पनि उद्योग छोडेर विदेशी कम्पनीको डिलरसिप लिँदै व्यापारमा लागेका छन् । त्यसरी व्यापार गर्दा आफुलाई फाइदा भएपनि हरेक दिन नेपालको व्यापार घाटा बढिरहेको छ ।  

व्यापार गरेर सरकारलाई ठूलो मात्रामा राजश्व बुझाउने व्यवसायिक घराना धेरै छन् । तर, स्वदेशमा नै उद्योग खोलेर विभिन्न वस्तुहरुको निर्यात गर्ने र रोजगारी सिर्जना गर्ने व्यवसायी सिमित छन् । व्यापारलाई छाडेर नेपालमा नै उद्योगको विकास गर्दै अब्बल र सफल  बन्न सफल व्यावसायिक घराना हा,े गोल्यान समुह । गोल्यान समुहका्े नेतृत्व हाल पवन गोल्यानले गरिरहेका छन् ।

गोल्यान समूहले अहिले १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको कुल निर्यातको ८ प्रतिशत हिस्सा ओगटेको छ । गोल्यान समुहको अन्तर्गत रिलायन्स मिल्स, शिवम् प्लास्टिक लगायतका उद्योग छन् । गोल्यान समूहले बीमा, जलविद्युत्, रियल स्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरेको छ । 

व्यवसायतर्फको यात्रा

मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका पवन अहिले ६० वर्षका भए । गोल्यानले बाल्यकालदेखि नै बाबु सोहनलाल गोल्यानबाट पुख्र्यौली व्यापार व्यवसाय सिके । उनले वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्यन गरेका छन् । संचालन गरेको उद्योगमा सघाउनु परेकै कारण आफुले थप अध्ययन गर्न नपाएको उनी बताउँछन् ।

सुरुमा गोल्यानले आफ्नो दाजुले दिल्लीमा सञ्चालन गरेको उद्योगमा पुगेर दुईवर्ष काम गरे । दिल्लीबाट नेपाल फर्किएसँगै पवनको काँधमा बुबाले सुरु गरेको कपडा उद्योगको जिम्मेवारी आयो । सोहनलाल गोल्यानले वि.सं. २०३८ सालदेखि सुरु गरेको कपडा उद्योग त्यसबेला विराटनगरमा राम्रो उद्योग रुपमा चिनिन्थ्यो । 

परिवारमा परेका विभिन्न समस्या, बुबाको निधनसँगै गोल्यान समुहले सञ्चालन गरेको कपडा उद्योग बन्द भयो । बन्द अवस्थामा रहेको उद्योगलाई पवनले पुनः सञ्चालनमा ल्याए । उक्त उद्योग सञ्चालनमा ल्याएसँगै आफ्नो व्यावसायिक सफलताको सुरुवात भएको उनी बताउँछन् । 

कपड़ा उद्योगमा सफलता हासिल भएसँगै उनले २०५१ सालबाट धागो उत्पादन सुरु गरे । १ अर्ब १० करोड लगानी गरेर स्थापना भएको रिलायन्स त्यतिबेला नेपालकै धेरै पूँजीमा स्थापना भएको धागो उद्योग भएको गोल्यान बताउँछन् । हाल उक्त उद्योगमा लगानी बढाएर ८ अर्ब पु¥याएका छन् । स्थापनाकालमै गोल्यानको उद्योगले वार्षिक डेढ अर्बको धागो निर्यात गरेको थियो । 

सुरुमा रिलायन्स धागो उद्योग एमएस समुहका शशीकान्त अग्रवाल र गोल्यान समुहको ५०÷५० प्रतिशत संयुक्त लगानीमा सञ्चालन भएको थियो । उद्योग सञ्चालन भएलगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले स्वदेशी धागो उद्योगलाई मद्दत पुगेको पवनको बुझाई छ । त्यसकै परिणामस्वरूप नेपालमा बनेको सुर्ती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । त्यसपछि बिस्तारै युरोपियन मुलुक टर्की लगायतमा निर्यात हुन थाल्यो । जुन अहिले पनि जारी छ । गोल्यान समूहको यस धागो उद्योगले नेपालको कुल वस्तु तथा सेवा निर्यातमा करिब ८ प्रतिशत योगदान गरिरहेको छ ।

गोल्यान समूहको निर्यात गर्ने अर्को उद्योग हो शिवम् प्लाष्टिक ईण्डष्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशत भन्दा बढी प्रोप्लिन, टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ । ‘निर्यात कै हेतुले खोलेको’ स्वेटर उद्योग पनि संचालन गरिरहेका छन् । उक्त उद्योगले उत्पादन गरेको स्वेटर युरोपियन र अमेरिकी मुलुकमा पनि निर्यात भइरहेको छ । गाोल्यान समुहले सञ्चालन गरेका उद्योग निर्यातजन्य नै रहेको र समुहले व्यापारमा लगानी नगरेको उनी बताउँछन् । 

सफलताको सुत्र

भित्री मनले नै स्वदेशमा बसेर औद्योगिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने लागेकाले यस क्षेत्रमा सफल भएको गोल्यान बताउँछन् । उनी भन्छन् ‘भित्री मनबाट केही गर्ने अठोटका साथ सुरु गरिएको काममा अवश्य सफलता मिल्छ । हरेक समय आफूले थालेको काममा दत्तचित्त भएर लागिरहनुपर्छ ।’ 

निकै सुक्ष्म रूपमा ध्यान दिएर अघि बढ्नुपर्ने र सफल उद्यमी बन्नका लागि कुनै पनि काम सुरु गर्नुभन्दा अघि कामको बारेमा सबै ज्ञान हुनपर्ने उनी बताउँछन् ।  सञ्चालक मालिकजस्तो बन्नुहुँदैन र कामदारलाई सधैं आफ्नो हिस्सेदार एवं सहकर्मी सम्झनुपर्छ । कामदार खुसी भएपछि स्वतः राम्रो प्रतिफल आइहाल्छ । कर्मचारी र कामदारलाई पनि आफूले काम गरेको उद्योग मेरो हो भन्ने अपनत्वको वातावरण बनाइदिनुपर्ने उनको भनाई छ । २५ वर्षको अवधिमा अहिलेसम्म कामदारले उद्योगमा कुनै अवरोध नगरेको भन्न पाउँदा गर्व लाग्ने गोल्यान बताउँछन् । ‘कामदार र कर्मचारीको अनुहारमा देखिएको खुसी नै मेरो सफलता हो भन्ने मलाई महसुस भएको छ’ उनले भने । 

बैंकिङ क्षेत्रमा सफल नेतृत्व

गोल्यान समुहले रिलायन्स धागो र शिवम् प्लास्टिक उद्योगसँगै बैंक, फाइनान्स र अन्य वित्तीय क्षेत्रमा लगानी गरेको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा पहिले नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंकमार्फत हात हालेका समुहले नेपाल मर्चेन्ड बैंकिङ कम्पनी लिमिटेड हालको एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स हुँदै एनआईसी एसिया बैंकमा समेत लगानी गरेको छ ।

पवनको नेतृत्वमा रहेको एमएमबी बैंकले लगातार दुईपटक (सन् २०१७ र २०१८ मा) बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ समेत पाएको छ । ‘सञ्चालक समितिले भिजन दिने र व्यवस्थापनले काम गर्ने हो । हाम्रो बैंकमा त्यही भएको छ’, बैंकिङ क्षेत्रको सफलतालाई पवनले यसरी प्रष्ट पारे ।

देशको प्राथमिकताको हिसाबले गोल्यान समुहले पनि आफ्नो प्राथमीकता निर्धारण गर्ने गरेको छ । राज्यको पहिलो प्राथमिकता कृषि, दोस्रो जलविद्युत्, तेस्रो पर्यटन भएको र त्यही अनुसार योजना बनाएर आफुहरुले लगानी गरिरहेको गोल्यान बताउँछन् । राज्यको चौथो प्राथमिकता निर्यात प्रवद्र्धन र पाँचौ प्राथमिकता आयात प्रतिस्थापन हो । गोल्यान समुहले चौथो र पाँचौ प्राथमिकताको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । 

लगानीका क्षेत्र

कृषिमा निर्भरताको अनुपातलाई कसरी २ तिहाईबाट ५० प्रतिशतमा झार्ने र व्यावसायिकरण गर्ने भन्ने नै आफ्नो प्रमुख लक्ष्य रहेको गोल्यान बताउँछन् । गोल्यान समुहले व्यावसायिक कृषिको पनि थालनी पनि गरेको छ । पवनको समुहले कृषिमा करिब १ अर्बको लगानी गरेको छ । आगामी १० वर्षभित्र मुलुकभर १ हजार बिघा क्षेत्रफलमा अर्गानिक कृषि फार्म संचालन गर्ने लक्ष्य समुहले लिएको छ । 

गोल्यान समुहले देभरिका कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी खरिद गरेर बिचौलियाको मारमा परेका कृषकलाई राहत  दिने उदेश्यले माटो ब्रान्डको स्थापना गरी अर्गानिक फलफूल तथा तरकारीको ब्रान्डिङ र बिक्रीसमेत सुरु गरिसकेको छ । माटो ब्राण्डमार्फत विदेशमा समेत कृषि उत्पादन निर्यात गर्ने योजना छ । 

देशको दोस्रो प्राथमिकता हाइड्रोपावर रहेको र गोल्यान समुहको पनि यही क्षेत्र रहेको गोल्यान बताउँछन् । पेट्रोलियम पदार्थ र विद्युत पनि आयात भएको अवस्थामा आत्मनिर्भर मात्रै होइन निर्यात पनि गुर्नपर्ने भन्दै जलविद्युत र नविकरणीय उर्जामा लगानी गरेको उनको भनाई छ । समुहले १ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी छुट्टै समुह नै बनाएको उनी बताउँछन् ।  

गोल्यान समुहले अबको ६ महिनामा होटलसंचालनमा ल्याउँदै छ । काठमाण्डौको सोल्टीमोडमा रेसिडेन्सेस एट हायात प्लेस होटलमा लगानी गरेको छ । करिब ३ अर्बको लगानीमा निर्माण हुन लागेको उक्त होटलमा १५८ वटा बेडरुम रहने पवन गोल्यान बताउँछन् ।  उक्त  होटल अमेरिकाको चेन होटल हो । गोल्यान समुहले अपार्टमेन्टतर्फ वेस्टार प्रोपर्टिजमार्फत ललितपुरको बालकुमारीमा अपार्टमेन्ट तथा हाउजिङमा लगानी गरेको छ । २०६५ सालमा गोल्यान समुहले वेस्टार रेसिडेन्सी सुरु स्थापना गरेर बालकुमारीमा २१५ वटा अपार्टमेन्ट बनाएको पवन गोल्यान बताउँछन् । 

कर्पोरेट हाउसले कृषिमा र बैंकहरुले युवामा लगानी गर्नुपर्छ

कर्पोरेट हाउसले कृषिमा लगानी गरेनन् भने कहिल्यै पनि मुलुकमा कृषि क्षेत्रको व्यावसायीकरण नहुने गोल्यान बताउँछन । नेपालमा ६५ प्रतिशत भन्दा माथिका युवामा किसानको रगत बगेको भन्दै कृषिको व्यवसायीकरण गर्न युवाहरुलाई खेतमा उतार्नुपर्ने उनको भनाई छ । गोल्यान भन्छन् ‘बैंकहरुले धितो छैन भनेर युवाहरुलाई कर्जा नदिने हो भने कृषिको व्यावसायिकरण सम्भव छैन ।’ 

उद्योग र उपभोगमा नेपालीपन खोज्न आवश्यक रहेको पवनको प्रष्ट मत छ । भान्सामा ग्यासको साटो बिजुली प्रयोग गर्नुपर्ने र गाडी पनि अब इलेक्ट्रिक नै चढ्नुपर्ने उनको भनाई छ । 

गोल्यान समुह थप नयाँ उद्योगमा तत्काल लगानी बढाउने योजनामा नरहेको तर अहिले समेटेकै क्षेत्रमा लगानी बढाउने सोचमा छ । आफ्नो छोरोले उद्योग गरेर फ्रस्टेसन भयो, उद्योगमा नाफा भएन, साथीले एउटा गाडीको डिलरसिप लिएर त्यति धेरै कमाउँछन् हामीले किन नगर्ने? भनेर गुनासो गरेको गोल्यान बताउँछन् । छोरोको प्रश्नमा आफुले अरुहरु र आफुमा त्यही विषयमा फरक रहेको बताउने गरेको उनी सुनाउँछन् । पैसा इज्जतको लागि कामाउने कि के को लागि कमाउने भन्दै आफुले छोरालाई स्वदेशमै केही गर्न प्रोत्साहन गरेको उनी बताउँछन् ।   ‘कति कमाउने भनेर लिमिट हुदैन तर कमाईमा आफु सन्तुष्ट हुनुपर्छ’ उनी भन्छन्, ‘अब काम गर्ने भनेको देशका लागि आफ्नो माटोको लागिहो ।’

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved