द्धन्दमा गाउँ छाडेका पुजलाल भन्छन्, ‘जन्म घरमै मर्न मन छ’

महेश न्यौपाने

महेश न्यौपाने

Feb 04, 2020 | 09:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

घरवाट लिवाङ आवत जावत चलिरहन्थ्यो । श्रीमतीले घर धान्ने आफु मजदुरी गरेर दुई चार पैसा कमाउने अनि छोरा छोरी पढाउने । यस्तै योजनाका साथ रोल्पाको जेल्वाङवाट २०३९ सालमा सदरमुकाम लिवाङ छिरेका पुजलाल वुढा २०५६ सालपछि भने घर फर्कन पाएनन । तत्कालिन माओवादीले संचालन गरेको सशस्त्र द्धन्दले आफ्नो प्राण जत्तीकै प्यारो जन्मघर पराई बनाई दियो । 

२०५२ सालदेखी सशस्त्र द्धन्द सुरु भयो । मजदुरी गरेर खाने पुजलाललाई राजनीतिको उति मतलव थिएन । २०५६ सालसम्म त गाउँमा आउजाउ चलिरहन्थ्यो । सदरमुकाम  आउजाउ गर्नेलाई त्यतिवेला विद्रोही माओवादीले सरकारको सुराकी भन्थे । उनलाई गाउँमै वस्न धेरै चोटी प्रस्ताव नआएको हैन तर उनी त्यो प्रस्तावमा सहमत भएनन । गाउँमै वस्दा २/४ पैसा देख्न पनि नपाईने र आफुले सिकेको सीपको सदुपयोग नहुने भएपछि उनी लिवाङ जेल्वाङ आवत जावत गरिरहन चाहान्थे । विद्रोही माओवादीले भने सके सम्म लिवाङ नजावस गईहाले जेल्वाङ नफर्कोस भन्ने चाहान्थे । यस्तै यस्तै चल्दै थियो पुजलालको दैनिकी । २०५६ सालमा जेल्वाङमा रहेको प्रहरी चौकी विस्थापित भयो । अव माओवादी विद्रोहीको एकछत्र राज चल्ने भयो । सरकारको उपस्थिति शुन्य भए पछि पुजलाल पनि सधैका लागि जेल्वाङ छोड्न वाध्य भए । 

५ वर्ष मजदुरी काम गरे । पक्की घर वनाउने काममा दक्ष  मिस्त्रीलाई सघाउथे उनी । मिस्त्रीसँगको संगतले उनलाई पनि मिस्त्री वन्ने रहर जाग्यो । २०४५ सालमा पहिलो पटक मिस्त्री भएर काम पाए । त्यतिबेला उनको दैनिक ज्याला २० रुपैयाँ थियो । सदरमुकाममा कोठा भाडा लिएर बसेका उनले खाने बस्ने सबै त्यही पैसाले धन्नुपर्ने बाध्यता थियो ।

अहिले उनको उमेर ६० पुगिसक्यो । मिस्त्री भएपछि सदरमुकाम लिवाङमा मात्रै उनले १ सय वढी घर निर्माण गरि सकेका छन ।  ६० वर्ष पुगे पनि पुजलालका जोश जागरमा कुनै गिरावट आएको छैन । विहान ८ देखी वेलुका ५ वजेसम्म श्रीमतीसँगै काम गर्न जान्छन । दुख  विरामी र ठूला चाड पर्व वाहेक अरु समय उनी खाली वस्नु परेको छैन । अहिले उनको दैनिक ज्याला ९ सय रुपैयाँ छ । २ छोरा र १ छोरी सदरमुकामकै नीजि विद्यालयमा पढ्छन । आफु जीवन भर मजदुर भए पनि छोरा छोरीलाई ईन्जिनियर बनाउने धोको छ उनको । ‘कमाएको पैसा छोरा छोरीको पढाईमा खर्च गरेको छुु’, पुजलालले भने, ‘छोराछोरी म जस्तै मजदुर हैन प्राविधिक बनुन् भन्ने चाहाना छ ।’

पुजलालले रोल्पा सदरमुकाम लिवाङमा काम गर्न लागेको ३७ वर्ष पुरा भइसकेको छ । यस अवधीमा कमाएको पैसाले सदरमुकाम लिवाङमा एउटा सानो घडेरी पनि जोडेका छन् ।  घडेरीको वजार मूल्य १५ लाखको छ । आफु जन्मे हुर्केको गाउँ छोड्नु पर्दा उनलाई ठूलो पिडा भएको छ । गाउँमा पैत्रिक सम्पत्ती कति बाझै छ त कति छिमेकीले भोगचलन गरिरहेका छन् । सदरमुकाममा घडेरी किने पनि उनको मनमा चैन छैन । ‘आफ्नो सालनाल गाडिएको गाउँ जतिको प्यारो अन्त  हुदो रहेनछ’ पुजलालले भने, ‘मर्ने बेला जन्मेकै ठाउँमा गएर प्राण त्याग्न पाइयोस यत्ति चाहाना छ ।’

पुजलालका अनुसार आफुलाई गाउँसँगको सम्बन्ध टुटाईदिने १० वर्षे सशस्त्र युद्ध नै हो । उनी जस्तै ठूलो संख्याका नागरिकहरु यसरी आन्तरिक विस्तापित भएर आफ्नो थाकथलो नै छोड्न वाध्य भएका छन । रोल्पामा मात्रै आन्तरिक रुपमा विस्थापित भएर अहिलेसम्म घर फिर्ता नहुनेको संख्या सयभन्दा बढी छ । द्धन्द पिडित सरोकार मञ्च रोल्पाका पूर्व अध्यक्ष पूर्णे पुन द्वन्दको समयमा आन्तरिक रुपमा विस्थापित भएर थाकथलो छोड्न बाध्य भएकाहरुलाई पुर्नस्थापनाका लागी राज्यबाट सहयोग नभएको गुनासो गर्छन् । 

‘द्धन्दका कारण दशौ वर्ष छाडेको घर भग्नावशेष भई सकेको छ फर्केर कसरी पुर्नस्थापित  हुन सकिन्छ र ?’ अध्यक्ष पुनले प्रश्न गरे । उनका अनुसार द्धन्दका कारण विस्थापित भएकाहरु अहिले पनि सदरमुकाम लिवाङ, काठमाण्डौ, पोखरा जस्ता ठाउँमा मजदुरी गरेर वस्न बाध्य छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved