५६ प्रतिशत ब्याजको पिडा सहेर कृषिमा परिचय खोज्दै ८ युवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 13, 2019 | 09:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सितगंगा नगरपालिका ४ अर्घाखाँचीका ८ जना युवा ६ वर्षदेखि कृषिकर्ममा लागिरहेका छन् । मुलुकका ६५ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको तथ्याङ्क भए तापनि खाद्यान्न, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुसमेत आयात गर्नुपर्ने बाध्यतामा रहेको अवस्थामा यी युवाहरुले कृषि रोजेका छन् । 

राजधानीमा बसेर क्याम्पस पढ्दै गरेका १८ देखि ३० वर्ष उमेर समूहका यिनिहरुले आजभन्दा ६ वर्ष अगाडि भक्तपूरमा तरकारी खेती सुरु गरे । वर्षदिनमै ऋण तिरेर आम्दानी उकालो लागेपछि उनीहरुले किर्तीपूरमा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेतीको सुरुवात गरे । करिब ४० लाख रुपैयाँ लगानी गरेर उनीहरुले सुरु गरेको यो व्यवसायको ऋण वर्षदिनमै चुक्ता गरे ।

तीनजना युवाले सुरु गरेको व्यवसायिक तरकारी खेतीको समूहमा अहिले ८ जना छन् । विभिन्न व्यक्तिसँग २४ देखि ५६ प्रतिशतसम्म ब्याजमा ऋण लिएर उनीहरुले मूलुकलाई कम्तीमा पनि तरकारीमा आत्मनिर्भर बनाउने सपना देखिरहेका छन् । 

किर्तीपूरमा पनि व्यवसाय सफल भएपछि उनीहरुले गोदावरीमा जग्गा भाडामा लिएर टमाटर, काउली लगायत दैनिक भान्छामा आवश्यक पर्ने तरकारी खेती सुरु गरे । हाल भक्तपूर छोडेर किर्तीपूर र गोदावरीमा काम गरिरहेका उनीहरु ऋणको लागि धेरैतिर धाए । तर, सजिलै लगानी जुटेन । 

यत्तिकैमा उनीहरु थाकेनन्, निरन्तर संघर्ष गरिरहे । बैंकले ऋण नदिएपछि उनीहरु कालीमाटीका तरकारी व्यापारीको शरणमा पुगे । जति ब्याज माग्छन्, त्यत्तिमै ऋण लिए । ८ जनामध्येका एक रेशमराज आचार्य भन्छन्, ‘चिनेजानेका आफन्त, साथीभाई लगायत सबैसँग गरेर जम्मा ६५ जनासँग त ऋण नै लिइएछ ।’

राष्ट्रिय युवा परिषद्को कार्यालयमा पुगे । सरकारले युवाहरुलाई उद्यममा आकर्षित गर्न विभिन्न सहुलियतपूर्ण कर्जाको घोषणा गरेको विषयमा जानकार उनीहरुले युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई भेटे । ढुंगेलले व्यवसायी तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानलाई लिएर उनीहरुको खेती अवलोकन गराए । लगत्तै गोल्यानले ८ जनाको समूहलाई प्रतिव्यक्ति १० लाखका दरले ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाए । अहिले ऋण लिने प्रक्रिया चलिरहेको छ ।

पौरखी युवाहरुले देशमै नङ्ग्रा खियाउनुपर्छ भन्ने चेतनाका कारण वि.सं. २०७२ सालमा एसएन ग्रुप कम्पनी प्रालि नामक कम्पनी जन्मियो । एसएनको पूरा रुप ‘समृद्ध नेपाल’ हो । सामान्य परिवारमा जन्मिएका उनीहरुले २ करोड रुपैयाँ पूँजीमा कम्पनी दर्ता गरे । चूक्ता पूँजी १ करोड ४० लाख छ । 

चर्को ब्याजका कारण उनीहरुले भनेजस्तो सफलता पाएका छैनन् । सरकारले सुरुमै सहुलियतपूर्ण कर्जा दिएको भए आज निकै उचाईमा पुगिसक्ने उनीहरुको दाबी छ ।

उनीहरुको समूहमा ७ जना अध्ययनरत विद्यार्थी छन् । कोही स्नातक, कोही स्नातकोत्तर र कोही जेटिए पढ्दै छन् । अर्घाखाँचीका युवाको यो समूहमा ललितपूरका श्यामकृष्ण श्रेष्ठ पनि छन् । एक जना बेल बहादुर थापा मलेसिया गएर फर्किएका व्यक्ति हुन् । बाँकी छ जना, रेशमराज आचार्य, खिम बहादुर थापा, डिल बहादुर गैरे, किसान थापा, डुक बहादुर झाँक्री र विकास आचार्य यो टिममा छन् । 

युवा समुहको यौटा रोचक विशेषता छ । उनीहरुले आवश्यक सामान किन्छन् । त्यसलाई जडान गर्ने, बिग्रिएमा मर्मत गर्ने, खन्ने, जोत्ने सबै काम आफैँ गर्छन् । आजसम्म कोहीपनि कामदार राखेका छैनन् । सबै काम आफैँ मिलेर गर्छन् र वार्षिक १ करोड रुपैयाँको तरकारी बिक्री गर्छन् । उनीहरुलाई बजारको समस्या छैन । टनेलमा बाह्रै महिना तरकारी उत्पादन हुन्छ । व्यापारीहरु उत्पादन स्थलमै पुग्छन् । 

विशेष गरी असारदेखि मंसिर पौषसम्म प्रशस्त मात्रामा टमाटर उत्पादन हुने उनीहरुको अनुभव छ । उनीहरुले नै उत्पादन गरेको टमाटर काठमाडौँ, चितवन, पोखरा, हेटौडा लगायतका बजारमा खपत हुने गर्दछ । 

यसवर्ष मौसम प्रतिकुल भएको कारण उनीहरुले सोचेजस्तो व्यापार गर्न पाएनन् । १ करोड ५० लाखको बिक्रि गर्ने लक्ष्य लिएका उनीहरुले त्यसको आधामात्रै व्यापार गरे । मौसमले प्रतिकुल हुँदा उत्पादन कम भयो । उनीहरु हाल १ करोड २२ लाख रुपैयाँ ऋणमा छन् । 

स्थानीय बासिन्दाको किचलो, पानीको अपर्याप्तता, व्यवसायिक कर्जाको अभाव लगायतका समस्या भोगेर उनीहरु खारिएका छन् । व्यवसाय गर्न निकै चूनौतीको सामना गरेको एसएन ग्रुपको सपना निकै ठूलो छ । 

आगामी केही महिनामा यो ग्रुपले अर्घाखाँचीको सितगंगा नगरपालिका भरी ‘एक घर, २ टनेल’ अभियान सुरु गर्दैछ । जसको जग्गामा जे उत्पादन हुन्छ त्यही गर्न प्रेरित गर्ने उनीहरुको यो अभियानले सरकारले जस्तै कसैले पनि जग्गा बाझो नराखौं भनिरहेको छ । ‘हामी केही महिनामा सितगंगाका करिब १ हजार घरधुरीमा कम्तीमा २ वटा टनेल हुनैपर्ने, जे फल्छ त्यो लगाउनै पर्ने अभियान सुरु गर्दैछौँ’ रेशमले भने, ‘उनीहरुलाई चाहिने सामान उपलब्ध गराउने र उत्पादित कृषि उपजको बजार पनि हामीले नै खोजिदिने छौँ ।’ यसका लागि स्थानीय सरकारसँग समन्वय भईरहेको छ । 

व्यवसायमा लाग्दा परिवार र साथीहरुले हेर्ने नजर भने अलिक पृथक हुने उनीहरुको अनुभव छ । परिवारले पैसा कमाउने काम छोडेर खेतीपातीमा लागेको भन्दै गाली गर्ने र साथीहरुले विदेशमा गएर टन्न पैसा कमाउने भएकाले उनीहरु केही हतोत्साहित पनि भए । तर, यसलाई आत्मबलले जितेर निरन्तर लागिरहे । 

अहिले त सर्कलका साथीहरु उनीहरुलाई भेट्न आउन थालेका छन् । ‘जानेको सीप सिकाउन भन्छन्, हामी पनि केही गर्न चाहन्छौं भन्छन्’, रेशमले भने, ‘गुरुजस्तो भईएको छ, त्यसैले पनि आत्म सन्तुष्टि मिल्छ ।’ 

राजनीतिप्रति नागरिकको धेरै अपेक्षाले मुलूक विकासमा पछि धकेलिएको बताउने उनीहरु व्यवस्था परिवर्तनको लागि आन्दोलनमा होमिएजस्तै आर्थिक समृद्धिको लागि सबै युवाहरु होमिए देशले कोल्टे फेर्न समय नलाग्ने बताउँछन् । उनीहरुको सुझाव छ, ‘हिजो विभिन्न चरणमा हाम्रा अग्रजहरुले हामीले सहज रुपमा काम गर्न सकौँ, मुलूकलाई योगदान दिन सकौँ भनेर योगदान गरेका हुन्, अब हामीले गर्ने योगदान भनेको समृद नेपाल बनाउने नै हो, यो अभियानमा सबैले हातेमालो गरौँ ।’

(बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved