लिब्राको तरङ्ग

टीएन रेग्मी

टीएन रेग्मी

Oct 06, 2019 | 01:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मुद्राको इतिहास निकै पुरानो छ । आकार, स्वरुप र त्यसमा प्रयोग हुने पदार्थमा फरकपन भए तापनि विश्वको विभिन्न भूगोलमा मुद्रा प्रचलनमा आएको लामो समय भएको छ । हालसम्म आइपुग्दा विश्व अर्थतन्त्र चलाउने माध्यमको रुपमा भौतिक मुद्रा प्रयोग हुँदै आएको छ । पछिल्ला दशकमा डिजिटल मुद्राको प्रयोग बढ्दै गएको छ । यही सिलसिलामा सामाजिक सञ्जाल फेसबुकले आगामी वर्षदेखि ‘लिब्रा’ नामक डिजिटल मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेको छ । फेसबुकको यस्तो घोषणासँगै विश्वव्यापी रुपमा डिजिटल मुद्राको प्रयोग, परम्परागत मुद्रा र वित्तीय संस्थाको भविष्यको विषयमा बहसको थालनी भएको छ । 

डिजिटल मुद्रा र ‘लिब्रा’

सन् १९८३ मा अमेरिकन क्रिप्टोग्राफर डेभिड चमले ‘इक्यास’ नामको डिजिटल मुद्राको विकास गरे । पछि डेभिडले डिजी क्यास आइएनसी नामक कम्पनीको स्थापना गरी ‘डिजीक्यास’ डिजिटल पेमेन्ट सिस्टमको विकास गरे । सन् २००९ मा ‘बिटक्वाइन’ नामक डिजिटल मुद्राको विकास भयो । साकोसी नाकामोतो नामले चिनिने समुहले विकास गरेको यो मुद्रा हाल सर्वाधिक प्रचलनमा रहेको छ । ‘बिटक्वाइन’को विकासकर्ताको नाम काल्पनिक हो वा सही हो भन्ने रहस्य हालसम्म पनि खुलेको छैन । प्रयोगकर्ताको लागि कारोबारको विवरण समेत उपलब्ध गराउने अभ्यासको थालनी ‘बिटक्वाइन’ले ग¥यो । ‘ब्लक चेन’ भनिने कारोबारको विवरण (लेजर) प्रचलनमा आएसँगै बिटक्वाइनको कारोबारमा बढोत्तरी भयो । क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार सन् २०१७ मा ५ दशमलव ८ मिलियन प्रयोगकर्ताहरुले ‘क्रिप्टोकरेन्सी वालेट’ भनिने डिजिटल मुद्राको वालेट प्रयोग गरेको पाइयो । जसमध्ये अधिकांश ‘बिटक्वाइन’ प्रयोगकर्ता भएको अध्ययनको निष्कर्ष छ । 

‘इक्यास’को विकाससँगै सुरु भएको डिजिटल मुद्राको प्रचलन विभिन्न उतारचढाव पार गर्दै लिब्राको बहससम्म आइपुगेको छ । लिब्रा अर्थतन्त्रका अन्य खेलाडीले विकास गर्ने नभई सामाजिक सञ्जाल फेसबुकले प्रचलनमा ल्याउने मुद्रा हो । पछिल्लो तथ्यांक अनुसार विश्वभर फेसबुकका २ दशमलव ४१ बिलियन सक्रिय प्रयोगकर्ता छन् । लिब्रासँग सुरुवातमै विश्वस्तरका २८ वटा ठूला संस्थाले आबद्धताको घोषणा गरिसकेका छन् । ‘न्यु ग्लोबल करेन्सी’ उपमा दिइएको लिब्राको प्रचलनले विश्व अर्थ व्यवस्थामा पार्ने प्रभावका बारेमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।

अर्थतन्त्रमा प्रभाव

हामीले प्रयोग गरिरहेको मुद्राको नियन्त्रण प्रणाली केन्द्रीकृत छ । यसको प्रयोग झन्झटिलो छ । सूचना प्रविधिको विकाससँगै यसको विकास र प्रयोगले गति लिन सकेको छैन । भर्खरैमात्र हामी अभ्यस्त हुँदै गरेको डिजिटल कारोबार समेत उही केन्द्रीकृत मुद्रा व्यवस्थापन प्रणालीमा निर्भर छ । डिजिटल मुद्राको प्रचलन परम्परागत मुद्राको प्रयोगमा रहेका कमजोरी हटाउने उदेश्यमा आधारित छ । त्यसैले इन्टरनेटमा आधारित डिजिटल मुद्राले विश्वको ध्यान खिचिरहेको छ । 

‘टेक ब्याक योर मनी’ पुस्तकका लेखक जोन ई गिरोर्ड भन्छन्, “वास्तवमा हाम्रो विश्व वित्तीय प्रणाली विश्वस्तरीय छैन । यो निकै महङ्गो र सुस्त छ । मानिसहरुले राम्रो विकल्पको खोजी गरिरहेका छन् । लिब्रामार्फत फेसबुकले निकै आकर्षक भर्चुअल वालेट अफर गरेको छ । जुन निकै सजिलो पनि छ ।”

सक्रिय फेसबुक प्रयोगकर्तामध्ये ५ वा १० प्रतिशतले मात्रै लिब्रा प्रयोग गरेको खण्डमा यो विश्वकै सबैभन्दा ठूलो वित्तीय प्रणाली बन्ने निश्चित छ । ग्लोबल पेमेन्ट नेटवर्क भिसा, एसिया, अफ्रिका र युरोपमा नेटवर्क भएको विश्वकै चौथो ठूलो मोबाइल सेवा प्रदायक भोडाफोन, पेपाल, इबे लगायतका कम्पनीहरुले लिब्रासँग जोडिने प्रतिबद्धता जनाइसकेका छन् । लिब्राले विश्व बजारमा जबरजस्त पहुँच स्थापित गर्नसक्ने अवस्था बनिसकेको छ ।

फेसबुकका संस्थापक मार्क जुकवर्गका अनुसार लिब्राको प्रणालीमा फेसबुकको पहुँच रहने छैन । र, हाल प्रचलनमा रहेका क्रिप्टोकरेन्सीहरुको जस्तो लिब्राको मूल्यमा घटबढ नभई यो स्थिर मूल्यको मुद्रा हुनेछ । यतिखेर लिब्राले विश्व वित्तिय व्यवस्थामा पार्नसक्ने प्रभावको व्याख्यासहित विश्वभरका अर्थशास्त्रीहरु दुई ध्रुवमा विभाजित भइरहेका छन् ।

सुरक्षा र विश्वासको प्रश्न

बेलाबखत विवादित भइरहने फेसबुकले प्रयोगकर्तालाई विश्वस्त तुल्याउन लिब्रा सञ्चालनका लागि ‘कलिब्रा’ नामक संस्था स्थापना गरिसकेको छ । लिब्रामा फेसबुकको संस्थागत संलग्नता रहनु नरहनु फरक विषय हो । फेसबुकसँग आबद्ध नभई स्वतन्त्र अस्तित्वमा रहे तापनि हाल प्रचलनमा रहेका डिजिटल मुद्राले सामना गरिरहेका प्रश्न स्वाभाविक रुपमा लिब्रातर्फ पनि आकर्षित हुनेछन् । 

डिजिटल मुद्राको कारोबारमा त्यसको नियमन मुख्य प्रश्न हो । वर्तमान विश्व अर्थ व्यवस्थामा डिजिटल मुद्राको नियमन गर्ने आधिकारिक संयन्त्र छैन । सन् २०११ मा सर्वप्रथम डिजिटल मुद्रा प्रणाली ह्याक भएको थियो । त्यसैले साईबर सुरक्षाको प्रश्नसमेत उत्तिकै महत्वपूर्ण छ । नियम, कानुन र व्यावहारिक झन्झटको सामना लिब्राले पक्कै गर्नुपर्नेछ । अमेरिकी सरकारमा समेत लिब्राको विषयमा आपसमा विरोधी मतहरु देखिएका छन् । राष्ट्रपति लिब्रालाई स्वीकार्ने पक्षमा छैनन् तर कतिपय अधिकारीहरु लिब्राको पक्षधर देखिएका छन् । लिब्राप्रति सुरुमै विश्व एकमत हुने अवस्था छैन । यसले पनि शंका गर्ने आधार तयार गरेको छ ।

नेपालमा प्रयोग

नेपाली अर्थतन्त्रमा हालसम्म अन्तर्राष्ट्रिय डिजिटल कारोबारको थालनी समेत हुनसकेको छैन । केही मोबाइल वालेटहरुले ‘युटिलिटी पेमेन्ट गेटवे’को रुपमा घरेलु अर्थतन्त्रमा सिमित कारोबार सञ्चालन गरिरहेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिस्तरमा प्रचलित पेमेन्ट गेटवेसमेत प्रचलनमा आइसकेको अवस्था छैन तर सामाजिक सञ्जालको प्रभाव दैनिक जीवनमा परिसकेको छ । हाल नेपालमा १ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेको तथ्यांक छ । यस्तो परिस्थितिमा बजारको दबाबकै कारण एकाएक डिजिटल मुद्रामा प्रवेश गर्नु अर्थतन्त्रकै लागि जोखिमपूर्ण हुनसक्छ । अतः अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा आउने डिजिटल मुद्राको प्रभावबारे समयमै अध्ययनगरी आवश्यक तयारी गर्नु आवश्यक छ ।

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved