नेपालमा पर्यटनको ५ बर्ष

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 13, 2019 | 08:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् १९७० को दशकबाट नेपालको पर्यटनले औपचारिकता पाएको इतिहास छ । वि.सं. २०३५ सालमा बनेको पर्यटन ऐनलाई विस्थापन गर्ने तयारी सुरु भएको छ । पर्यटन क्षेत्रमार्फत हुने लाभ स्थानीय नागरिकसमक्ष पु¥याउने लक्ष्य संविधान, नेपाल सरकारका आवधिक योजना तथा वार्षिक कार्यक्रममार्फत लिइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० र नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५) ले पर्यटन उद्योगलाई उत्कृष्ट सेवामूलक उद्योगको रुपमा लिएका छन् । योसँगै पर्यटन क्षेत्रमा विकृति नआओेस् भन्ने उदेश्यका साथ सरकारले पर्यटन खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ पनि लागु गरेको छ ।

दक्षिण एसियामै नेपालले पर्यटकबाट हुने लाभको हिस्सा एकदमै न्युन छ । पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ । छिमेकी देश भारत ४०औं, श्रीलंका ६४औं र भुटान ७८औं स्थानमा छन् । दक्षिण एसियामा पाकिस्तान १२४औं र बंगलादेश १२५औं स्थानमा छन् ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.५ प्रतिशत मात्रै छ । तर, डब्लुटिटिसी नामक संस्थाले भने ८ प्रतिशत योगदान रहेको दाबी गरेको छ । हाल पर्यटन क्षेत्रले ३.२ प्रतिशत (प्रत्यक्ष तथा अप्रत्यक्ष) रोजगारी सिर्जना गरेको तथ्यांक छ ।

५ वर्षको पर्यटक आगमन

पछिल्लो ५ वर्षमा विदेशी पर्यटकको नेपाल घुम्ने चाहनामा निकै उतारचढाव देखिएको छ । सन् २०१४ मा दक्षिण एसिया, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियासहितका मूलुकबाट ७ लाख ९० हजार ११८ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा त्यो संख्या खुम्चिएर ५ लाख ३८ हजार ९७० मा सिमित भएको देखिन्छ । सो अवधिमा पर्यटक आगमन दर एकवर्षमै ३२ प्रतिशतले घटेको छ ।

लामो समयको अशान्ति, राजनीतिक अस्थिरता, भूकम्प लगायतको कारणले निकै सुस्ताएको पर्यटन उद्योग वि.सं. २०७२ मा संविधान जारी भएपछि भने चलायमान देखिएको छ । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे । २०१५ को तुलनामा यो तथ्यांक करिब ३० प्रतिशतले बढी हो ।

सन् २०१७ मा नेपाल आउने पर्यटक आगमन इतिहासमै सर्वाधिक उच्च बिन्दुमा पुग्यो । सो वर्ष ९ लाख ४० हजार २१८ जनाले नेपाल भ्रमण गरे । सन् २०१६ को तुलनामा यो संख्या २५ प्रतिशतले बढी हो ।

सन् २०१६ मा विदेशी पर्यटक बोक्नेको सूचीमा पहिलो स्थानमा रहेको नेपाल एयरलाईन्स रहेको थियो । सन् २०१७ मा जेट एयरवेजले पहिलो स्थान ओगट्न सफल भयो ।

सन् २०१८ मा पनि नेपाल घुम्ने विदेशी पर्यटकको संख्यामा नयाँ रेकर्ड कायम भयो । उक्त वर्ष नेपालमा ११ लाख ७३ हजार ७२ जना पर्यटक भित्रिए । यो संख्या अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । पर्यटनमैत्री वातावरण बन्दै गएको, मूलुकमा राजनीतिक स्थिरतासँगै बन्द, हड्तालको कम हुँदै गएकाले नेपाल आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

सन् २०१९ को जुन महिनासम्म ५ लाख ८५ हजार ५३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांक छ । यो संख्या गतवर्षको यही अवधिको तुलनामा १०.८ प्रतिशतले बढी हो ।

कुन वर्ष कति आम्दानी?

सन् २०१४ मा ७ लाख ९० हजार ११८ जना पर्यटकबाट कुल ४७ अर्ब १७ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो । यो आम्दानीलाई सरकारले सन्तोषजनक मानेको थियो । सन् २०१५ मा आइपुग्दा पर्यटक आगमनको करिब साढे दुई लाखको संख्यामा घट्यो । सो वर्षको आम्दानी ४८ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ छ ।

सन् २०१७ मा पर्यटन क्षेत्रबाट कुल ५५ करोड १० लाख अमेरिकी डलर आम्दानी भएको छ । यो कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशत हो । सन् २०१८ मा कुल ६९ अर्ब ७५ करोड ५ लाख ८४ हजार रुपैयाँ आम्दानी भएको छ । गतवर्ष पर्यटकको संख्या बढे तापनि उनीहरुले गर्ने औसत खर्च भने १८ प्रतिशतले घटेको छ ।

 सरकारको १० वर्षे रणनीतिक योजना

नेपाल सरकारले वि.सं. २०७३ साल असार ३१ गते दशवर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) पारित गरी कार्यान्वयनको चरणमा रहेको छ । उक्त योजनाले १० वर्षको अवधिमा २५ लाख २२ हजार पर्यटक भिœयाउने र पर्यटनबाट हुने आम्दानी साढे ३ खर्ब पु¥याउने लक्ष्य लिएको छ ।

पहिलो चरणमा (२०१६–२०२० भित्र) पर्यटकको संख्या १३ लाख ३९ हजार र औसत नेपाल बसाई १४ दिन पु¥याउने सरकारी लक्ष्य छ । सन् २०२० सम्ममा पर्यटकबाट हुने आम्दानी वार्षिक १ बिलियन ३२१ मिलियन डलर पु¥याउँदै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ४.९४ प्रतिशत पुग्ने उल्लेख गरिएको छ ।

दोस्रो चरणमा सन् २०२१ देखि २०२५ सम्म पर्यटकको संख्या २५ लाख २२ हजार र औसत बसाई १५ दिन बनाउने लक्ष्य छ । यो अवधिमा पर्यटन उद्योगबाट वार्षिक ३ बिलियन ४०१ मिलियन डलर आम्दानी गर्ने र जीडीपीमा ९.२९ प्रतिशत योगदान पुग्ने सरकारी रणनीतिको लक्ष्य छ ।

(बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved